पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
कालिकोटः गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको जुम्ला–सुर्खेत सडक खण्ड अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा भारी वर्षका कारण गए रातिदेखि निरन्तर पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो ।
गगने खोलाको भिरमा बर्सेनि पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । यो वर्षको सुरुवातमै त्यसै ठाउँमा पहिरो जाँदा अहिलेसम्म ७ पटक सडक अवरुद्ध भएको छ ।
ठुलो चट्टानबाट फुट्ने पहिरोले राजमार्ग पुरै भत्काई दिएर सडकको स्वरूप नै बिगारी दिएको छ । सामान्य पानी पर्दा पनि पहिरो खस्ने गगने खोलामा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधन तथा यात्रा गर्ने यात्रुहरूले सास्ती खेप्नु परेको छ ।
आइतबार रातिदेखि गगन खोलामा निरन्तर पहिरो खस्दा कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनहरू, स्थानीय यात्रुहरू तथा कर्णाली प्रदेशकै चर्चित पर्यटकीय क्षेत्र रारा ताल जाने आन्तरिक पर्यटकहरू बिच बाटोमै अलपत्र परेका छन् ।
सोमबार बिहानैबाट जुम्ला, कालिकोटदेखी सुर्खेत, नेपालगन्ज र नेपालगन्ज सुर्खेतदेखी कालिकोट जुम्ला, मुगु जाने सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका छन् ।
कालिकोट जिल्लाको हुल्म बजार, जिते बजार र गगनेखोला आसपासका सडकहरूमा यात्रुवाहक तथा मालवाहक गाडीहरू लाइन लागेर रोकिएका छन् । जिल्ला प्रहरी प्रमुख डिएसपी सुवासचन्द्र बोहराले गगन खोलामा खसेको पहिरो पुछाउन स्काभेटर र प्रहरी पहिरो स्थलमा भए पनि ठुलो भिरबाट निरन्तर पहिरो खस्दा सडक खुलाउन नसकिएको बताए ।
उनले बर्षायाम लागेसँगै हरेक राती पहिरो खस्ने र बिहान पहिरो पन्छाएर सडक खुलाउने गरिएको भए पनि सोमबार निरन्तर पहिरो खसेका कारण बिहानैदेखि पूर्ण रूपमा राजमार्ग अवरुद्ध भएको बताए । उनले भिरबाट पहिरो खस्न रोकिएपछि सडक खुलाउने प्रयास रहेको बताए ।
सडक तत्काल खुलाएर सवारी आवागमनमा सहजता ल्याउनको लागि यात्रुहरूले माग गरेका छन् । कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं. ७ निवासी संगिता शाहीले गगन खोलामा खस्ने पहिरोको स्थायी रूपमा समाधान नखोजिँदा कर्णालीवासीले यात्रामा सङ्कट बेहोर्नु परेको बताइन् ।
उनले भनिन, ‘पटक पटक पहिरो गइरहेको छ, तर पहिरोको दीर्घकालीन व्यवस्थापनका विषयमा सम्बन्धित निकायले चासो देखाएको छैन । आगामी दिनमा पहिरोको स्थायी समाधाननका सम्बन्धित निकायले पहल गर्नुपर्ने उनले बताइन् ।