गाउँमा सडक पुग्दा हर्ष
बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका जिल्ला सदरमुकाम भएको नगरपालिका हो । तर, संघीय संरचना गर्दा गाभिएका साविकका गाविसका गाउँमा अझै सडक पुगेको छैन । नगरपालिकाले चालु आर्थिक वर्षमा ग्रामीण क्षेत्रमा सडक पु¥याउने कामलाई प्राथमिकतामा राखेपछि स्थानीय खुसी भएका छन् ।
नगरपालिका–१ को दुर्गमबस्तीका रूपमा रहेको कलौन र पिपलथलामा सडक पुगेपछि स्थानीय हर्षित बनेका हुन् । ‘मुख्य राजमार्गबाट हाम्रो गाउँ पुग्ने सडक निर्माण सुरु भएको १० वर्ष बित्यो । अहिले जनप्रतिनिधि आएपछि गाउँमा सडक पुगेको छ । आफ्नै जीवनकालमा गाउँमा सडक पुगेपछि निकै खुसी भएको छ ।’ दशरथचन्द नगरपालिका–१ का ८० वर्षीय शेरबहादुर पाण्डेयले भने, ‘गाउँमा सडक पुगेपछि निकै खुसी भएको छु ।’
गाउँलेले उत्पादन गरेको कृषि उपज सहजै बजारमा पुर्याउन सकिन्छ । कुनै दुःख बिमार भए गाडीमा जान सकिन्छ । विकासको आधार भनेको सडक रहेछ । सडक पुगेपछि म धेरै खुसी भएको छु ।’ दशरथचन्द नगरपालिका र वडा नम्बर १ को कार्यालयको लागतमा करिब २ किलोमिटर सडक निर्माण भएपछि कलौन, खाललगायत बस्तीका नागरिकलाई सजिलो भएको छ । ‘हाम्रा बालबालिकालाई विद्यालय जान पनि सजिलो हुन्छ ।
‘गाउँमा सडक पुगेपछि हामीलाई अन्य विकास निर्माण अघि बढाउन सजिलो हुने विश्वास गरेका छौं’, स्थानीय मणिराज भट्टले भने, ‘हाम्रो गाउँका अधिकांश नागरिक तरकारी खेतीमा लागेका छन् । अब उनीहरूको बजारमा सहज पहुँच पुग्ने भएको छ । यो सडकलाई चाँडै स्तरोन्नति गर्न नगरपालिकासँग मागसमेत गरेका छौँ ।’
गाउँमा सडक पुगेपछि स्थानीय परमानन्द भट्ट निकै खुसी भएका छन् । व्यावसायिक तरकारी खेती र फलफूलको नर्सरीमा लागेका भट्ट गाउँमै ढुवानी गर्न सकिने भएपछि खुसी भएका हुन् । उनले भने, ‘म डेढ दशकदेखि तरकारी खेती र फलफूलका बिरुवा उत्पादन गर्दै आएको छु । ढुवानी गर्न निकै समस्या थियो । अब सडक पुगेपछि मजस्ता किसानलाई सजिलो भएको छ ।’
वडाबासीको सडकमा पहुँच पु¥याउन वडा कार्यालयले सडक निर्माणलाई प्राथमिकतामा राखेको वडाध्यक्ष भुवनराज भट्टले बताए । उनले भने, ‘वडा कार्यालयले १४ लाख लागतमा गुरुखोला–खाल–कलौन सडक निर्माण गरेको हो । यस्तै, १० लाख बढीको लागतमा पिपलथला सडक निर्माण गरेको छ ।’