रूस विश्वकपमा चम्किएका युवा खेलाडी

रूस विश्वकपमा चम्किएका युवा खेलाडी

ऐरी मिना(कोलम्बिया)

रुस विश्वकपमा प्रिक्वार्टरफाइनल चरणको खेल सकिँदासम्म धेरै अपत्यारिला नतिजा आइसकेका छन् । उपाधि दाबेदार मानिएका केही ठूला टोली समूहगत चरण र केही प्रिक्वार्टरफाइनल चरणबाटै घर फर्किएका छन् ।

यस अवधिमा केही यस्ता युवा खेलाडी देखिए, जसले कम उमेर र विश्वकपको पहिलो सहभागितामै सशक्त प्रदर्शन गर्न सफल भए । यहीमध्येका खेलाडी हुन् कोलम्बियाका ऐरी मिना । २३ वर्ष पुगेका यी खेलाडीले समूहगत चरणको खेलमै आफ्नो गतिलो छाप छाड्न सफल भए । कम उमेरका बाबजुद ऐरी मिनाको खेल्ने पोजिसन पनि रक्षक हो । रक्षकमा खेलेर पनि जारी विश्वकपमा उनी टोलीका लागि महत्वपूर्ण गोल गर्न सफल भए । समूहगत चरणको पहिलो खेलमा जापानसँग पराजित भएपछि कोलम्बियालाई प्रिक्वार्टरफाइनल चरणमा स्थान सुरक्षित गर्न बाँकी रहेको दुई खेलमा कुनै पनि अवस्थामा जित अत्यावश्यक थियो । त्यसपछि दोस्रो खेलमा पोल्यान्डलाई ३-० ले पराजित गर्दा कोलम्बियाका लागि पहिलो गोल नै उनै मिनाले गरेका थिए ।

त्यसपछि अन्तिम खेलमा सेनेगललाई १-० गोलले पराजित गर्दै कोलम्बियाको अन्तिम १६ को यात्रा तय गर्दा उनै मिनाले निर्णायक गोल गरेका थिए । मंगलबार राति भएको इङ्ल्याण्डविरूद्ध प्रिक्वाटरफाइनल खेलमा पनि इङ्ल्याण्ड जितको नजिक पुगेको अवस्थामा खेल सकिन २ मिनेट छँदा कर्नर प्रहारलार्इ हेडमार्फत गोल गरी खेललार्इ अतिरिक्त समय हुँदै ट्राइब्रेकरसम्म पुर्याउन ऐरी मिना नै निर्णायक बने यद्यपी उनको टोली ट्राइब्रेकरमा इङ्ल्याण्डसँग पराजित भर्इ विश्वकपबाट बाहिरियो । 

 रक्षापंक्तिमा विपक्षी टोलीलाई गोलबाट रोकेर मात्रै हैन, गोल गरेर समेत उनी कोलम्बियालाई रुस विश्वकपमा बलियो उपस्थिति देखाउन सफल भए ।  दुवै खुट्टाले उत्तिकै कुशलताका साथ खेल्न सक्ने क्षमताका खेलाडी उनी रुस विश्वकपमा सहभागीमध्ये उत्कृष्ट युवा खेलाडीको सूचीमा अघि देखिए । सन् २०१६ देखि राष्ट्रिय टोलीबाट खेल्न थालेका मिनाले अहिलेसम्म १५ खेल खेल्दा ६ गोल गरिसकेका छन् ।

केलियन एम्बाप्पे (फ्रान्स)

रुस विश्वकपको उत्कृष्ट युवा खेलाडीको अवार्डका लागि बलियो दाबेदारमा देखिएका खेलाडी हुन्, केलियन एम्बाप्पे । भर्खर १९ वर्ष पुगेका एम्बाप्पेले प्रिक्वार्टरफाइनल चरणको खेलमा अर्जेन्टिनाविरुद्ध गरेको प्रदर्शनले उनलाई चर्चाको शिखरमा पुर्‍याएको छ । उनकै उत्कृष्ट प्रदर्शनमा दुई पटकको उपाधि विजेता लियोनल मेसीको टोली अर्जेन्टिना प्रिक्वार्टरफाइनलबाटै घर फर्किएको छ ।

फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोलले पराजित गर्दा टोलीका लागि दुई गोल उनै एम्बाप्पेले गरे । अर्काे एक गोल पनि उनकै कारणले सम्भव भएको थियो । डी बक्सभित्र उनलाई लडाएपछि प्राप्त पेनाल्टी अवसरमा एन्टोइन ग्रिजम्यानले टोलीलाई १-० ले अघि बढाएका थिए । त्यसपछि उनी एक्लैले दुई गोल थप्दा फ्रान्सले बलियो मानिएको अर्जेन्टिनालाई सहजै पराजित गरेको थियो । उनले समूहगत चरणका खेलमा समेत गोल गरेका छन् ।

फ्रान्सले समूहगत चरणको दोस्रो खेलमा पेरुविरुद्ध १-० को जित निकाल्दा पनि उनै एम्बाप्पेले निर्णायक गोल गरेका थिए । फुटबल कलासँगै बलसँगको तीव्र गतिका खेलाडी एम्बाप्पेलाई विश्वकप फुटबलको पहिलो सहभागितामै सर्वकालीन महान् फुटबलर पेलेसँग नै तुलना गर्न थालिएको छ । पेलेको स्तरमा पुग्न उनलाई यस्ता ठूला प्रतियोगितामा अझै सशक्त प्रदर्शन दिन आवश्यक छ ।

यद्यपि जारी विश्वकपमा उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गर्नका लागि भने उनलाई प्रिक्वार्टरफाइनल सम्मको खेलको प्रदर्शनले लगभग पर्याप्त देखिएको छ । टोलीका लागि तीन गोल गरिसकेका एम्बाप्पेले आगामी खेलमा अझै सशक्त प्रदर्शन गर्ने विश्वास गरिएको छ । त्यो प्रदर्शनसँगै उनको क्षमता र प्रख्यातिले थप नयाँ उचाइ लिनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.