विश्वकप विश्लेषण : फरक शैली, नचिताएको नतिजा

विश्वकप विश्लेषण : फरक शैली, नचिताएको नतिजा

मस्को : प्रारम्भिक चरणमा रक्षात्मक खेल नीतिका कारण बलिया टोलीले भोग्नुपरेको दबाब, तुलनात्मक रूपमा कमजोर मानिएका टोलीहरूको लोभलाग्दो प्रदर्शन, साविक विजेतासँगै उपाधि दाबेदार मानिएका टोलीहरूको शीघ्र बहिर्गमन, अनि विश्व फुटबलमा स्थापित केही खेलाडीको अन्तिम सहभागिता र नयाँ पुस्ताको उदय।

प्रि–क्वार्टर फाइनल चरणका खेलहरूले बिट मार्दासम्म यिनै पक्षहरू रुसमा जारी विश्वकप फुटबलको २१औं संस्करणमा रोमाञ्च थप्ने र दर्शकलाई लोभ्याउने प्रमुख आधार बनेका छन्। कमजोर मानिएका टोलीहरूले आफ्नो अस्तित्व रक्षाका लागि समूहगत चरणका खेलमा बलिया टोलीविरुद्घ रक्षात्मक खेल नीतिको भरपूर प्रयोग गरे।

त्यसैको परिणाम हो, एकपछि अर्को अप्रत्याशित नतिजा आउने क्रम बढेपछि फुटबल पारखीदेखि लिएर स्थापित फुटबल पण्डितहरूसमेत नतिजाको पूर्वानुमान गर्न हच्किनुपर्ने स्थिति सिर्जना भयो। केही फुटबल विश्लेषकले त जारी विश्वकपमा रक्षात्मक खेल खेल्ने क्रम बढेपछि त्यसले फुटबलको वास्तविक स्वादलाई नै फिका बनाएको तर्कसमेत अघि सारेका छन्। उनीहरूले रक्षात्मक खेल नीतिलाई नकारात्मक फुटबल शैलीको संज्ञा पनि दिन भ्याए। मैदानमा स्वाभाविक खेल खेल्नुभन्दा आफूभन्दा बलिया टोलीलाई गोल गर्नबाट रोक्न रक्षापंक्तिलाई अभेद्य बनाउने शैलीका कारण फुटबलको वास्तविक मजा हराउने र त्यसले समर्थकलाई समेत निराश बनाउने उनीहरूको तर्क छ।

उसो त उद्घाटन खेलले नै जारी विश्वकपमा नचिताएको नतिजाको बाढी आउने संकेत गरिसकेको थियो। विश्वकप सुरु हुनुअघि गरेको निराशाजनक प्रदर्शनका कारण आफ्नै देशका राष्ट्रपति भ्लादिमिर पुटिनको समेत विश्वास जित्न नसकेको घरेलु टोली रुसले उद्घाटन खेलमै साउदी अरेबियालाई ५—० गोलको ठूलो अन्तरले हराएर धेरैलाई आश्चर्यमा पारेको थियो। अन्ततः एकपछि अर्को अविश्वासिलो प्रदर्शन गर्दै विश्वकपअघि कमजोर मानिएको घरेलु टोली क्वार्टर फाइनलमै पुगिसेकेको छ।

समूहगत चरणमा उपाधिको प्रबल दाबेदार मानिएको पूर्वविजेता स्पेन मोरक्कोसँग २—२ को बराबरीमा रोकिनु, क्रिस्टियानो रोनाल्डोको युरोकप विजेता टोली पोर्चुगललाई इरानले १—१ को बराबरीमा रोक्नु, दुई पटकको उपाधिधारी अर्जेन्टिना आफ्नो प्रारम्भिक खेलमै पहिलो पटक विश्वकपको अनुभव बटुलिरहेको आइसल्यान्डसँग १—१ को बराबरीमा रोकिनु, अनि दोस्रो खेलमा क्रोएसियासँग ३—० गोलले हार्दै बल्लतल्ल नकआउट चरणमा पुग्नु।

यसैगरी चार पटकको उपाधि विजेता जर्मनी आफ्नो पहिलो खेलमा मेक्सिकोसँग १—० र तेस्रो खेलमा तुलनात्मक रूपमा कमजोर मानिएको एसियाली प्रतिद्वन्द्वी दक्षिण कोरियासँग पराजित हुँदै समूहगत चरणबाटै घर फर्कनु।

समूहगत चरणमा निस्किएका यी केही यस्ता नतिजा हुन्, जसले विश्व फुटबलका एकदेखि अर्को धुरन्धरलाई समेत दाँतले औंला टोक्न बाध्य बनायो।

