कैलालीका नदीमा डल्फिन
टीकापुर : कैलालीका मोहना, पथरैया र काँडा नदीमा विश्वमै दुर्लभ स्तनधारी ग्यांगेटिक प्रजातिका डल्फिन देखा पर्न थालेका छन्। असारदेखि असोजको महिनासम्म यी नदीहरुमा देखिने डल्फिन यस वर्ष असार महिनामै देखिएका हुन् ।
बुधबार बिहान मोहना र पथरैया नदीको दोभान, काँडा र पथरैया नदीको दोभान तथा पथरैया र गैरीनालाको दोभानमा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले बताए। तीनवटै ठाउँमा बच्चा र ठूला गरी झण्डै १५ भन्दा बढी डल्फिन देखिएको ढुंगानाले बताए।
वर्षा सुरु भएसँगै मोहना, पथरैया र काँडा नदीमा पानीको सतह बढेपछि डल्फिन देखा पर्ने गर्दछन् । कर्णाली नदीमा वर्षभरी रहने डल्फिन यी तीनवटा नदीमा भने असारदेखि असोज महिनासम्म देखा पर्छन्।
भारतको घाँघरा नदी हुँदै मोहना, पथरैया र काँडा नदीमा वर्षेनी वर्षाद्को समयमा डल्फिन आइपुग्ने स्थानीय बताउँछन् । विश्वबाटै दुलर्भ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि स्थानीय जुट्दै आएका छन्।
खाली आँखाले समेत नजिकै डल्फिन हेर्न सकिने हुनाले मोहना, पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न वर्षायाम विदेशी तथा नेपाली पर्यट आउने गरेको ढुङ्गानाले बताए।'सजिलै यी नदीहरुका दोभानमा डल्फिन नजिकैबाट हेर्न सकिन्छ, ढुंगानाले भने, 'यी नदीमा डल्फिन हेर्न नेपाली पर्यटक लगायत अमेरिका, इंगल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स, भारतबाट पर्यटक आउने गरेका छन् ।
'स्थानीयले मान्छा भन्दै मारेर खाने गरेको डल्फिनबारे २०५७ सालमा संरक्षणकर्मी भोजराज श्रेष्ठको पहलमा डल्फिन संरक्षणका लागि अभियान थालिएको थियो। डल्फिन अवलोकनका लागि टीकापुर नगरपालिका वडा नं. ७ वैदी ढुंगाना टोलमा भ्यु टावर समेत निर्माण गरिएको छ।