६० योजना सम्पन्न, आगामी वर्षका लागि ६२ को प्रस्ताव
काठमाडौं : काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ का वडाध्यक्ष ख्यामराज तिवारीले वडाले चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार विकाससम्बन्धी ६० वटा योजना सम्पन्न गरेको बताएका छन् । वडामा मंगलबार आयोजना गरिएको ‘जेष्ठ नागरिक महानगर विशेष भत्ता वितरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम’ मा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् ।
कार्यक्रममा आगामी आवका लागि वडाबाट सञ्चालन हुने ३० वटा र केन्द्रबाट सञ्चालन हुने ३२ वटा योजनासम्बन्धी विवरण पनि सार्वजनिक गरिएको थियो । आफूले काम गर्दा भएका गल्तीकमजोरी औंल्याइदिन आग्रह गर्दै तिवारीले नागरिकले देखाएको बाटो हिँड्न प्रतिवद्ध रहेको बताए । उनले भने, ‘पूर्वजनप्रतिनिधिको मार्गदर्शन र नागरिकले चाहना गरेको विकास पद्धति अवलम्बन गरिरहेको छु ।’
आव २०७५/७६ मा वडाभित्र केन्द्र र वडाले योजना सञ्चालन गर्नेछन् । जसमा वडाबाट पूर्वाधारको नियमित मर्मतसम्भार तथा सुधारका काम छन् भने यसमा ब्लक छाप्ने, ग्राभेल गर्ने, ढुङ्गेधारा निर्माण तथा मर्मत गर्ने, इष्टोन डस्ट डमेल प्रवेश गर्ने द्वार निर्माण गर्ने, पुरानो वडाभवन मर्मत गर्ने, सार्वजनिक शौचालय निर्माण, सार्वजनिक स्थलमा जेष्ठ नागरिक आश्रम स्थल निर्माणजस्ता कार्य छन् ।
यसैगरि ठमेल एप्लिकेसन बनाउने, वडामा डिजिटल वडापत्र राख्नेजस्ता काम हुनेछन् । केन्द्रबाट सञ्चालन हुने परियोजनामा वडाभवन तथा सहरी स्वास्थ्य केन्द्र भवन निर्माण गर्ने काम हुनेछ ।
भगवान्बहाल, सामाखुशी चिल्ड्रेन पार्क र भीमसेन पाटीको पुनर्निर्माण गर्ने, ब्रिटिस दुतावास पश्चिमतर्फ, कास्केली टहरा ढुङ्गेधारादेखि उत्तरतर्फको सडक विस्तार, सुधार तथा स्तरोन्नति गर्ने, तमु संग्रहालय निर्माण गर्ने, वीरेन्द्र–ऐश्वर्य मार्गलगायत विभिन्न सडकहरु कालोपत्रे गर्ने काम हुनेछन् ।
वडामा ७५ वर्ष उमेर पूरा भएका महिलाको संख्या एक सय १२ र ८० वर्ष उमेर पूरा भएका पुरुषको संख्या ४२ छ । चार सय ११ जना एकल महिला, आठ सय ५३ जना जेष्ठ नागरिक, १५ जना पूर्ण अपांग र २३ जना आंशिक अपांगलाई सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको थियो ।