विश्वकपप्रति उदासीन ब्राजिल
मस्को : रुसमा जारी २१औं संस्करणको विश्वकप फुटबलको समूहगत चरण र प्रिक्वार्टरफाइनल चरणका खेलहरू सम्पन्न भइसकेका छन् । अर्थात्, प्रतियोगिताका ६४ खेलमध्ये ५६ खेल सम्पन्न भइसकेका छन् । अब केवल आठवटा खेल हुन बाँकी छ । विश्व फुटबलको महाकुम्भमा संसार होमिएका बेला ब्राजिलका आधाभन्दा बढी जनसंख्या विश्वकपप्रति उदासीन रहेको एक सर्वेक्षणले देखाएको छ ।
विश्वकप फुटबलमा सर्वाधिक सफल टोलीमा मानिन्छ, ब्राजिल । सन् १९३० मा विश्वकप सुरु भएदेखि नै लगातार छनोट हुँदै आएको ब्राजिलले अहिलेसम्म पाँचपटक ट्रफी पनि उचालिसकेको छ । तर, रुसमा जारी विश्वकपप्रति ब्राजिलका ५३ प्रतिशत जनतालाई कुनै चासो नरहेको अनुसन्धान कम्पनी डाटाफोल्हाको सर्वेक्षणले देखाएको छ । गत जनवरीमा पनि डाटाफोल्हाले यस्तै सर्वेक्षण गरेको थियो । त्यति बेला भने ४२ प्रतिशतले विश्वकपप्रति रुचि नरहेको बताएका थिए ।
ब्राजिलमा बढ्दो भ्रष्टाचार, लोडसेडिङ, चरम आर्थिक अवस्था र ट्रकको हडतालले गर्दा त्यहाँका आधाभन्दा बढी जनता विश्वकप फुटबलप्रति उदासीन बनेको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षण संस्था डाटाफोल्हाका अनुसार ब्राजिलका ६१ प्रतिशत महिलालाई विश्वकप फुटबलमा ब्राजिलले के गरिरहेको छ भन्ने थाहापत्तो छैन ।
यसैगरी ३५ देखि ४४ वर्ष उमेर समूहका ५७ प्रतिशत र दक्षिण ब्राजिलका ५९ प्रतिशत मानिस विश्वकपप्रति उदासीन देखिएका छन् । सर्वेक्षणमा समेटिएकामध्ये जम्मा १९ प्रतिशत मानिसले फिफा विश्वकप लगातार हेरिरहेको बताएका छन् । यसैगरी १८ प्रतिशतले विश्वकपमा सामान्य ध्यान दिएको बताए भने नौ प्रतिशतले विश्वकपमा थोरै मात्र ध्यान दिएको प्रतिक्रिया दिएका छन् ।
डाटाफोल्हाले एक सय ७४ सहरका दुई हजार आठ सय २४ जनासँग प्रतिक्रिया लिएको थियो । सन् २०१४ मा ब्राजिल आफैंले आयोजना गरेको विश्वकपमा पनि ३६ प्रतिशत जनताले विश्वकप फुटबलप्रति कुनै चासो नरहेको बताएका थिए ।