क्यान्सर उपचारका लागि आर्थिक सहयोग
भक्तपुर : पाठेघरको मुखको क्यान्सर भएकी एचआईभी संक्रमित महिलालाई उपचार गर्न ७१ हजार नौसय ९० रुपैयाँ आर्थिक सहयोग मिलेको छ। भक्तपुरस्थित सुरुवात सामुदायिक उपचार तथा पुनस्थापना केन्द्रले ४७ वर्षीया एचआईभी संक्रमित महिलालाई बुधबार सहयोग रकम हस्तान्तरण गरेको हो।
सुरुवातका कार्यक्रम संयोजक पन्नोश शर्माले उनलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए। क्यान्सर उपचारको लागि भक्तपुर क्यान्सर अस्पतालमा भर्ना भएकी उनलाई राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र (एनसीएएससी) तथा राष्ट्रिय एचआईभी एड्स महासंघ नेपाल (एनएपीप्लसएन) को लक्षित समूह कार्यक्रमअन्तर्गत उक्त सहयोग गरिएको उनले जानकारी दिए।
उनका अनुसार संक्रमितको आर्थिक अवस्था कमजोर भएकाले क्यान्सर उपचार गर्न उक्त सहयोग गरिएको हो। सुरुवातले एचआईभी संक्रमितको लागि उपचार तथा पुनःस्थापनासँगै आयआर्जनको लागि काम गर्दै आएको छ। त्यस्तै एचआईभी भएका बालबालिकालाई मासिक एक हजार रुपैयाँ निर्वाह भत्ता (कावा) समेत सुरुवातले वितरण गर्दै आएको संस्थाक अध्यक्ष राजेश दिदियाले जानकारी दिए।
‘एचआईभी संक्रमितको औषधोपचार र पुनःस्थापना सँगैसँगै उनीहरुको आयआर्जनको लागि आधुनिक गोलभेंडा खेती गर्दै आएका छौं’, अध्यक्ष दिदियाले भने, ‘देशभरका संक्रमितलाई उक्त फार्ममा तालिम दिँदै आएका छौं। तालिमबाट व्यवसायिक खेती गर्नेहरुलाई बीउ पूँजीसमेत उपलब्ध गराउँदै आएका छौं।’
उनका अनुसार सुरुवातमा तालिम लिएर व्यवसायिक गोलभेंडा खेती गर्दैआएका कास्कीको पोखराकी एक संक्रमित महिलालाई यस वर्ष १५ हजार बीऊ पुँजी सहयोग गरिसकिएको छ।