गुञ्जिए अमला र प्रकाश
काठमाडौं : नेपाली चलचित्र एवं संगीतको क्षेत्रमा क्रियाशील हुँदै आएको संस्था छायाँछविले विगत नौ महिनादेखि प्रारम्भ गरेको छायाँछवि काव्य शृंखलाको नवौं संस्करणमा गजलकार अमला अधिकारी एवं कवि प्रकाश रम्घाली सुनिएका छन् । अधिकारीले गजल सुनाइन् भने रम्घालीले कविता सुनाएका थिए ।
अघिकारीले छायाँछविको यस साहित्यिक प्रवाहमा आफ्ना एक दर्जन गजल सुनाइन् । उनले गजलमा माया÷प्रेम÷समाज एवं राजनीतिक व्यंग्यका रचना सुनाएकी थिइन् । श्रोतामाझ लोकप्रिय अधिकारीले वान्समोर पनि राम्रै खाएकी थिइन् ।
त्यस्तै कवि प्रकाश रम्घालीले १० कविता सुनाएका थिए । रम्घालीले पनि सामाजिक यथार्थका कविता साथै व्यंग्यात्मक कविता सुनाएका थिए ।
कार्यक्रम संयोजक रश्मि रोदनले कार्यक्रमबारे जानकारी गराएकी थिइन् ।
कार्यक्रमका विशिष्ट अतिथि सुगम संगीतकार सन्तोष श्रेष्ठले प्रस्तुत गजल एवं कवितामाथि टिप्पणी गरे ।
छायाँछवि क्रिएसनका अध्यक्ष शान्तिप्रियले साहित्यिक गतिविधि बढ्नु स्वागतयोग्य भए पनि गुटबन्दी र झारा टार्ने साहित्यिक गतिविधिले साहित्यलाई असर पार्ने बताए ।