साउदीका नारी उमंग
मुलुकले आत्मसात् गरेको राजनीतिक व्यवस्था, विकास, समृद्धि र नागरिक चेतनाको आधारमा देशैपिच्छे महिला अधिकारको अवस्था फरकफरक देखिन्छ। तर पुरुषको तुलनामा हरेक देशमा महिला पछाडि नै रहेको अवस्थालाई भने नकार्ने ठाउँ छैन। उदाहरणका रूपमा, विकास, स्वतन्त्रता, मानव अधिकार र उच्च नागरिक चेतना भएको मुलुकका रूपमा अमेरिकालाई हेर्ने गरिन्छ, तर सबै किसिमले उत्कृष्ट मानिएको देशका नागरिकले समेत महिलालाई राष्ट्रप्रमुखको रूपमा विश्वास गर्न नसकेको अवस्था लुकेको विषय होइन। यसरी हेर्दा विश्वमा लैंगिक समानताको आन्दोलन सुरु भएको लगभग तीन शतक बित्न लागे पनि लक्ष्य प्राप्ति अझै अनिश्चित छ। विकसित देशमा महिलाको अवस्था सन्तोषप्रद देखिए पनि अविकसित र विकासोन्मुख देशका महिलाको अवस्था बढी संवेदनशील छ। यसै क्रममा साउदी अरबका महिलाले हालै प्राप्त गरेको सवारी चालक अनुमतिमा समस्त विश्वको ध्यान केन्द्रित हुन पुुग्यो। विश्वको एउटा मात्र देश साउदी अरब, जहाँ महिलालाई सवारी चालनमा कानुनी रूपबाट प्रतिबन्ध लगाइएको थियो। गएको जुन २४ देखि राजाको आदेशले उक्त प्रतिबन्ध फुकेको छ। यससँगै साउदीका सडकमा बुर्काधारी महिलाद्वारा चलाइएका गाडी थपिने क्रम बढ्दो छ।
सन् १९९० भन्दा पहिले साउदीमा सीमित संख्याका महिलाले गाडी चलाउँथे, महिलाको उक्त कार्य इस्लाम धर्मको विरुद्ध हुने भन्दै घरपरिवारले नै महिलालाई गाडी चलाउन अनुमति नदिने अवस्था थियो, तर १९९० मा कानुन बनाएरै महिलालाई गाडी चलाउन पूरै प्रतिबन्ध लगाइयो। सरकारी प्रतिबन्धसँगै सोविरुद्ध महिलाको आन्दोलन जारी हुँदै आयो। ६ नोभेम्बर १९९० मा ४७ जना महिलाले रियादको सडकमा गाडी चलाएर प्रतिबन्धको विरोध गरे, कानुन उल्लंघनको अभियोगमा उनीहरूलाई गिरफ्तार गरियो तर पनि महिला आन्दोलनको अन्त्य भएन। महिलालाई हतोत्साही गर्न धार्मिक विद्वान्ले फतवा जारी गर्दै रहे। महिलाको गाडी चलाउने चाहनाले मुलुकमा अशुभ निमन्त्रण गरिरहेको ती विद्वान्को तर्क थियो।
महिलालाई गाडी चलाउन अनुमति दिइए पुरुषको नजिक पुग्ने, आजाद घुमफिरको बहाना बन्ने, महिला सवारी चालक बढेपछि पुरुषको ड्राइभिङ अवसर खुम्चिने, महिलाले आफ्नो चेहरा ढाक्न छोड्ने तथा परपुरुषसँग उनीहरूको अन्तर्क्रिया बढ्दै जानेजस्ता लैंगिक विभेदजन्य आधारहरू फतवामा उल्लेख गरिएका हुन्थे। यतिसम्म कि पुरुषभन्दा महिला दिमागीय रूपमा कमजोर हुने भएकाले गाडी चलाउन नसक्ने तथा गाडी चलाउँदा महिलाको कुमारीत्व नाश हुनेजस्ता हास्यास्पद रायसमेत फतवामा उल्लेख थिए। त्यस्ता फतवाहरूको परवाह नगरी महिलाले आफ्नो विरोधलाई सामाजिक सञ्जालमार्फत समेत फैलाउन थाले।
