लोकतन्त्रको गह्रुँगो भार
इच्छाद्वेष समुत्थेन द्वन्द्वमोहेन भारत।
सर्वभूतानि सम्मोहं सर्गे यन्ति परन्तप।।
अर्थात् ‘संसारमा इच्छा र द्वेषबाट उत्पन्न हुने सुख र दुःख द्वन्द्वरूपी मोहले प्राणीहरू अज्ञानता प्राप्त गरिरहेका छन्।’
श्रीमद्भागवत्गीताको यो उद्गारले वैयक्तिक इच्छा र द्वेषले मानिसलाई सुविचार र सत्कर्मदेखि टाढा पुर्याउँछ भन्ने ज्ञान दिलाएको छ।
भौतिक इच्छा, द्वेष र स्वार्थपरक चाहनामा फसेर मानिस भ्रमित हुन्छ। अधोगतितर्फ भासिन्छ। पूर्वीय दर्शनलाई राम्रोसँग अध्ययन गर्दा यसखाले निष्कर्षमा पुग्न त्यति कठिन छैन। अठार दिनसम्म चलेको महाभारत युद्धमा दुर्योधनका सैनिक जत्थाअगाडि युधिष्ठिरको समूह अत्यन्त सानो थियो, तर विजय युधिष्ठिरकै भयो। पुराणहरूमा दम्भी शासकहरूको क्षणभरमै दुःखद् अन्त्य भएको कथा पाइन्छ।
हिन्दु मान्यताअनुसार जनभावना बुझ्न सक्ने नेतृत्वलाई सफल मानिन्छ। जनता मालिक हुन्। आफ्नो मात्र सुख, सुविधामा लिप्त हुने नेतृत्व जनताबाट क्रमशः टाढिने गर्छ। यस्तो प्रवृत्तिले जनआकांक्षा उपेक्षित हुन्छ। अगुवाहरू स्वयं अभिमानी भए भने मानवीय मूल्यमै ह्रास आउँछ। समृद्धिको मार्गमा तगारो लाग्छ। राष्ट्र धराशायी हुँदै जान्छ।
वैदिककालदेखि आजसम्मका घटनाचक्र विवेचना गर्दा जहाँ नेतृत्वले जनभावना समेट्दै जान्छ, इच्छा र द्वेषको द्वन्द्वबाट आफूलाई पृथक् बनाउँछ, त्यस्तो नेतृत्वबाट मुलुक समृद्वि र विकासतर्फ रूपान्तरण भएको पाइन्छ। रामराज्यको उदाहरण हेरौं वा दोस्रो विश्वयुद्धपछिको जापानलाई हेरौं, दुवैले जनताका मनमा आफूलाई समाहित गराएको पाइन्छ।
जुन नेतृत्वले राष्ट्र र जनताका हितमा अर्जुनदृष्टि लगाई कर्म गर्छ, त्यस्तो मुलुकले चाँडो विकासको उचाइ हुन्छ। त्यहाँ सर्वसाधारणले सुखानुभूति प्राप्त गर्छन्। तर जुन शासक जनभावनाविपरीत जाने धृष्टता गर्छ, त्यहाँ विग्रह उत्पन्न हुन्छ। अशान्ति र अस्थिरताले डेरा जमाउन थाल्छ। उन्नतिको मार्ग अवरुद्ध हुन्छ। यो यथार्थ इतिहासले पटकपटक सिद्ध गरिसकेको छ। यसको अर्थ लोककल्याणकारी कार्यमा समर्पित हुनेले इच्छा राख्नु हुँदैन भन्ने होइन। तर महत्वाकांक्षा अति हुनु हुँदैन। अतिले खती गर्छ भन्ने उखानै छ। व्यक्तिगत हितमा मात्र महत्वाकांक्षालाई संकुचित बनाउनु हुँदैन।
युरोपका जर्मनी, फ्रान्स, अस्ट्रिया जस्ता तत्कालीन शक्ति राष्ट्रहरूमा व्यक्तिको अभिमानले तीव्र मनोमालिन्य उब्जियो। जर्मन चान्सलर विस्मार्कको दम्भी प्रवृत्ति एवं सम्राट् विलियम द्वितीयको संसारै मेरो हो भन्ने उग्र महत्वाकांक्षा थियो, जसका कारण प्रथम विश्वयुद्ध आइलाग्यो। पहिलो विश्वयुद्ध अन्त्य भएको दुई दशक नबित्दै दोस्रो विश्वयुद्ध भयो। जर्मनीलाई तह लगाउने उद्देश्यबाट भर्साइल सन्धि भएको थियो। त्यसैविरुद्ध रहेको जनभावना प्रयोग गरेर हिटलरको उदय भयो। उनले राष्ट्रसंघको निशस्त्रीकरण अभियानलाई महत्व दिएनन्। त्यसैले युरोपमा हतियारको प्रतिस्पर्धा जोडतोडले हुन थाल्यो। हिटलर सत्तासीन भएपछि सैन्यवाद हावी हुँदै गयो। यस्तै यावत् घटनाले विश्व मानचित्रमा अर्को दुःखद, विनाशकारी दोस्रो विश्वयुद्धको सामना संसारले गर्नुपर्यो।
त्यस प्रकारको दुष्परिणाम विश्वले भोगेपछि विकास र समृद्धिका लागि शान्तिको मार्ग अवलम्बन गर्नैपर्छ भन्ने भावना जागृत गरायो। यसलाई लोकतान्त्रिक प्रणालीबाट मात्र प्राप्त गर्न सकिन्छ भन्ने मान्यता पनि स्थापित भयो। लोकतन्त्रमा सबल एवं सक्षम नेतृत्व भएमा राष्ट्रले शीघ्र उचाइ छुन सक्छ। लोकतन्त्रलाई भीडतन्त्रमा रूपान्तरण गर्नु हुँदैन। विधि र प्रक्रियामा आधारित मर्यादित प्रणाली बनाइनुपर्छ।
