मुख्यमन्त्री क्वार्टरको फोहोर पानी फेवामा

मुख्यमन्त्री क्वार्टरको फोहोर पानी फेवामा

पोखरा : मानवीय लापारवाहका कारण फेवाताल प्रदूषणको चपेटामा परेको छ । पोखरा बजारको फोहोर पानी, सोफट र सेप्टक ट्यांकका फोहोर फिर्के र बुलौदी खोला हुँदै तालमा मिसिँदा ताल प्रदूषणको चपेटामा परेको हो । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बस्ने ताल किनारको क्वार्टरबाट निस्केको फोहोरपानीसमेत तालमा मिसाइएको छ । क्वार्टरबाट निस्केको साबुनपानी तालमा सोझ्याइएको पाइएको छ ।

बुलौदी खोला र फिर्के खोला हुँदै बगेर आएको फोहोरको डंगुर मुख्यमन्त्रीको क्वार्टर नजिकै फेवाताल किनारमा थुप्रिएको छ । खोला र ताल किनारका अन्य सरकारी कार्यालय र स्थानीयले समेत ताल र खोलामा फोहोर पानी मिसाएका छन् । लेकसाइडका होटलबाट निस्केको फोहोर पानी पनि तालमै मिसिन्छ । तालमा मिसिने नहर, फिर्के खोला, बुलौदी खोलामा जथाभावी फोहोर फालिँदा ताल डम्पिङ साइटको रूपमा परिणत भएको नगर सफाइ अभियन्ता रामबहादुर पौडेल बताउँछन् ।

पोखरा महानगरपालिकाले हालै गरेको फिर्के खोलाको जमिन खोजीका क्रममा सशस्त्र प्रहरी तालिम केन्द्रको भवन, शौचालय, सेफ्टी ट्यांकी खोलाको मापदण्डभित्रै बनेको पाइएको थियो । सशस्त्र प्रहरी कार्यालय प्रदेश ४ को शौचालय, भान्छाकोठा, पानी ट्यांकी, प्रदेश ४ प्रहरी कार्यालयको मर्मतसम्भार घर, शौचालय, बाथरुम खोलाको मापदण्डभित्रै बनेको फिर्के खोलाको जमिन खोजीका क्रममा रेखांकनमा सहभागी पोखरा महानगरका इन्जिनियर महेन्द्र गोदारले जानकारी दिए । वडा प्रहरी कार्यालय बैदामको शौचालय र भान्छाकोठा, क्षेत्रीय अनुगमन तथा ढल निकास कार्यालयको शौचालय पनि खोलाको मापदण्डभित्रै छन् ।

तालको मुहान क्षेत्रमा भूक्षय नियन्त्रणका काम प्रभावकारी नहुँदा ताल मुहान क्षेत्रबाट पुरिँदै गएको छ । तालको मुख्य स्रोत हर्पन खोलाबाट प्रत्येक वर्ष फेवातालमा एक लाख ४२ हजार टन गेग्र्यान थुप्रिँदै आएको विभिन्न अध्ययनले देखाएको छ । समय शृंखला विश्लेषणबाट यो अवस्था देखिएको हो । यसैकारण सन् १९५७ को नापीअनुसार लगभग २२ हजार रोपनीमा फैलिएको फेवाताल सन् २००० यताका अध्ययनहरूमा तालको क्षेत्रफल घटेर ९ हजार ९ सय ५५ रोपानीमा सीमित रहेको तथ्यांक छ । समुन्द्र सतहदेखि ७ सय ९३ मिटरको उचाइमा रहेको यसै तालका कारण ताल किनारमा पर्यटन फस्टाएको छ । फेवाकै पानीबाट बिरौटा फाँटमा सिँचाइ सुविधा पुगेको छ । तालकै पानीबाट विद्युत् निकाल्नुका साथै तालकै पानीले पाताले छाँगो (डेभिज फल) सुन्दरता पर्यटकले देख्न पाएका छन् ।

फेवा तालमा दुई सयभन्दा बढी प्रजातिका वनस्पति, जलचर एवं पन्छीको आ श्रय स्थल र बासस्थान थियो । ४० प्रजातिका माछा यही तालमा पाइन्थे । अतिक्रमण र प्रदूषणसँगै केही प्रजातिका वनस्पति, चरा र माछा लोप भइसकेका र लोप हुने क्रममा बढी रहेको पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरे बताउँछन् । हिउँदमा साइबेरियादेखि जाडो छल्न यहाँ आउने चरा ताल अतिक्रमणका कारण बासस्थान विनास हुँदा पाहुना चराको आगमन घटेको पोखरा पक्षी समाजका अध्यक्ष घिमिरेले बताए ।

२ दर्शकपछि स्थानीय तहको निर्वाचन भयो । पोखरा महानगरमा नागरिकले भोट दिएर जनप्रतिनिधि चुने । जनप्रतिनिधिले शासन चलाएको एक वर्ष पूरा हुँदा पनि ताल संरक्षणका लागि पहल भने भएको छैन । फेवाताललाई प्रदूषणमुक्त बनाउन तालमा मिसिने नहर र खोला डाइभर्ट गरेर फुर्सेखोलामा मिसाउने महानगरका मेयर मानबहादुर जिसीले सुनाउँदै आए पनि काम सुरु भएको छैन ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.