ट्रम्पका पूर्ववकील ट्रम्पको विपक्षमा
न्युयोर्क : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्ववकील मिसेल कोहेनले विपक्षमा न्यायाधिकारीलाई सघाउने इच्छा रहेको संकेत गरेका छन् । कोहेनले सर्वप्रथम आफू आफ्नो परिवार र देशप्रति इमान्दार रहने बताएका छन् ।
कोहेनले एबीसीसँगको अन्तर्वार्तामा भने, ‘प्रस्ट भन्नुपर्दा मेरी पत्नी, मेरा छोराछोरी र मेरो देशप्रति मेरो सबैभन्दा बढी निष्ठा रहनेछ ।’ कोहेनको यो धारणासँगै कतै उनीसँग राष्ट्रपतिको विपक्षमा बलियो तथ्य त छैन भन्ने अनुमान फैलिएका छन् ।
उनले विगतमा राष्ट्रपतिविरुद्ध ‘कडा आधार’ रहेको भन्ने घोषणा निकै विवादास्पद मानिएको अभिव्यक्ति हो । अमेरिकी संघीय गुप्तचर निकाय (एफबीआई) ले गत अप्रिलमा कोहेनको घर तथा कार्यालयमा विशेष सल्लाहकार रबर्ट मुलरको निर्देशनमा खानतलासी गरेको थियो । मुलरले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिने हस्तक्षेपबारे अनुसन्धान गरिरहेका छन् ।
कोहेनको घर तथा कार्यालयमा भएको खानतलासीपछि सञ्चारमाध्यममार्फत आएको विस्तृत कुराकानीमा पनि उनले ट्रम्पको प्रशंसा गरेनन् ।
बरु असन्तुष्टिका शब्दहरू खर्चिंदै आफूमाथिको अनुसन्धानप्रति कुराकानीलाई केन्द्रित गरेका थिए । सन् २००७ मा ट्रम्पको निजी वकील बनेका कोहेनले पोर्न स्टार स्टर्मी डेनियल्सलाई निर्वाचनपूर्व १ लाख ३० हजार अमेरिकी डलर दिई सन् २००६ मा ट्रम्पसँग सम्बन्ध रहेको भनिएको कुरामा केही नबोल्न आग्रह गरेको भनाइ बाहिर आएको थियो ।