संकटमा विश्व व्यवस्था
फ्रान्सेली चिन्तक भोल्तेयरले पवित्र रोमन साम्राज्य न पवित्र रोमन नै रहेको टिप्पणी गरेका थिए। कालान्तरमा रोमन साम्राज्यको पतन भयो। हार्वर्डका इतिहास प्राध्यापक नायल फर्गसन वर्तमान उदार अन्तर्राष्ट्रिय व्यवस्था न उदार, न अन्तर्राष्ट्रिय न त त्यति व्यवस्थित नै भएको तर्क गर्छन्। यो व्यवस्था समाप्त भएको उनको ठम्याइ छ। लगातार ३० वर्षको युद्धपछि शान्ति, स्थायित्व र प्रगतिका लागि युरोपली राष्ट्रहरूले सन् १६४८ मा वेस्टफेलियाको सन्धि गरेपछि विश्व व्यवस्थाको सुरुआत भएको हो। यसले युरोपमा शक्ति सन्तुलन ल्यायो। राष्ट्रहरूको अधिकार र सम्प्रभुता स्विकारियो। राष्ट्रहरूले एकअर्काको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने नीति लिए। यही व्यवस्था कांंग्रेस अफ भियनामा परिमार्जित भयो।
दोस्रो विश्वयुद्धपछि बेलायती उपनिवेशवादको पतनसँगै बनेको आधुनिक विश्व व्यवस्थाको नेतृत्व अमेरिकाको हातमा गयो। अमेरिकाले संयुक्त राष्ट्रसंघ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, अन्तर्राष्ट्रिय अपराधसम्बन्धी अदालत सिर्जना गरेर यो विश्व व्यवस्थाको नेतृत्व गरिरहेको छ। युरोप र अमेरिकाबाट सुरु भएको आधुनिक विश्व व्यवस्थामा संसारका सबै राष्ट्र समावेश छन्। यो व्यवस्थामा विश्वभर सबै राम्रा घटना र काम मात्र नभए पनि यसको रक्षा गर्नुपर्ने कतिपय विद्वान्को तर्क छ। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रबैया र चीनको उदयका कारण अहिले यो व्यवस्था संकटमा छ। विश्व व्यवस्थासम्बन्धी जापानी, भारतीय र इस्लामिक अवधारणा इतिहासमा सक्रिय रहेको पाइन्छ।
डोनाल्ड ट्रम्पको उदय : डेढ वर्षअघि अमेरिकाको राष्ट्रपति निर्वाचनमा चिनियाँहरू हिलारी क्लिन्टनको हारको पक्षमा थिए। ट्रम्पले जितून् भन्ने उनीहरू चाहन्थे। किनभने क्लिन्टनले जितेमा उनले ओबामाको ‘एसिया पिभोट’ नीतिलाई निरन्तरता दिने थिइन्। उनी मानवअधिकारलगायतका मुद्दामा पनि चीनसँग विमति राख्थिन्। तर व्यापारी र रियालिटी टीभी स्टार भएकाले ट्रम्पसँग व्यवहार गर्न सजिलो हुने अनुमान चिनियाँहरूको थियो। नभन्दै ट्रम्पले चुनाव जिते र अहिले अमेरिका विश्वको नेतृत्वबाट पछाडि फर्किरहेको छ। राष्ट्रपति भएलगत्तै ट्रम्पले ट्रान्स प्यासिफिक पार्टनरसिप नामक व्यापारिक संगठनबाट हात झिके। पेरिसमा सम्पन्न अन्तर्राष्ट्रिय मौसम परिवर्तनसम्बन्धी सम्झौताबाट अमेरिका बाहिरियो। सिरियाली युद्धमा पनि अमेरिकी भूमिका सीमित भएको छ। रूस सहयोगमा सिरियाली राष्ट्रपति बसर अल असदको सत्ता टिकेको छ। त्यहाँ इरान र टर्कीको पनि वर्चस्व छ। इरान आणविक सम्झौता अमेरिकाले भंग गरेपछि त्यसलाई जोगाउने जिम्मा पनि रूस, चीन, बेलायत, फ्रान्स र जर्मनीको काँधमा आइपरेको छ।