प्रतियोगिताको प्रि–क्वार्टर फाइनल खेल सकिँदासम्म त घर फर्कने टोलीको सूचीमा तीनवटा पूर्वविजेताको नाम थपिइसकेको छ। प्रि–क्वार्टर फाइनलमा फ्रान्ससँग ४—३ गोलले पराजित हुँदै लियोनल मेसीको टोली अर्जेन्टिना र आयोजक रुससँग पेनाल्टी सुटआउटमा हार्दै स्पेन पनि जर्मनीकै बाटोमा लागेका छन्। लुइस स्वारेज र एडिन्सन काभानीजस्ता अनुभवी खेलाडीको भरमा विश्वकप यात्रामा निस्किएको उरुग्वेले युरोकप विजेता पोर्चुगललाई पनि घरतिरको बाटो देखाइसकेको छ।

प्रि–क्वार्टर फाइनल चरणको समाप्तिपछि अब चारवटा पूर्वविजेता फ्रान्स, उरुग्वे, ब्राजिल र इङ्ल्यान्ड मात्र उपाधि होडमा बाँकी छन्। क्वार्टर फाइनलमा फ्रान्सले उरुग्वेको सामना गर्नुपर्ने भएकाले एउटा पूर्वविजेता सोही चरणबाट बाहिरिने निश्चित भइसकेको छ। क्वार्टर फाइनलमा बेल्जियमजस्तो बलियो प्रतिद्वन्द्वी पाएकाले पाँच पटकको उपाधिधारी ब्राजिलको अबको यात्रा पनि त्यति सहज देखिँदैन। सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको बेल्जियम समूहगत चरणमा तीनवटै खेल जित्ने केवल तीन टोलीमध्ये एक हो।

यसैगरी अन्तर्राष्ट्रिय फुटबलमा स्थापित केही प्रभावशाली खेलाडीको अन्यौलपूर्ण भविष्य र केही नयाँ खेलाडीको उदयका कारण पनि जारी विश्वकप चर्चित बनेको छ। बढ्दो उमेर र स्वास्थ्य अवस्थाका कारण केही चर्चित खेलाडीका लागि यो अन्तिम विश्वकप सहभागिता हुने पूर्वानुमान गरिएको थियो। सोहीअनुसार आफ्नो टोली बाहिरिए लगत्तै केही खेलाडीको सन्न्यासको क्रम पनि सुरु भइसकेको छ।

अर्जेन्टिना उपाधि होडबाट बाहिरिएलगत्तै ३४ वर्षीय डिफेन्डर जाभियर मास्चेरानोले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरिसकेका छन् भने स्पेनलाई विश्वकप र युरोकपको उपाधि जिताउने ३४ वर्षीय मिडफिल्डर आन्द्रेस इनिएस्टाले पनि आफ्नो टोली बाहिरिएलगत्तै राष्ट्रिय टोलीलाई ‘बाईबाई’ गरिसकेका छन्। यसैगरी आफ्नो टोली प्रि–क्वार्टर फाइनल चरणबाट बाहिरिएपछि जापानका ३२ वर्षीय मिडफिल्डर केइसुके होन्डा र ३४ वर्षीय मिडफिल्डर माकोतो हासेबेले पनि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास घोषणा गरेका छन्। जापानको हरेक सफलतामा यी दुई खेलाडीको महत्वपूर्ण साथ रहँदै आएको थियो।

विश्व फुटबलका दुई प्रभावशाली खेलाडी मेसी र रोनाल्डोका लागि समेत उमेरका हिसाबले यो अन्तिम विश्वकप भएको अनुमान गरिए पनि हालसम्म उनीहरूले यस्तो घोषणा गरेका छैनन्। सन् २०२२ मा कतार विश्वकप सुरु हुँदा मेसी ३५ र रोनाल्डो ३७ वर्ष पुग्नेछन्। हाल विभिन्न टोलीबाट विश्वकप खेलिरहेका अधिकांश चर्चित खेलाडीको उमेर ३५ वर्ष पुगिसक्ने भएकाले कतार विश्वकपमा समर्थकले यी धेरै अनुहार देख्न नपाउने पक्का छ। पुराना खेलाडीको निरन्तरको अन्यौलसँगै रुस विश्वकपबाट केही प्रतिभाशाली नयाँ खेलाडी उदाउने संकेत देखिएको छ।

फ्रान्सका १९ वर्षीय केलियन एमबाप्पे र २० वर्षीय ओसमान डेम्बेल, इङ्ल्यान्डका २२ वर्षीय डेल अली र २१ वर्षीय मार्कुस रासफोर्ड र ब्राजिलका २१ वर्षीय ग्याब्रियल जिसस त्यसैको उदाहरण हुन्। दुई चर्चित खेलाडी मेसी र रोनाल्डोको टोली उपाधि होडबाट बाहिरिइसकेको अवस्थामा यिनै खेलाडीले अब समर्थकको ध्यान आफूतर्फ तान्ने निश्चित छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.