‘ओमन टु ड्राइभ मुभमेन्ट’ महिलाको सबैभन्दा सशक्त आन्दोलन थियो। विरोधका गतिविधि समेटिएका भिडियो सामाजिक सञ्जालमा समेत फैलाइएका कारण विश्वको ध्यान आकृष्ट हुनाका साथै महिलाको पक्षमा जनमत अझ बलियो हुँदै गयो। २६ अक्टुवर २०१३ मा महिलाले प्रतिबन्धित अधिकार फुकुवाका लागि अर्को अभियान सुरु गरे, जसमा ११ हजार महिलाको सहभागिता थियो, साथ दिने पुरुष पनि अभियानमा थपिएका थिए। अन्तर्राष्ट्रिय तहबाट पनि महिलाको मागप्रति लचिलो हुन साउदी सरकारलाई त्यत्तिकै दबाब थियो। यी सबै कारणले २६ सेप्टेम्बर २०१७ मा राजा सलमानले महिलालाई गाडी चलाउन अनुमति दिने घोषणा गरे, जसलाई धार्मिक परिषद्का बहुमत वरिष्ठ सदस्यले पनि स्वीकार गरेका कारण गएको जुन २४ बाट महिलाले उक्त अधिकार प्राप्त गरेका हुन्।
साउदीका महिलाको अधिकार र स्वतन्त्रताको लडाइँमा गाडी चलाउन पाउने अधिकारले दिलाएको उपलब्धि एउटा कोसेढुंगा सावित भएको छ।
अनुमतिपछि पहिल्यै लाइसेन्स लिएका महिलाले सडकमा गाडी गुडाउन थालिसकेका छन् भने अन्य महिलाको चाप चालक अनुमतिपत्र लिने क्रममा केन्द्रित देखिन्छ। फुकुवाको दिन साउदी अरवका १ लाख २० हजारभन्दा बढी महिलाले चालक अनुमतिपत्रका लागि आवेदन दिएको विकिपेडियाले उल्लेख गरेको छ। लगभग तीन दशकसम्म राज्यले कानुनीरूपबाटै गरेको विभेदमाथि निरन्तरको आन्दोलनका कारण साउदी महिलाले सफलता पाउनु खुसीको कुरा हो। यसलाई एउटा ठूलो उपलब्धि मान्दै साउदी महिला एकआपसमा खुसी साटासाट गरिरहेका छन्। संयुक्त राष्ट्रसंघदेखि पश्चिमा मुलुकहरूले पनि यस कदमको स्वागत गरेको देखिन्छ, यो एउटा उल्लेखनीय उपलब्धि हुँदाहुँदै पनि साउदीका अन्य सयौं प्रावधान तथा अभ्यासहरू महिलाका लागि चरम विभेदकारी रहिरहेकै छन्।
लैंगिक समानता कायम गर्न सैकडौं सवालमा तत्काल सुधार गर्नु अपरिहार्य छ। दी वल्र्ड इकोनोमिक फोरमको ग्लोबल जेन्डर ग्याप रिपोर्टले साउदीलाई १४४ मध्ये १४१ औं स्थानमा राखेको छ। विशेषगरी इस्लामिक (सरिया) कानुनका प्रावधानले साउदी महिलाको गरिमालाई निस्तेजप्रायः बनाएको बुझिन्छ। आँखा र हातबाहेक अन्य कुनै अंग नदेखिने गरी शिरदेखि पाउसम्मको कालो बुर्का साउदी महिलाको पहिचानजस्तै प्रतीत हुन्छ। कुनै एक पुरुष अभिभावकविना सार्वजनिक स्थलमा उनीहरूको उपस्थिति वर्जितप्रायः छ। त्यस्तै कतै यात्रा गर्ने क्रममा समेत बाबु÷पति÷छोरा÷काका वा नाति नै किन नहोस्, उनीहरूमध्ये अभिभावकका रूपमा एक पुरुषको हस्ताक्षरित अनुमति ठाउँठाउँमा पेस गर्ने दायित्वबाट महिला उम्किन सक्दैनन्। यात्रा गर्ने, पासपोर्ट बनाउने, विवाह र सम्बन्धविच्छेद तथा कुनै खाले करारका लागि पनि पुरुषको मञ्जुरी अपरिहार्य मानिन्छ।
