एकैदिन झापादेखि नेपालगन्जसम्मका बस्ती जलमग्न (फोटो फिचर)
काठमाडौँः एकैदिनको बर्षातले देशका पहाडदेखि तराईसम्मको जनजीवन अस्तव्यस्त बनाएको छ । हिजैदेखि नारायणगढ–मुग्लिङ सडकमा पहिरोले सवारीसाधन ठप्प बनाएको छ । अहिले पनि यो सडकखण्डमा पहिरो झर्ने क्रममा रोकिएको छैन । जसले गर्दा हजारौँ यात्रुको बिचल्ली भएको छ।
पूर्वी नेपालको झापामा एकैदिनको सामान्य बर्षातले ८५ वटा बस्ती जोखिममा परेका छन् । बर्षातका कारण बिर्तामोडसहितका सहरमा डुबानको समस्या देखिन थालेको छ । भत्किएका सडक र थुनिएका ढल समयमा मर्मत नगर्दा झापाको बिर्तामोडसहित मुख्य बजारहरु सामान्य वर्षातमासमेत डुब्न थालेका हुन् ।
वर्षा सुरु भएसँगै ढलको व्यवस्थापन नहुँदा बिर्तामोडको भद्रपुर रोडमा खोलिएका पसलमा नै ढल पस्न थालेको छ । उता निरन्तरको वर्षात्का कारण रुपन्देहीको जनजीवन प्रभावित भएको छ । पानीको निकास नहुँदा जिल्लाका विभिन्न क्षेत्र जलमग्न भएका छन् । वर्षाले विभिन्न निजी घर, सरकारी कार्यालय, विद्यालय, संघसंस्था लगायत डुबानमा परेका छन् ।
बर्षातले नगरपालिकाका विभिन्न क्षेत्र डुबान पर्दा पनि निकासका लागि सिद्धार्थनगर (भैरहवा) नगरपालिकाले कुनै चासो देखाएको छैन । दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्जका आधादर्जन वडा डुबानमा परेका छन् ।
महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा, कुम्हाल टोल, प्रगतिनगर लगायतका वडाका बस्ती डुबानमा परेका हुन् ।
वर्षाको पानी घरमै पसेपछि सर्वसाधारणलाई खाना बनाउनसमेत समस्या भएको वीरगञ्ज महानगरपालिका–११ श्रीपुर निवासी मनोज महतोले बताए । बाढीले नेपालगन्ज उपमहानगरपालिकाको न्यूरोडस्थित सेतु बिक चोक र घरवासी टोल क्षेत्र भने डुबानमा परेको छन् ।
नेपालगन्जमा बाटो र नालाको काम जारी रहेकै बेला पानी निकास हुन नपाएर डुबान भएको हो । स्थानीयले सामाजिक सञ्जालमा यस क्षेत्रमा आउँदा डुंगा लिएर आउनु भनेर व्यङ्य गरेका छन् ।निरन्तरको बर्षातले कालिकोट–सुर्खेत सडकखण्डमा पहिरो जाँदा सयौँ सवारीसाधन ठप्प भएका छन् । ठुलो पहिरो झरेकाले हटाउन समस्या भएको छ ।