स्विडेन र स्विट्जरल्यान्डलार्इ वर्षांपछि अवसर
मस्को : स्विडेन फिफा विश्वकपको क्वार्टरफाइनलमा नपुगेको २४ वर्ष भएको छ । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपयता स्विडेन विश्वकप फुटबलको कुनै पनि संस्करणमा अन्तिम आठमा पुग्न सकेको छैन । सन् १९९४ मा स्विडेनले सेमिफाइनल खेल्दै तेस्रो स्थान हात पारेको थियो । स्विडेनको तुलनामा विश्वकपको क्वार्टरफाइनल नपुगेको स्विट्जरल्यान्डको अझ धेरै वर्ष पुगेको छ । स्विट्जरल्यान्ड सन् १९५४ मा आफैंले आयोजना गरेको विश्वकपयता प्रिक्वार्टरफाइनल चरणमा पुग्न सकेको छैन ।
त्यसैले यसपटक यी दुवै टोलीसामु वर्षांपछि विश्वकप फुटबलको अन्तिम आठमा पुग्ने अवसर आएको छ । यद्यपि, यो अवसर दुईमध्ये एक टोलीले मात्रै प्राप्त गर्ने निश्चित छ । त्यही अवसरका लागि स्विडेन र स्विट्जरल्यान्डले मंगलबार साँझ एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दा फुटबल समर्थकहरूले प्रतिस्पर्धात्मक खेलको मज्जा लिन पाउने अपेक्षा गरिएको छ ।
स्विडेन समूह ‘एफ’को विजेता र स्विट्जरल्यान्ड ‘ई’को उपविजेता टोलीको हैसियतमा प्रतियोगिताको अन्तिम १६ मा पुगेका हुन् । समूहगत चरणको खेलमा स्विडेनले दुईमा जित र एकमा पराजय बेहोर्दा स्विट्जरल्यान्डले भने एकमा जित र दुई खेलमा बराबरीको नतिजा निकालेको थियो । स्विडेनले समूहगत चरणको तीन खेलमा विपक्षीविरुद्ध पाँच गोल गर्दा दुई गोल बेहोरेको छ ।
स्विट्जरल्यान्डले पनि विपक्षीविरुद्ध पाँचै गोल गरेको छ तर चार गोल बेहोरेको पनि छ ।
त्यसैले आक्रामक फुटबल खेल्ने यी दुई टोलीबीचको प्रतिस्पर्धा रोचक हुने निश्चित छ । त्यही खेलले यी दुईमध्ये एक टोलीलाई वर्षाैंपछि विश्वकपको क्वार्टरफाइनलमा पनि पुर्याउने छ । विश्वकपको अन्तिम चरणको प्रतिस्पर्धामा स्विडेन र स्विट्जरल्यान्डले अहिलेसम्म एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका छैनन् । यद्यपि त्यस बाहेकका प्रतियोगितामा भएका प्रतिस्पर्धाले दुवै टोलीको अवस्था बलियो देखाएको छ । सबै खाले प्रतियोगितामा गरी हालसम्म २९ खेलमा प्रतिस्पर्धा गर्दा स्विट्जरल्यान्डले ११ र स्विडेनले १० खेलमा जित हात पारेका छन् । बाँकी आठ खेल बराबरीमा टुंगिएका छन् । यही भेटले यी दुई टोलीबाट हेड टु हेड नतिजामा पनि एक टोली अघि बढ्ने छ ।
विगतमा यी दुई टोली
कुल खेल : २९
स्विट्जरल्यान्ड विजयी : ११
स्विडेन विजयी : १०
बराबरी : ८