मलेसियाका पूर्वप्रधानमन्त्री रिहा
क्वालालम्पुर : मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा भएका छन् । उनलार्इ भ्रष्टाचार आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो । रजाकमाथि लागेको भ्रष्टाचार आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि उनलार्इ पक्राउ गरिएको रजाक अधिकारीहरूले बताएका थिए।
निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार अभियोग दर्ता गरिने भएको छ । भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा रजाकको सत्तारुढ गठबन्धन पराजित भएको थियो । उनको भ्रट्रचारको विषयलार्इ विपक्षी दलले चुनावी एजेण्डा बनाएका थिए ।
सोही कारण उनको दल निर्वाचनमा पराजित भएको थियो भने ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरेको थियो । मोहम्मद हाल प्रधानमन्त्री छन् । रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहेका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो ।
सत्ताबाट बाहिरिएको महिनादिन नपुग्दै रजाक भ्रष्टाचार काण्डमा तानिएका छन् । निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रजाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो ।
सरकारी लगानीको एक कम्पनीमा उनको सरकारले गरेको आर्थिक कारोबार अपारदर्शी देखिएको भन्दै रजाकमाथि प्रश्न उठाइएको छ।
रजाकलाई पक्राउ गर्नुभन्दा केही दिनअघि उनकी श्रीमती रोस्माह मन्सुर, छोरो रिज अजिज र उनका पूर्व सहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको थियो ।
रासस/एएफपी