रोपाइँका बेला मल नपाएर किसान आक्रान्त
धनगढी : प्रदेश सरकारले तीन वर्षभित्र कृषिमा आत्मनिर्भर बन्ने प्रक्षेपण गरेका बेला रोपाइँको मुखमा प्रदेशभरि रासायनिक मल अभाव भएको छ । किसानलाई रोपाइँको चटारो लागेका बेला रासायनिक मल वितरण गर्ने जिम्मा पाएको कृषि सामग्री कम्पनीमा डीएपी मल एक क्विन्टल पनि मौज्दात छैन ।
धान रोप्ने बेला मल अभाव भएपछि किसान मलबिनै धान रोप्न बाध्य भएका छन् । कैलारी गाउँपालिका–३ टिसिएनका स्थानीय किसान मोतीराम चौधरीले मल नपाएकाले रोपाइँ गर्न नपाएको बताए । ‘रोपाइँकै बेला मल अभाव हुनुपर्ने ? पैसा तिरेर पनि मल किन्न पाइएन’, उनले भने, ‘मल अभावमा रोपाइँ पनि ढिलो हुने भएको छ ।’
उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा खोक्रा भाषण गरेको भन्दै आक्रोश पोखे । ‘सरकार नीति तथा कार्यक्रममा कृषि क्रान्ति तथा कृषिमा आधुनिकीकरण र आत्मनिर्भरको कुरा गर्छ तर किसानले खेतीपातीका बेला मल नपाएर तड्पिनु परेको छ’, उनले गुनासो गरे ।
कृषि सामग्री कम्पनीले, डीएपी र युरिया गरी प्रदेशभरका लागि २५ हजार मेट्रिक टन अनुदानको रासायनिक मल केन्द्रसँग माग गरेकोमा त्यसको आधाभन्दा पनि कम ११ हजार मेट्रिक टन मात्रै आएकाले अभाव भएको जनाएको छ । ‘प्रदेशभरिका लागि २५ हजार मेट्रिक टन युरिया र डीएपी माग गरे पनि ५ हजार मेट्रिक टन युरिया र ६ हजार डीएपी आएको छ, यसले माग धान्नै सकेन’, कृषि सामग्री कम्पनीका प्रमुख दुर्गाप्रसाद पाण्डेले भने ।
अर्को मल बिक्री गर्ने संस्था साल्ट ट्रेडिङ कम्पनी लिमिटेड कम्पनीले मलको आवश्यक कोटाअनुसार मल बिक्री गरिसकेको दाबी गरेको छ । दुई वटा संस्थाले हाल मल अपुग हुुनुको दोष एकअर्कालाई दिँदै आएका छन् । त्यस्तै, साल्ट ट्रेडिङले धान र गहुँ सिजनका लागि डीएपी ३ हजार मेट्रिक टन, युरिया ६ हजार ८ सय मेट्रिक टन र पोटास २ सय मेट्रिक टन गरी १० हजार मेट्रिक टन कोटा रहेको र सबै बिक्री भइसकेको दाबी गरेको छ ।
साल्ट ट्रेडिङ अञ्चल कार्यालय धनगढीका जनसम्पर्क प्रमुख रामचन्द्र जोशीले तोकिएको कोटाभन्दा १ हजार मेट्रिक टन बढी मल बिक्री गरेको दाबी गरे ।