चाँगु नगरका स्वास्थ्य चौकीमा न कर्मचारी न औषधि
भक्तपुर : चाँगुनारायण नगरपालिकामा सञ्चालित स्वास्थ्य चौकी एवम प्राथमिक उपचार केन्द्रहरु नागरिकको आवश्यकता र मागवमोजिम सेवा प्रवाह हुन नसकेको पाइएको छ । सेवा विस्तार गरी प्रभावकारी रुपमा स्वास्थ्य सेवा सञ्चालन हुन नसकेपछि सेवाग्राहीले गुनासो गरेका हुन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले सूचना अधिकार समाज भक्तपुरको सहजीकरणमा सञ्चालन गरेको सामाजिक परीक्षणका क्रममा चाँगुनारायण नगर क्षेत्रभित्रका १० वटा स्वास्थ्य संस्थाले सरकारले दिएको औषधि तथा सामान्य सेवामात्र प्रदान गरेको गुनासो गरेका हुन् । उनीहरुले नागरिकको आवश्यकता र मागका आधारमा स्वास्थ्य सेवा प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।
चाँगुनारायण नगरपालिका–१ दुवाकोटका माधवप्रसाद न्यौपानेले मातृ तथा बालबालिकाका लागि दिने खोप सेवा, परिवार नियोजन सेवा र सामान्य बहिरंग सेवा स्वास्थ्य संस्थाबाट उपलब्ध हुने गरे पनि स्वास्थ्य संस्थाले सेवा विस्तार गर्न नसकेको आरोप लगाए । उनले भने, ‘न स्वास्थ्यकर्मीहरु १० बजेदेखि ५ बजेसम्म कार्यालयमा भेट्न सकिन्छ न स्वयंसेविकाहरुलाई राज्यले उचित मुल्यांकन गरेको छ।'
नगरपालिका–३ का दधिराम गेलालले औषधी खरिद प्रक्रिया नै त्रुटिपूर्ण रहेको दाबी गरे । ‘म्याद गुज्रेका औषधी स्वास्थ्य चौकीसम्म आउने गरेका छन्’, उनले भने, ‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय बजेट बढाउनुपर्छ ।’ दुवाकोटका स्थानीय सोम प्रधानले पूर्ण खोपयुक्त जिल्ला घोषणा भए पनि घरधुरी खोप योजना र बालबालिकाको तथ्यांकमा अन्तर देखिएको बताए ।
छालिङकी जमुना थापाले स्वास्थ्य केन्द्रका भवन राम्रो भए तापनि वृद्ध र बौद्धिक अपाङ्गमैत्री संरचना नभएको गुनासो गरिन् । सरकारले तोकेको सामान्य मापदण्डका आधारमा स्वास्थ्य संस्था सञ्चालन भए पनि प्रसूति सेवा, डाक्टरको उपलब्धता र नियमित स्वास्थ्य सेवा प्रभावकारी नभएको सामाजिक परीक्षणको प्रतिवेदनले देखाएको छ ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले जनताको आवश्यकता र मागका आधारमा स्वास्थ्य सेवा प्रवाह हुनुपर्नेमा जोड दिए । उनले नगरपालिकाले आफ्नै स्वास्थ्य कार्यक्रमको क्यालेण्डर बनाएर सेवा प्रदान गर्नुपर्नेमा जोड दिए ।
नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सामाजिक परीक्षणमा उठेका विषयहरुको सम्बोधन गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका थिए । उनले सहरी स्वास्थ्य केन्द्रमा शौचालय र पानीको व्यवस्था दुई महिनाभित्र गरिसक्ने, सबै स्वास्थ्य चौकी र केन्द्रका स्वास्थ्यकर्मी १० देखि ५ बजेसम्म कार्यक्षत्रमै काम गर्ने वातावरण सिर्जना गर्ने पनि बताए ।
मिश्रले औषधी खरिद प्रक्रियामा समेत सुधार गरेर अघि बढाउने भन्दै आश्वासन दिए । समितिकी उपप्रमुख सरिता कुँवरले महिला स्वयमसेविकालाई सुविधा थप्नुपर्नेमा जोड दिइन् । उनले सामाजिक परीक्षणले पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बढाउनुपर्नेमा गम्भीर हुन आग्रह गरिन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख केवी चन्दले स्वास्थ्य चौकी र केन्द्रहरुमा कार्यरत स्वास्थ्यकर्मीले नागरिकको स्वास्थ्यको दायित्व जिम्मेवारपूर्ण ढंगबाट निर्वाह गर्नुपर्ने बताए ।