पहिरोले बालीनाली सखाप

पहिरोले बालीनाली सखाप

गोरखा : हातमुख जोर्ने मकैबाली र कोदोको बीउ पहिरोले पुरेपछि आरुघाट गाउँपालिका १ श्यामचेतका किसान चिन्तित भएका छन्।

निरन्तरको वर्षापछि गाउँमाथिबाट आएको पहिरोले करिब ३० घर किसानको रोप्ने बेलाको कोदोको बीउ सखाप पारेको स्थानीय कर्ण लामाले जानकारी दिए। खानेबेला भएको मकै पनि पहिरोले पुरेको उनले गुनासो गरे। ‘हाम्रो लेकको ठाउँको मुख्य खेती भनेकै यही मकै र कोदो हो’, लामाले भने, ‘२० जनाको मकैबारी लगेको छ। ३० जनाको कोदोको बीउ पुरेको छ। यो वर्ष मकै भिœयाउन पनि पाएनन्, कोदो रोप्न पनि पाएनन्।’

पानी पर्न थालेपछि श्यामचेतभन्दा माथिको न्हेचेत डाँडाबाट निरन्तर पहिरो जाने गरेको उनले बताए। ‘दिनदिनै हाम्रो काम भनेकै कुलो काटेर पहिरो कटाउने हो। आज कुलो काट्छौं, भोलि फाल्छ। भोलि काट्छौं, पर्सि फाल्छ। कसरी साध्य लगाउनु? ’, उनले भने, ‘जिल्लामा र गाउँपालिकामा पनि तारजाली माग गरेका थियौं, तर अहिले जसोतसो जोगिएर बस्नू मात्र भन्नुभएको छ। तारजाली दिने कुरा भएको छैन।’

पहिरो गाउँभन्दा ५० मिटर नजिक आइसकेको स्थानीयको भनाइ छ। ‘पुरिने डरले सात घर त अन्तै सरिसके। एक सय ५० घरधुरी एकदम खतरामा परेका छन्’, कर्मा भन्छन्।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायण भट्टराई भने गाउँलेलाई जोगाउन राजनीतिक दलहरूबाट भिन्नभिन्न सुझाव आएको बताउँछन्। ‘गाउँलेले तारजालीको माग गरेका छन्, तर दलका साथीहरूले भिन्नभिन्न सुझाव दिनुभएको छ’, उनले भने, ‘कुनै पार्टीले तारजाली दिनुपर्छ भनेका छन्, कुनैले अहिले अल्पकालीन रूपमा जोगाउने उपाय गरेर हिउँदमा दीर्घकालीन समाधानको उपाय अपनाउनुपर्छ भनेका छन्।’ तत्कालका लागि टहरो बनाउन त्रिपाल वा अन्य सामग्री सहयोग गर्ने तर तारजाली भने वर्षा सकिएपछि दिने उनको भनाइ छ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.