‘किरिया बस्ने ठाउँसमेत भएन’

‘किरिया बस्ने ठाउँसमेत भएन’

लिबाङ : घरले च्यापिएर ज्यान गुमाएका रोल्पाका तीन जनाको सामूहिक दाहसंस्कार गरिएको छ । तर, किरिया बस्नका लागि सुरक्षित स्थान नभएपछि मृतकका परिवारहरू आफन्तको घर पुगेका छन् । सोमबार बिहान पर्खाल भत्किएर घर च्यापिँदा १८ दिने शिशुसहित तीन जनाको मृत्यु भएको थियो ।

घटनापछि रोल्पा रुन्टीगढी गाउँपालिको सेबाङ गाउँ शोकमा डुबेको छ । १८ दिने २२ वर्षीया सुत्केरीको मृत्युले छिमेकीसमेत विक्षिप्त बनेका छन् । आर्थिक अवस्था कमजोर भएपछि ममर्त गर्न नसक्दा एक दिनकै वर्षाले घर भत्काएको थियो ।

पर्खाल भत्किएर घरमा पुरिएपछि रुन्टीगढी गाउँपालिका–५ सैबाङकी १८ दिनकी सुत्केरी २२ वर्षीय कमला विश्कर्मा, उनकी १८ दिने छोरी र जेठाजुको १५ वर्षीय छोरी चित्रा विश्कर्माको मृत्यु भएको थियो ।

रोल्पामा १८ दिनकी सुत्केरी र शिशुसहित तीन मृतकका परिवारलाई राहत उपलब्ध गराइएको छ । सोमबार मृत्यु भएका दुई परिवारलाई राहत रकम र आवश्यक सामग्री हस्तान्तरण गरिएको हो ।

शोकमा डुबेका परिवारलाई रुन्टीगढी गाउँपालिकाले काजकिरियाका लागि मृतकअनुसार २५÷२५ हजार उपलब्ध गराएको छ । अध्यक्ष बालाराम बुढाका अनुसार १५ हजार बराबरको खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडासमेत उपलब्ध गराइएको छ ।

सदरमुकाम लिबाङबाट मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि गौतमले घटनास्थल पुगेर सरकारको तर्पmबाट राहत हस्तान्तरण गरेका हुन् । प्रतिमृतक एक लाख दिने गरी हाल ३०÷३० हजार उपलब्ध गराइएको छ । होलेरीस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाले पनि भाँडाकुँडा, लत्ताकपडा, त्रिपाललगायत सामग्री उपलब्ध गराएको छ । रेडक्रसले होलेरी बजारमा राहत संकलन अभियानसमेत चलाइरहेको छ ।

विप्लव नेतृत्वको नेकपा माओवादीका विशेष जिल्ला पार्टी इन्चार्ज दलबहादुर खत्री ‘जागृति’ सहितको टोलीले पनि मृतक परिवारलाई १५ हजार सहयोग उपलब्ध गराएको छ । पीडित परिवार छिमेकीको घरमा किरिया बसेका छन् । परिवार र गाउँ शोकमा डुबेको छ । मृतक तीनै जनाको पोस्टमार्टमपश्चात् एकै ठाउँमा दाहसंस्कार गरिएको थियो ।

गाउँपालिका अध्यक्ष बुढामगरले सहयोग अभियान चलाएर भए पनि पुनर्वासको व्यवस्था गर्ने प्रतिबद्धता दिएका छन् । गाउँका अन्य घरसमेत जोखिममा रहेकाले स्थानीय त्रसित छन् । विपन्न समुदायको बस्ती रहेको गाउँका प्रायः पुराना घर माटोले बनेका छन् । राम्रो छानोसमेत नभएकाले पानी पर्नासाथ घर भत्किने खतरा रहेको स्थानीय बताउँछन् ।

मृतकलाई एक लाख

नेपालगन्ज : बाँकेमा सोमबार बाढीबाट मृत्यु भएकाहरूलाई जिल्ला विपद् व्यवस्थापन समितिले एक÷एक लाख रुपैयाँ दिने भएको छ । समितिका संयोजक तथा बाँके प्रजिअ रमेशकुमार केसीले केन्द्रीय विपद् व्यवस्थापन समितिको निर्णयअनुसार मृतकलाई जनही एक लाख रुपैयाँ दिने बताए ।

बैजनाथ गाउँपालिकाले भने प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेप्रति प्रतिव्यक्ति १० हजार रुपैयाँ दिने निर्णय गरेको छ । गाउँपालिका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर माझीले गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम प्रदान गरिने बताए । आइतबार र सोमबार परेको अविरल वर्षाले बैजनाथ गाउँपालिकामा दुई, कोहलपुर नगरपालिका र डुडुवा गाउँपालिकामा एक गरी चार जनाको मृत्यु भएको थियो ।

सतर्क होऔं ः प्रजिअ

यसैबीच मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गरी राप्ती किनारमा राप्ति सोनारी, डुडुवा र नरैनापुर गाउँबासीलाई जुनसुकै बेला पनि बाढीको खतरा रहेकाले सतर्क रहन आह्वान गरेको छ । प्रजिअ केसीले जारी गरेको विज्ञप्तिमा नदीले बगाएका दाउरा टिप्ने, नदीमा नुहाउन नहुने र बालबालिकालाई नदी किनारबाट टाढै राख्न आग्रह गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.