किन लिए इनिएस्टाले सन्न्यास ?

किन लिए  इनिएस्टाले सन्न्यास ?

मस्को : आफ्नो टोली जारी विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलबाट बाहिरिएलगत्तै स्पेनका प्रभावशाली खेलाडी आन्द्रेस इनिएस्टाले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएका छन् । जारी विश्वकपमा उपाधिको बलियो दाबेदार मानिएको स्पेन आइतबार राति खेलिएको प्रिक्वार्टरफाइनल खेलमा आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

इनिएस्टा स्पेनिस टोलीका निकै अनुभवी खेलाडी हुन् । स्पेनलाई सन् २०१० को विश्वकप जिताउन ३४ वर्षीय मिडफिल्डर इनिएस्टाले महत्वपूर्ण योगदान गरेका थिए । उक्त विश्वकपको नेदरल्यान्ड्स विरुद्घको फाइनलमा इनिएस्टाले नै स्पेनका लागि निर्णायक गोल गरेका थिए । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि थप गरिएको समय (११६औं मिनेट) मा निर्णायक गोल गर्दै उनले टोलीलाई पहिलोपटक विश्वकपको उपाधि चुमाएका थिए ।

रुस विरुद्घको खेलमा उनी परिवर्तित खेलाडीका रूपमा मैदानभित्र प्रवेश गरेका थिए । पेनाल्टी सुटआउटमा पनि स्पेनको तर्फबाट उनले नै पहिलो प्रहार गर्दै गोल छिराएका थिए । राष्ट्रिय टोलीबाट एक सय ३१ खेल खेलेका इनिएस्टाले १३ गोल गरेका छन् । ‘राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गर्नु मेरा लागि निकै दु:खद क्षण हो’, उनले भनेका छन् । उनले टोलीलाई दोस्रोपटक विश्वकप दिलाउने अभियान सफल हुन नसकेकोमा पनि दु:ख व्यक्त गरे ।

खेलका क्रममा जस्तोसुकै अप्ठ्यारो स्थितिमा पनि साथीलाई सही पास निकाल्न सक्ने उनको गजबको क्षमता थियो । उनी समकालीन विश्व फुटबलकै उत्कृष्ट प्लेयरमध्ये एक हुन् । ‘मैले स्पेनिस टोलीमा रहेर धेरै गौरवपूर्ण क्षण बिताएको छु, राष्ट्रिय टोलीबाट अलग भए पनि ती क्षणहरू मेरो मानसपटलमा सधैं जीवन्त रहनेछ’, उनले भनेका छन् ।

सन् २००६ मा राष्ट्रिय टोलीमा ‘डेब्यु’ गरेका इनिएस्टाले विश्वकपसँगै स्पेनलाई दुईपटक युरोपियन च्याम्पियनसिपको उपाधि पनि जिताएका छन् । स्पेनले सन् २००८ र सन् २०१२ मा युरोकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । करिब २२ वर्ष स्पेनिस क्लब बार्सिलोनामा बिताएका इनिएस्टा केही समयअघि मात्र उक्त क्लब छाडेर जापानी क्लब भासिल कोबेमा आबद्ध भएका थिए ।

इनिएस्टा केवल १२ वर्षको उमेर बार्सिलोनासँग जोडिन पुगेका थिए । बार्सिलोनाले ३२ वटा महत्वपूर्ण उपाधि जित्दा उनी टोलीका सक्रिय सदस्य थिए । ‘वास्तवमा इनिएस्टा स्पेनिस फुटबलको एउटा इतिहास नै हुन्’, स्पेनिस टोलीका प्रशिक्षक फर्नान्डो हिएरोले भनेका छन् । हिएरो आफैं पनि स्पेनिस टोलीका पूर्वखेलाडी हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.