कर्णाली राजमार्गको दुर्दशा

कर्णाली राजमार्गको दुर्दशा

कालिकोट :   आइतबार रातिदेखि सोमबार दिनैभर निरन्तर पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गको जुम्ला–सुर्खेत सडकखण्डअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा निरन्तर भारी वर्षाका कारण आइतबार रातिदेखि निरन्तर पहिरोे खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो।

गगने खोलाको भीरमा बर्सेनि पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ। यो वर्षको सुरुवातमै त्यसै ठाउँमा पहिरो जाँदा अहिलेसम्म ७ पटक सडक अवरुद्ध भएको छ। ठूलो चट्टानबाट फुट्ने पहिरोले राजमार्ग पूरै भत्काएको छ। सडकको स्वरूप नै बिगारिदिएको छ। सामान्य पानी पर्दा पनि पहिरो खस्ने गगने खोलामा पहिरोको स्थायी व्यवस्थापनका लागि सडक विभागले ध्यान नदिँदा कर्णाली राजमार्गमा सञ्चालन हुने सवारीसाधन तथा यात्रुहरूले बर्सेनि सास्ती खेप्नुपरेको छ।

आइतबार रातिदेखि गगने खोलामा निरन्तर पहिरो खस्दा कर्णाली राजमार्ग भएर सञ्चालन हुने यात्रुबाहक तथा मालबाहक सवारी साधन, स्थानीय यात्रु तथा कर्णाली प्रदेशकै चर्चित पर्यटकीय क्षेत्र रारा ताल जाने आन्तरिक पर्यटक बीच बाटोमै अलपत्र परेका छन्। सोमबार बिहानैबाट जुम्ला, कालिकोटदेखि सुर्खेत, नेपालगन्ज र नेपालगन्ज सुर्खेतदेखि कालिकोट जुम्ला, मुगु जाने सयौं यात्रु बीच बाटोमै अलपत्र परेका हुन्। कालिकोट जिल्लाको हुल्म, जिते, दैलेहको खिड्कीज्युला, कालिकोट दैलेखको सिमाना दैखोला र गगने खोला आसपासका सडकमा यात्रुबाहक तथा मालबाहक गाडी लामबद्ध रोकिएका छन्।

ठूलो चट्टानबाट फुट्ने पहिरोले राजमार्ग पूरै भत्काएको छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी सुवासचन्द्र बोहोराले गगने खोलामा खसेको पहिरो पन्छाउन स्काभेटर र प्रहरी पहिरोस्थलमा भए पनि ठूलो भीरबाट निरन्तर पहिरो खस्दा सडक खुलाउन नसकिएको बताए। उनले वर्षायाम लागेसँगै हरेक रात पहिरो खस्ने र बिहान पहिरो पन्छाएर सडक खुलाउने गरिएको भए पनि सोमबार निरन्तर पहिरो खसेका कारण सडक खुलाउने काम गर्न नसकिएकाले बिहानैदेखि पूर्ण रूपमा राजमार्ग अवरुद्ध भएको बताए। उनले भने, भीरबाट पहिरो खस्न रोकिएपछि सडक खुलाउने काम सुरु हुन्छ।

सडक तत्काल खुलाएर सवारी आवागमनमा सहजता ल्याउन यात्रुहरूले माग गरेका छन्। कालिकोटको तिलागुफा नगरपालिका–७ निवासी संगीता शाहीले गगने खोलामा खस्ने पहिरोको स्थायी समाधान नखोजिँदा कर्णालीवासीले बर्सेनि यात्रामा संकट बेहोर्नुपरेको बताइन्। उनले भनिन, पटक पटक पहिरोे गइरहेको छ, तर पहिरोको दीर्घकालीन व्यवस्थापनको विषयमा सम्बन्धित निकायले चासो देखाएको छैन। आगामी दिनमा पहिरोको स्थायी समाधानमा निकायले पहल गर्नुपर्ने उनले बताइन्।

    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.