काभानीको सहभागिता अन्योलमा
मस्को : अघिल्लो खेलमा घाइते भएका उरुग्वेका अनुभवी स्ट्राइकर एडिन्सन काभानीले फ्रान्सविरुद्घको क्वार्टरफाइनल खेल खेल्न सक्ने वा नसक्ने अझै अन्योलमा रहेको उरुग्वेले जनाएको छ । पोर्चुगलविरुद्घको प्रिक्वार्टरफाइनल खेलका क्रममा ३१ वर्षीय काभानीको पिँडुलामा समस्या देखिएको थियो । उक्त खेलमा विजयी हुँदै दुई पटकको विश्वकप विजेता उरुग्वे क्वार्टरफाइनलमा पुगेको थियो ।
काभानीको उपचारमा संलग्न चिकित्सकले उनको पिँडुला निकै सुन्निएको बताएका छन् । मांसपेशी नच्यातिए पनि पिँडुला अझै सुन्निएकाले क्वार्टरफाइनल खेलमा उनको सहभागिता अन्योलमै रहेको समाचारमा जनाइएको छ । उरुग्वेले आगामी शुक्रबार फ्रान्ससँग क्वार्टरफाइनल खेल खेल्ने कार्यक्रम छ ।
‘चिकित्सकले दिएको सुझाव गतिलो छैन । त्यसैले हामी अहिले पर्ख र हेरको अवस्थामा छौं’, उरुग्वेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्थितिमा तीव्र सुधार नआउने हो भने उनले क्वार्टरफाइनल खेल खेल्ने सम्भावना निकै कम छ ।’
जारी विश्वकपमा उरुग्वेलाई क्वार्टरफाइनलसम्म पु¥याउन काभानीको महŒवपूर्ण योगदान रहेको छ । उनले हालसम्म टोलीका लागि तीन गोल गरिसकेका छन् । पोर्चुगलविरुद्घको खेलमा पनि उनले दुई गोल गरेका थिए । यसैगरी समूहगत चरणको रुसविरुद्घको खेलमा पनि उनले एक गोल गरेका थिए । जारी विश्वकपमा समूहगत चरणका तीनवटै खेल जित्दै प्रिक्वार्टरफाइनलमा पुग्ने तीन टोलीमध्ये उरुग्वे पनि एक हो ।
काभानीको चोटले प्रशिक्षक ओस्कर टाबरेज पनि चिन्तामा परेका छन् । काभानी समयमै ठीक नभए उनको स्थानमा क्रिस्टिन स्टुआनीलाई खेलाउने संकेत पनि प्रशिक्षक टाबरेजले दिएका छन् ।