पहाडमा वर्षा, तराईमा डुबान

पहाडमा वर्षा, तराईमा डुबान

प्रदेश ब्युरो

 धनगढी : तीन दिनदेखि परिहेको अविरल वर्षाले कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन््। जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारीअनुसार अविरल वर्षाका कारण कैलालीको गोदावरी नगरपालिका–९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको हो भने उनका पति ६५ वर्षीय कडेवा राना घाइते भएका छन्। शनिबार रातिदेखि परेको अविरल वर्षाले रानाको कच्ची घर भत्किएको हो।

यस्तै अविरल वर्षाले कैलालीका अधिकांश भूभाग डुबानमा परेका छन्। जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले कैलालीको भजनी नगरपालिका–५ पुलियापुरमा कन्द्रा नदीको बाढी पसेपछि त्यहाँबाट १४ परिवारलाई हुलाकी सडकको उँचो भागमा ल्याएर राखिएको जनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले डुबानमा परेका १४ परिवारका बालबालिका, बस्तुभाउ र खाद्य सामग्री सारेका हुन्।

नेपाल रेडक्रस सोसाइटीले कैलालीका भजनी, लालबोझी, थापापुर, जोशीपुर, जानकीनगरलगायत क्षेत्र तराईमै परेको पानीले डुबानमा परेको जनाएको छ। रेडक्रसका जिल्ला सभापति उत्तम जोशीले मंगलबार दिउँसोदेखि कैलालीमा पानी रोकिएकाले अहिले अवस्था स्थिर रहेको बताए। उनले कैलालीको पूर्वी क्षेत्रमा कर्णालीले बितन्डा मच्चाउने भए पनि कर्णालीको पानी खतरानजिक नपुगेको बताए।

कैलालीमा तराईमा परेको पानीभन्दा पहाडमा परेको पानीले बढी क्षति पुर्‍याउने गर्छ। चुरे भएर बग्ने मोहना, कन्द्रा, काँडा, पथरैया र कर्णाली नदीको बाढीले बढी क्षति पुर्‍याउँदै आएको छ। बाढी गाउँ पसेर कम्मरभन्दा माथिसम्म पुगेको लालबोझीका स्थानीय नवराज काफ्लेले बताए। ‘नदीमा पानीको सतह बढ्दै गइरहेको छ’, काफ्लेले भने, ‘लालबोझी, जनकपुर, पल्टीपुर, पडरियाका अधिकांश भाग डुबानमा परेका छन्।’

पथरैया नदीमा पानीको सतह बढ्दै गइरहेको छ। नदीमा पानीको सतह बढेपछि स्थानीय खक्रौला–भजनी हुलाकी सडकमा जम्मा हुन थालेका छन्।


कैलालीमा तराईमा परेको पानीभन्दा पहाडमा परेको पानीले बढी पुर्‍याउने गर्छ।

मोहना नदीमा समेत पानीको सतह बढ्दै गएको छ। मोहना नदीमा पानीको सतह बढ्दा भजनीका अधिकांश भाग डुबानमा पर्ने सक्ने भन्दै प्रहरीले सबैलाई सतर्क रहन आग्रह गरेको छ। कर्णाली नदीमा भने पानीको सतह घट्दै गएको छ। सोमबार बिहानदेखि बढ्न थालेको पानीको सतह दिउँसोदेखि घटिरहेको हो। कर्णाली चिसापानी मापन केन्द्रका गेजरिडर पार्वती गुरुङले नदीमा पानीको सतह घटिरहेको बताइन्।

अत्तरिया–धनगढी राजमार्ग अवरुद्ध

अत्तरियादेखि धनगढीसम्म निर्माण भइरहेको ६ लेन सडकमा पानी निकास नभएपछि राजमार्ग नै अवरुद्ध भएको छ। गोदावरी नगरपालिकाको गेटा नजिक सोमबार दिउँसोदेखि राजमार्ग अवरुद्ध भएको हो। पूर्व र पश्चिमबाट धनगढी आउने सवारीसाधन खुटिया–धनगढीको बाटो डायभर्ट गरिएको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए।

उनले राजमार्ग सुचारु गर्न एक्स्काभेटरसहित नेपाल प्रहरी, सशस्त्र प्रहरीले निर्माण कार्य गरिरहेको बताए। ६ लेनको सडकमा कल्भर्ट निर्माण भइरहेको स्थानमा गहिरा खाडल बनेका छन् भने सडकका दुवैतिर नालीको पर्खाल लगाइएपछि पानीले निकास नपाएको हो।

महाकाली खतरा नजिक

दार्चुला भएर बग्ने सीमा नदी महाकालीमा पनि जलस्तर बढेपछि खतराको संकेत देखिएको छ। महाकालीको सहायक नदीको रूपमा रहेको भारतको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधको ढोका खोलिएकाले महाकालीको जलस्तर बढेको हो। ०७० असार ३ गते आएको बाढीका कारण पनि धौलीगंगा बाँधको ढोका खोल्नुपर्ने अवस्था थियो।

यसवर्ष पनि धौलीगंगामा जलस्तर बढेकाले त्यसको ढोका खोलिने भएकाले नेपालको सीमा क्षेत्रका जनतालाई सतर्क रहन भारतीय प्रशासनले नेपाली प्रशासनलाई खबर पठाएको छ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आर्चायले भारतको पिथौरागढका समकक्षीलाई धौलीगंगाको ढोका एकै पटक नखोल्न आग्रह गरिएको बताए। दार्चुला प्रशासनले महाकालीमा पानीको स्तर बढेपछि त्यहाँको बंगाबगडदेखि दत्तुसम्मको क्षेत्रमा प्रहरी परिचालन गरेर सतर्क रहन आग्रह गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए।

धौलीगंगाको ड्याममा पानी भरिन थाल्यो भने भारतले ढोका खोल्छ र त्यो पानी महाकालीमा मिसिएर दार्चुला र तटीय क्षेत्रमा बाढीको खतरा रहन्छ। ०७० को बाढी धौलीगंगाका कारणले होइन भनेर भारतले दाबी गर्दै आए पनि यसपालि फेरि महाकालीमा पानीको स्तर बढेको छ। ०७० असार २ गते आएको बाढीले १ सय ५६ घरमा पूर्ण रूपमा क्षति पुगेको थियो।

कञ्चनपुरमा पर्ने महाकालीमै जलस्तर बढेपछि बनबासा पुलमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ। पहाडी क्षेत्रमा शनिबार रातिदेखि लगातार वर्षा भएका कारण महाकाली नदीमा पानीको बहाब बढदै गइरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक डिकरदेव पन्तले जानकारी दिए।

महाकालीमा १ लाख २८ हजार क्युसेक पानी पुगेको छ। नदीमा १ लाख क्युसेक पानी पुगेपछि खतरा मानिन्छ। दिउँसोबाट बनवासा पुलमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको र महाकाली तटीय क्षेत्रमा बाढी पस्ने सम्भावना भएकाले त्यहाँका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ। शिवराज भट्ट कैलाली, परमानन्द पाण्डे टीकापुर, भागेश्वरी शाह कञ्चनपुर, सुन्दरसिह धामी दार्चुला


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.