कोरियाली प्रायद्वीपको शान्ति प्रक्रियामा भने उनी केही हदसम्म सफल देखिएका छन्। यद्यपि यस सम्झौतामा चीनको महत्वपूर्ण हात छ। नेटोको खर्चको विषयलाई लिएर अन्य सदस्य राष्ट्रसँग पनि ट्रम्पको मनमुटाव छ। दशकौंदेखि अमेरिकी गठबन्धनमा रहेका अस्ट्रेलिया, क्यानडालगायतका राष्ट्रसँग अमेरिकाको सम्बन्ध अचानक चिसिएको छ। उदारवाद, मानव अधिकार, आप्रवासन तथा शरणार्थी नीतिमा ट्रम्पले लिएको अनुदार बाटोले अमेरिकी परम्परा तोडिएको छ। हालै जी– ७ शिखर सम्मेलनमा पनि करका विषयमा सदस्य राष्ट्रसँग अमेरिकाको मतभेद चर्किएको छ। यस्तै करलाई लिएर चीनसँग अहिले अमेरिकाको व्यापार युद्ध सुरु गर्ने हो कि भन्ने त्रास विश्वभर छ। यी सबै घटनाहरू हेर्दा अमेरिका पश्चिमी गठबन्धन तथा व्यापारिक क्षेत्रमा पनि एक्लो बनेको छ। अमेरिकाको यो पतन र क्षयबाट मात्रै होइन, विश्व व्यवस्थाको जननी युरोपबाटै पनि वर्तमान विश्व व्यवस्थालाई खतरा छ।
अब नयाँ विश्व व्यवस्था निर्माणका लागि चीन र अमेरिकाबीच संघर्ष चर्किने अथवा चीनको उदय शान्तिपूर्ण ढंगले हुन नसक्ने स्थिति बढ्दै छ।
मरिरहेको युरोपेली युनियन : युरोपेली युनियनबाट बाहिरिने बेलायतको निर्णय आत्महत्याजस्तै थियो। यसले लोकप्रियतावादी रैथाने र राष्ट्रवादीहरूलाई मद्दत पुग्यो। उदार प्रजातन्त्र, मानव अधिकार, उदार अर्थव्यवस्था र खुला विश्वका लागि परिचित युरोपमा अहिले राष्ट्रवादको लहर चलेको छ। हंगेरी, चेकोस्लोभाकिया र इटालीमा अनुदार सरकार गठन भएका छन्। ती सरकार युरोपेली युनियनका योजनामाथि सशंकित छन्। केही समयअघिसम्म निर्विकल्प ठानिएको नवउदारवादविरुद्ध विश्वभर आक्रोश छ। यो आक्रोश फ्रान्स, जर्मनी, नेदरल्यान्डको चुनावमा लोकप्रियतावादीहरूले ल्याएको मतबाट स्पष्ट हुन्छ। तर युरोपेली युनियनलाई मर्न नदिन फ्रान्स र जर्मनीका नेताहरू अघि सरेका छन्। उनीहरूले आफूलाई पश्चिमी विश्वको नेतृत्वमा ट्रम्पको विकल्पका रूपमा उभ्याएका छन्। युरोपको संकट पश्चिमी विश्वकै संकट हो।
चीनको उदय : एक्काइसौं शताब्दीसँगै आश्चर्यजनक रूपमा भएको चीनको उदयले अहिले अमेरिकी नेतृत्वको विश्व व्यवस्थालाई चुनौती दिएको छ। सन् ८० को दशकमा पल केनेडीले ‘द राइज एन्ड फल अफ ग्रेट पावर्स’ भन्ने पुस्तकमा अमेरिकाको विकल्पमा जापान र जर्मनीको उदय हुने बताएका थिए, तर त्यसो भएन। अहिले आएर चीन अमेरिकाको विकल्पका रूपमा देखा परेको छ। शीतयुद्धकालमा