पीडितपक्षले चारजना चस्मदिद गवाह नजुटाएसम्म बलात्कारीमाथि कारबाही हुन नसक्ने प्रावधानले बलात्कार पीडित महिलाको न्यायप्राप्तिको सवालसमेत ओझेलमा पर्ने गरेको छ। साउदी अरबका महिलालाई प्रेम दिवस (भ्यालेन्टाइन्स डे) मनाउने अधिकार दिइएको छैन। १४ फेब्रुअरीका दिन मात्र हैन, साताभरि नै रातो गुलाफ र मुटु आकारका कुनै पनि सामग्री खरिद बिक्रीमा पूर्ण प्रतिबन्ध लाग्ने गर्दछ। बिक्री भएको पाइएमा बिक्रेतासमेत सजायको भागीदार बनाइन्छन्। त्यो दिन रातो रंग लगाउन नपाउनेसमेत नियम छ। कतिसम्म भने रातो रिवन बाँधेर स्कुल जाने बालिकासमेत घर फर्काइन्छ। त्यस्तै साउदी महिलालाई मेकअप गर्ने, परपुरुषसँग बोल्ने, आफूखुसी फोटो खिच्नेलगायत छुट प्राप्त छैन भने महिलालाई एक्लै समाधिस्थल जानसमेत दिइन्न। अस्पताल, बैंकलगायतका ठाउँमा जाँदा महिला र पुरुषक लागि अलगअलग बाटो अख्तियार गर्नु अनिवार्य रहन्छ। हालै महिलालाई सवारी चालक अनुमति दिइए पनि अब महिलाको अन्तरक्रिया ट्राफिक प्रहरीसँग हुन्छ भन्ने भयले साउदी सरकार र समाज दुवै त्रस्त देखिन्छन्, जसका कारण केही समयको दौरान सरकारसमक्ष रिपोर्ट पेस गर्नुपर्ने पनि जनाइएको छ।
राजतन्त्रात्मक मुलुक साउदीमा महिलाले राजनीतिक अधिकार पाएको केही वर्षअघिदेखि मात्र हो। भोट दिने र निर्वाचित हुने अधिकारबाट उनीहरू पूर्णतया वञ्चित थिए। सन् २०११ मा तत्कालीन राजा अब्दुल्लाहले सन् २०१५ को स्थानीय चुनावमा महिलालाई भोट दिन र उम्मेदवार हुन पाउने घोषणा गरे। निर्वाचनअगावै राजाको मृत्यु भए पनि उनको घोषणाबमोजिम महिला अधिकार स्थापित भएरै छोड्यो। उक्त निर्वाचनमा २० जना महिला जितेर आउन सफल भए। त्यससँगै सीमित कार्यकारी अधिकारसहित कानुन प्रस्ताव गर्ने औपचारिक निकाय कन्सल्टेटिभ एसेम्ब्ली (जसका सदस्य राजाद्वारा नियुक्त गरिने प्रचलन छ) का कुल १५० सदस्यमध्ये पहिलोपटक सन् २०१३ मा ३० जना महिला नियुक्त भएका थिए। महिलाका सबै सवालमा पुरुष अभिभावकको अनुमति चाहिने प्रावधान पनि घट्दो क्रममै देखिन्छ। राजा सलमानको आदेशबमोजिम सन् २०१७ को मे महिनाबाट उच्च शिक्षा अध्ययन, रोजगार र कुनै खाले शल्यक्रिया आदिमा पुरुष अभिभावकको अनुमति चाहिने अवस्था हटेको छ। साउदीका राजाहरू महिलाप्रति उदार हुँदै गएका यी केही घटनाले स्पष्ट संकेत त गर्छ तर समयअनुसार ती कदमलाई पर्याप्त मान्न सकिने अवस्था देखिन्न।
साउदीका महिलाको अधिकार र स्वतन्त्रताको लडाइँमा गाडी चलाउन पाउने अधिकारले दिलाएको उपलब्धि एउटा कोसेढुंगा सावित भएको छ। यस उपलब्धिलाई ग्रहण गर्दै मानवका हैसियतले अन्तरनिहित सबैखाले अधिकार प्राप्तिमा पनि सोही खाले सफलता साउदी अरबका महिलालाई मिलिरहोस्।