आँसुमा डुबेका जापानी समर्थक जब स्टेडियमको फोहोर टिप्न थाले....
मस्को : रुस विश्वकपको पारो ह्वात्तै बढेको छ । प्रिक्वार्टरफाइनल चरणको नतिजापछि समर्थकको खुसी र रुवाबासीले पनि उत्तिकै चर्चा पाएको छ । प्रायः समर्थक टोलीको हारपछि निराश बन्दै स्टेडियमबाट बाहिरिएको दृश्य देखिन्छ । हारको पीडापछि दर्शकले पानीका बोतल र अन्य सामग्री मैदानमा फ्याँकेर आक्रोश पोखेको दृश्य पनि धेरै देख्न पाइन्छ ।
तर, रुसमा जारी विश्वकपमा सोमबार राति बेल्जियम र जापान बीचको खेलपछि जापानी समर्थकले विश्वकै ध्यान तान्ने अनुशासित काम गरे । बेल्जियमसँग ३-२ गोलको हारपछि निराश र चिन्तित देखिएका जापानी समर्थक रेफ्रीले खेल सकिएको सिट्ठी फुक्नासाथ रोस्तोभ एरेनाको फोहोर संकलन गर्न थाले । हारको पीडामा देखिएका जापानी समर्थक आँखाको आँसु पुछ्दै स्टेडियममा फ्याँकिएका फोहोर संकलन गर्नमा तल्लीन देखिन्थे ।
उक्त घटनापछि खेल बेल्जियमले जितेपछि मन जापानले जितेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत जापानको मुक्तकण्ठले प्रशंसा गरेका छन् । पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको नतिजा दोस्रो हाफमा उत्कर्षमा पुगेको थियो । संसारभरका फुटबल समर्थकलाई छिनछिनमा झस्काएको जापान र बेल्जियम बीचको नतिजामा जापानी समर्थक क्षणभरका खुसी र क्षणभरमै दुःखी हुनु स्वाभाविक थियो ।
आफ्नो टोली हारे पनि आँसुमा डुबेका जापानी समर्थकको आँखा स्टेडियमको फोहोरले तान्यो । उनीहरू पीडालाई भुल्दै फोहोर संकलन गर्न थाले । केही समर्थक प्लास्टिकको बोराभरि फोहोर संकलन गरेर बाहिर निस्किए । जापानी समर्थकले समूहगत चरणको खेलमा कोलम्बियालाई २-१ गोलले पराजित गरेपछि पनि स्टेडियममा रहेका फोहोर संकलन गरेका थिए ।
पीडामा वा खुसी जस्तोसुकै अवस्थामा पनि जापानीहरू आफ्नो कर्तव्य पूरा गर्न माहिर छन् । जापानी समर्थकले यसपटक मात्र होइन, सन् २०१४ को ब्राजिल विश्वकपमा पनि आफ्नो टोलीको खेलपछि स्टेडियमका फोहोर संकलन गरेका थिए । त्यसैले त जापानी टोली यसपटक ‘फेयर प्ले’ (अनुशासित) टोलीका रूपमा अन्तिम १६ मा पुग्न सफल भयो । समूहको उपविजेता बनेको जापानले समान चार अंक बनाएको सेनेगललाई दुईवटा पहेँलो कार्डले मात्र पछि पारेको थियो ।