विश्वकप : आजका खेलमा प्रभाव पार्न सक्ने खेलाडी

विश्वकप : आजका खेलमा प्रभाव पार्न सक्ने खेलाडी

हेरी केन (इङ्ल्यान्ड)

जारी रुस विश्वकपको सर्वाधिक गोलकर्ता हेरी केन इङ्लिस टोलीका महत्वपूर्ण खेलाडी हुन् । कप्तान र स्ट्राइकरको हैसियतमा मात्रै हैन, टोलीको सफलताका लागि उनले पुर्‍याउने योगदानले केनलाई इङ्लिस राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीको रूपमा उभ्याएको हो । समूहगत चरणको दुई खेलमै पाँच गोल गरेका केनले जारी विश्वकपमा आफ्नो क्षमता र टोलीका लागि आफ्नो महत्व प्रस्ट देखाइसकेका छन् ।

समूहगत चरणको अन्तिम खेलमा प्रशिक्षक गारेथ साउथगेटले केनलाई बेञ्चमै राख्दा इङ्ल्यान्ड बेल्जियमसँग १-० गोलले पराजित हुन पुगेको थियो । प्रिक्वार्टरफाइनल चरणको महत्वपूर्ण खेलमा प्रशिक्षक साउथगेटले केनलाई पहिलो रोजाइमै मैदानमा उतार्ने निश्चित छ । त्यही अवसरमा उनले इङ्ल्यान्डलाई पछिल्लो दुई संस्करणपछि क्वार्टरफाइनलसम्म दोहोर्‍याउने विश्वास गरिएको छ ।

इङ्ल्यान्ड सन् २०१० मा दक्षिण अफ्रिका र सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा क्रमस प्रिक्वार्टरफाइनल र समूहगत चरणबाटै बाहिरिएको थियो । यस पटक उपाधिको योजनासहित रुस आइपुगेको इङ्ल्यान्डलाई आफ्नो योजनामा सफल बनाउन उनै केनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेछन् । घरेलु टोली टोट्टनहामबाट व्यावसायिक फुटबल खेल्दै आएका केन मैदानमा कुनै पनि समय गोल गर्न सक्षम रहन्छन् ।

लामो प्रहारमा निकै सफल देखिएका केन टाउको र खुट्टा दुवैबाट नियमित गोल गर्न सक्छन् । आफ्नो शारीरिक उचाइ र खेल्ने शैलीले केनलाई युरोपेली क्लब फुटबलकै सशक्त स्ट्राइकरका रूपमा दर्ता गराएको छ । सन् १९६६ पछि विश्वकपको दोस्रो उपाधिको खोजीमा रहेको इङ्ल्यान्डले केन र उनीसहितको टोलीबाट धेरै अपेक्षा गरेको छ । सन् २०१५ बाट इङ्लिस टोलीबाट खेल्न थालेका केनले हालसम्म २६ खेल खेल्दै १८ गोल गरेका छन् ।

राडामेल फाल्काओ (कोलम्बिया)

आफ्नो सक्रिय खेलजीवन सन्न्यासको नजिक पुग्दै गर्दा पहिलो पटक विश्वकप खेल्ने अवसर पाएका राडामेल फाल्काओ रुस विश्वकपमा कोलम्बियन टोलीका महत्वपूर्ण खेलाडी हुन् । क्लब फुटबलमा निकै चम्किएका फाल्काओ राष्ट्रिय टोलीबाट भने केही अभागी देखिएका छन् । उनी युरोपका ठूला क्लबहरूबाट चम्किरहेका बेला सन् २०१० को विश्वकपमा कोलम्बिया छनोट नै हुन सकेन ।

सन् २०१४ को विश्वकपमा कोलम्बिया छनोट भयो, तर प्रतियोगिता सुरु हुने बेला उनी घाइते भए । त्यसैले फाल्काओ ३२ वर्षको उमेरमा आएर पहिलो पटक विश्वकप खेल्दै छन् । तर, फ्रान्सेली क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेल्दै आएका उनी अहिले पनि गोलका लागि लयमै छन् र टोलीका लागि उनको महत्व अझ बढेको छ । उनको अनुपस्थितिमा गत संस्करण प्रत्येक खेलमा गोल गर्दै कोलम्बियालाई क्वार्टरफाइनलसम्म पुर्‍याएका जेम्स रोड्रिगेज अहिले घाइते छन् ।

उनले प्रतियोगिताका बाँकी कति खेल खेल्न सक्छन् भन्ने अझै निश्चित छैन । यो अवस्थामा टोलीका कप्तान र मुख्य स्ट्राइकरको हैसियतले टोलीलाई अघि बढाउने जिम्मेवारी उनै फाल्काओमाथि आइपरेको छ । र, त्यसमा उनी सफल हुने विश्वास पनि गरिएको छ । फाल्काओ यस्ता क्षमतावान् खेलाडी हुन्, जसको बलसँगको गति निक्कै राम्रो छ ।

गोल अवसरका लागि उनको ‘मुभमेन्ट’, र प्राप्त अवसरमा कुनै पनि अवस्थामा नचुक्ने उनको बानीले टोलीलाई सफलतातर्फ अघि बढाउने गरेको छ । त्यसैले कोलम्बियाले मंगलबार इङ्ल्यान्डसँग प्रतिस्पर्धा गर्दा र त्यसपछिका खेलमा पनि फाल्काओले टोलीका लागि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ । सन् २००७ देखि कोलम्बियन राष्ट्रिय टोलीबाट खेल्न थालेका फाल्काओले हालसम्म ७६ खेल खेल्दै ३० गोल गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.