साम्यवादी सोभियत संघलाई पराजित गरेपछि एक ध्रुवीय विश्व बनाउन सफल अमेरिका अहिले पुनः दुई समूहमा पुगेको अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुड बताउँछन्। मन्दारिन भाषा बोल्ने रुड चीन विश्वको नेतृत्वमा फर्किएको निष्कर्ष निकाल्छन्। तर चीनको आश्चर्यजनक आर्थिक प्रगति यही वर्तमान विश्व व्यवस्थामा सम्भव भएको उनको ठम्याइ छ। यही आर्थिक पराक्रमको परिणाम चीन अहिले अफ्रिका, ल्याटिन अमेरिका र मध्यपूर्वमा आफ्नो उपस्थिति महसुस गराउने हैसियतमा पुगेको छ।
चीनले आफ्नो सामथ्र्य लुकाउनुपर्ने धारणा देङ स्यायो पिङको थियो तर वर्तमान राष्ट्रपति सी चीन शक्ति देखाउन लागिपरिहेका छन्। उसको बेल्ट र रोड इनिसियटिभ एसियामा मात्र होइन, युरोप र अफ्रिकामा आफ्नो प्रभाव देखाउने योजना हो। चीनले एसियाली बैंकको प्रतिस्पर्धामा अर्को बैंक खोलेको छ। ब्रिक्स, सांघाई कोअपरेसनजस्ता फोरममा पनि चीनले आफ्नो प्रभाव र हैसियतको अभ्यास गर्छ। भनिन्छ, चिनियाँ नेताहरूको डीएनएमा विश्वको केन्द्र राष्ट्र ‘मध्य अधिराज्य’ को भावना छ। चीनले जहिले पनि आफूलाई विश्वको केन्द्र ठान्दछ। दक्षिण चीन सागरको विषयमा अमेरिकासँग चीनको युद्ध पनि हुन सक्ने रणनीतिकारहरू बताउँछन्। यही कुरालाई ध्यानमा राखेर अमेरिकाले भारतलाई समेत तानेर इन्डो प्यासेफिक गठबन्धनको अवधारणा ल्याएको छ। भारतको उदय पनि नयाँ विश्व व्यवस्थामा महत्वपूर्ण पक्ष हो, तर भारत अमेरिकी नेतृत्वको विश्व व्यवस्थामै सन्तुष्ट देखिन्छ।
अहिले चीन ठूलो अर्थतन्त्र मात्र होइन, ‘आर्टिफिसियल इन्टेलिजेन्स’ जस्ता क्षेत्रमा पनि नेतृत्व लिने ढंगले अघि बढिरहेको छ। इरान तथा र उत्तर कोरियाको भविष्यसँग पनि चीन जोडिएको छ। यसबाट अब नयाँ विश्व व्यवस्था निर्माणका लागि चीन र अमेरिकाबीच संघर्ष चर्किने अथवा चीनको उदय शान्तिपूर्ण ढंगले हुन नसक्ने तर्क गर्ने रणनीतिकारहरू पनि छन्। यो द्वन्द्वबाट बच्न चीन र अमेरिका सहअस्तित्वमा जानुपर्ने धारणा पूर्वप्रधानमन्त्री केभिन रुडको छ। विशाल भूगोल, जनसंख्या, बजार, मध्यम वर्ग र सैन्य क्षमताका कारण चीन अब अमेरिकाको विकल्प हुन सक्छ।
यद्यपि निरंकुश शासन प्रणाली भएको चीनले उदार विश्वको नेतृत्व गर्न नसक्ने भन्दै चीनका जनतालाई आफ्नो प्रतिनिधि चुन्ने अधिकार हुनुपर्ने सिंगापुरका चिन्तक किशोर महाबुबानी बताउँछन्। चीनले आफूलाई अमेरिकाको विकल्पमा दह्रो गरी उभ्याउन थालेपछि पश्चिमाहरू चिन्तित छन्। जे होस् झन्डै शताब्दी लामो अवधिसम्म टिकेको यो विश्व व्यवस्था अहिले संकटमा परेको विषयमा सबैजसो सहमत छन्।