भारतीय तीर्थयात्रु हुम्लामा अलपत्र
सुर्खेत : चार दिनदेखि परेको अविरल वर्षाका कारण मानसरोवर तीर्थयात्राका लागि गएका भारतीय पर्यटक हुम्लामा अलपत्र परेका छन् । चीनको कैलास मानसरोवर दर्शनमा गएका तीर्थयात्री जहाज नचल्दा सिमकोट र हिल्सा नाकामा अलपत्र परेका हुन् ।
तीर्थयात्राका क्रममा दुईजना पर्यटकको मृत्युसमेत भएको छ । सोमबार नै दुईजना तीर्थयात्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कैलास यात्रा गरेर सिमकोट फर्किएका लीलानारायणन मन्डरेथको लेक लागेर होटलमै मृत्यु भएको प्रहरीको भनाइ छ । अर्का पर्यटक सत्यलक्ष्मीनारायण सुब्बाको भने तिब्बतमै मृत्यु भएको हो । हार्टअट्याक हुँदा तिब्बको ताक्लाकोटमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी रविन श्रेष्ठले जानकारी दिए । सुब्बाको शव मंगलबार बिहान हेलिकोप्टरमार्फत सिमकोट ल्याइएको थियो । दुवै शवलाई मंगलबार नै नेपालगन्ज लगिसकिएको छ ।
अहिले भने सबै तीर्थयात्री प्रशासनको सम्पर्कमा आएको हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले बताए । ‘निरन्तर वर्षा हुँदा जहाज उड्न पाएन, केही बाटोमा हराएको खबर पनि आएको थियो’, उनले भने, ‘तर मंगलबार बिहानसम्म सबै सम्पर्कमा आएका छन् । केही हिल्साका होटलमा र केही सिमकोटकै होटलमा जहाज कुरेर बसिरहेका छन् ।’ केही तीर्थयात्री मंगलबार नै नेपालगन्जतर्फ लागेको र बाँकीलाई पनि जहाज चलेको अवस्थामा पठाउने तयारी रहेको उनको भनाइ छ । हिल्सा र सिमकोटका होटलमा मंगलबारसम्म करिब आठ सय भारतीय तीर्थयात्री रोकिएको प्रमुख जिल्ला अधिकारी ढुंगानाले जानकारी दिए ।
लगातार वर्षाका कारण असार १५ देखि हवाई उडान नभएपछि तीर्थयात्री हिल्सा र सिमकोटमै अलपत्र परेका हुन् । सिमकोट–हिल्सा उद्धारका लागि ट्राभल एजेन्सीका एक दर्जन हेलिकोप्टर परिचालन गरिएको प्रशासनको भनाइ छ । तर मौसम खराब हुँदा आन्तरिक उडानसमेत प्रभावित हुँदा समयमै उद्धार हुन नसकेको हो । बुधबार वर्षा नभएमा हिल्सामा रोकिएका सबै यात्रु सिमकोट आइपुग्ने प्रजिअ ढुंगानाले बताए । उद्धारका लागि एजेन्सी, पर्यटक र स्थानीय प्रशासनबीच निरन्तर सम्पर्कमा रहेको उनको भनाइ छ ।