'सम्मेलन स्थगित हुनु सार्क नै रोकिनु होइन'

'सम्मेलन स्थगित हुनु सार्क नै रोकिनु होइन'

काठमाडौं : दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव अमजद हुसेनले सार्क सम्मेलन स्थगित हुनुको अर्थ सार्कको सम्पूर्ण प्रक्रिया नै रोकिनु नभएको बताएका छन् । उनले भने, ‘सम्मेलन स्थगित भए पनि सार्कका अन्य क्षेत्रीय केन्द्रका गतिविधि चलायमान छन् । सदस्य राष्ट्रका प्रतिनिधिबीच विभिन्न विषयमा छलफल भइरहँदा सार्कको भविष्यमाथि शंका गर्नु उचित हुँदैन ।’

महासचिव हुसेनले सार्कको १९ औं शिखर सम्मेलनको मिति सदस्य राष्ट्रबीचको आपसी समझदारीमा तय गर्ने बताए । उनले आफू सन् २०१७ मा सार्कको महासचिवमा आएदेखि मन्त्रीस्तरीय पाँच वटा सार्क बैठक गरेको र भुटानमा सार्क साँस्कृतिक केन्द्र स्थापना गर्न सफल भएको दाबी गरे । स्थगित शिखर सम्मेलन आयोजनासम्बन्धमा सार्क सचिवालयले सार्कका सदस्य राष्ट्रसँग निरन्तर छलफल गरिरहेको उनले बताए । २०१६ मा हुनु पर्ने सम्मेलन अहिलेसम्म हुन सकेको छैन ।

महासचिव हुसेनले सार्क दक्षिण एसियाका आठ सार्वभौम राष्ट्रको प्रतिनिधित्व गर्ने एकमात्र क्षेत्रीय सहयोग संगठन भएकाले यसको विकल्प अन्य कुनै सहयोग संगठन हुन नसक्ने बताए । ‘सार्क दक्षिण एसियाली आठ देशहरूको दृष्टान्तको अभिव्यक्ति हो । यो क्षेत्रीय संगठनका माध्यमबाट शान्ति, स्थिरता र प्रगतिलाई बढावा दिनु पर्छ’, उनले भने, ‘क्षेत्रीय संगठनहरू एकअर्काको विकल्पभन्दा पनि साझा उद्देश्य प्रवद्र्धन गर्न एक अर्काको पूरक बन्न सक्छन् जुन सदस्य राष्ट्रहरूको निर्णयमा निर्भर हुन्छ ।’

नेपाल अहिले सार्कको अध्यक्ष हो भने सार्कको सचिवालय पनि काठमाडौंमा रहेकाले सम्मेलन नहुँदाको प्रत्यक्ष असर नेपालको विदेश नीति र कूटनीतिमा पर्ने कूटनीतिहरूको बुझाइ छ । सार्कका निवर्तमान महासचिव अर्जुनबहादुर थापाले समयमै सम्मेलन आयोजना हुन नसक्दा संगठनको दायित्व नेपालले बोक्नु पर्ने बताए । उनले भने, ‘नेतृत्व हस्तान्तरण नहुनु भनेको संगठन चलायमान नहुनु हो । यसले संगठन नै निष्क्रिय हुनेसम्मको खतरा उत्पन्न हुन्छ र यसको प्रत्यक्ष प्रभाव अध्यक्ष राष्ट्र नेपालमा पर्न जान्छ ।’

भारतले ‘आतंकवाद र वार्ता सँगसँगै जान नसक्ने’ बताउँदै २०१६ मा पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजित १९ औं सार्क सम्मेलनमा सहभागी हुन अस्वीकार गरेको थियो । भारतले भारत–पाक सीमा नजिकको भारतीय सैनिक अखडामा सन् २०१६ मा भएको आतंकवादी हमलामा पाकिस्तानको संग्लग्नता रहेको आरोप लगाउँदै आएको छ । भारतसँग सार्कका अन्य राष्ट्र बंगलादेश, श्रीलंका, भुटान, माल्दिभ्स र अफगानिस्तानले पनि क्षेत्रीय शान्तिमा असर परेको भन्दै सम्मेलनमा सहभागी नहुने जानकारी अध्यक्ष राष्ट्र नेपालमार्फत् पाकिस्तानलाई दिएका थिए ।

आतंकवाद र वार्ता सँगसँगै नजाने बताएको भारतले पाकिस्तानसँग गत महिना २६ र २७ गते चीनमा आयोजित संघाई सहयोग संगठनमा पहिलो पटक पूर्ण सदस्यका रूपमा सहभागी भएको थियो । उसले सार्क सम्मेलनमा कुनै चासो देखाएको छैन । अन्तर्राष्ट्रिय मामिला जानकार केशव भट्टराई पाकिस्तानबिना सार्क क्षेत्रको सम्भावना नभएको हुँदा भारतले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी (बिमस्टेक) लाई सार्कको विकल्पमा अघि सारेको बताए । उनले भने, ‘भारतले सार्कबाट पाकिस्तानलाई अलग्याउन नसकिने देखेर सार्कको विकल्पमा बिमस्टेक अघि सारेको प्रष्टै भएकाले भारतको इच्छा नहुन्जेल सार्क सम्मेलनको आयोजना निश्चित हुन कठिन छ ।’

नेपालले यही भदौ १४ र १५ गते बिमस्टेकको चौथो सम्मेलन काठमाडौंमा आयोजना गर्दै छ । सम्मेलनमा सार्कका पाकिस्तान, अफगानिस्तान र माल्दिभ्सबाहेक बाँकी ५ राष्ट्रसहित थाइल्यान्ड र म्यान्मार सदस्य छन् । केही समयअघि परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सार्कको विकल्पमा अन्य संगठनलाई लिन नसकिने बताएका थिए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.