भीडको टाउको गनेर जनमत मापन हुँदैन। भीडबाट जनमत हुँदो हो त राणाशासन, पञ्चायती पद्धति अद्यापि रहने थियो। ०६२–०६३ पछि माओवादीको शासन सत्ताले निन्तरता पाइरहन्थ्यो। विनाडर त्रास गोप्य मतद्वारा अभिव्यक्त हुने धारणा मात्र जनमत हो। आजसम्म योभन्दा उत्तम विधि प्रयोगमा आउन सकेको छैन। यस प्रकारको धरातलीय यथार्थलाई देशको बागडोर समाल्नेले बुझ्नुपर्छ। सुझबुझपूर्ण राजनीतिक नेतृत्वको यस मुलुकमा प्रायः अभाव खटकियो। दूरदृष्टि दिने, सही मार्ग देखाउन केही नेता नेपाली धरतीमा उदाएका पनि हुन्। तर उनीहरूका विचार फुल्न र फक्रिन दिइएन। तिनको अवसानपछि नेता भजाउने कार्यले तीव्रता पायो। समृद्धिका लागि स्रोतसाधन र शक्ति अपरिहार्य मानिन्छ। तर शक्ति प्रयोग देश र जनहितमा भएन। बरु वैयक्तिक इच्छा र द्वेषको द्वन्द्वमा मुलुकले बारम्बार झन्झट व्यहोर्नुपर्यो। यो क्रमले पूर्णविराम पाएको छैन। सात सालको उपलब्धि सत्र सालमा गुम्यो। छ्यालीसको परिवर्तन व्यक्तिको महत्वाकांक्षा एवं स्वार्थले हरण भयो। लोकतन्त्रमाथि प्रहार गर्नाले ज्ञानेन्द्र शाहले राजगद्दी त्याग्नुपर्यो। जति दम्भ पाले पनि जनसमर्थनविनाको शासन लामो समय टिक्न सक्दैन। त्यसको पतन अवश्यम्भावी छ। यहाँ पनि यस्तै भएको छ।
लोकतन्त्रमा सबल एवं सक्षम नेतृत्व भएमा राष्ट्रले शीघ्र उचाइ छुन सक्छ। लोकतन्त्रलाई भीडतन्त्रमा रूपान्तरण गर्नु हुँदैन। विधि र प्रक्रियामा आधारित मर्यादित प्रणाली बनाइनुपर्छ।
अहिलेको वाम सरकारले अधिनायकवाद लाद्न सक्ने आशंका व्यक्त गरिँदैछ। तर अधिनायकवाद ल्याउन त्यति सहज छैन। बरु सत्ताधारी दलसँग अहंकारको मात्रा बढेजस्तो महसुसचाहिँ हुन्छ। नेपाली जनताले अस्थिरताको विकल्प खोज्दा उनीहरूलाई मत दिएका हुन्। दलविशेषका लागि भन्दा पनि शान्ति र स्थिरताका लागि जनमत मुखरित भएको हो। यो यथार्थ स्विकार्न सक्नुपर्छ। आजको युग पारदर्शिताको हो। कसैले झुक्याएर शासन सत्ता टिकाउँछु भन्छ भने उसले नेपाली माटो अझै बुझेको छैन।
आज उन्नतिको शिखरमा पुगेका देश पनि विगतमा हाम्रो अवस्थाबाट गुज्रिएकै हुन्। तर त्यहाँ नेता सबल तथा सक्षम भएकाले प्रगतिको गोरेटो मूल बाटोमा रूपान्तरण भयो। अठारौं शताब्दीसम्म युरोपको राजनीतिक, सामाजिक अवस्था अन्योलपूर्ण थियो अझ भनौं, २०४६ सालपूर्वको नेपाली अवस्थाभन्दा विकराल थियो। त्यहाँ राजाका आसेपासेबाट जनता पीडित हुन्थे। पञ्चायती समयमा दरबार भजाइन्थ्यो। त्यहाँ पनि सामन्तहरूको जगजगी थियो। राजाको आडमा कुलिन वर्ग भनिनेहरूले अनेकौं अत्याचार गर्थे। जनताले आफ्नो जमिन पनि जुनेली रातमा जोत्नुपर्थ्यो। जंगली जनावरले बालीनाली खान्थे। त्यो धपाउने अधिकारबाट समेत वञ्चित गरिएको थियो जनतालाई।
युरोपेलीहरू त्यति चर्को अत्याचार खेपेरै आएका हुन्। बढी अत्याचार भयो भने विद्रोह पैदा हुन्छ। बौद्धिक जागरण अभियान सुरु हुन्छ। त्यहाँ त्यस्तै भयो। अन्धविश्वास हट्दै गयो। स्वतन्त्र चिन्तनको अवसर प्राप्त हुँदै गयो। विस्तारै परिवर्तनका स्वरहरू गुन्जिए। क्रमिक रूपमा विकासको बाटो समात्नाले आज युरोपको अवस्था यहाँसम्म आइपुगेको छ। यसर्थ कर्म नगरी फल आर्जन हुँदैन। देखेर, भोगेर, अनुभव सँगालेर भए पनि सिक्नुपर्ने हो। नेपाली नेतृत्व अझै सिक्ने छाँट देखाउँदैन भन्ने छाप जनतामा परेको छ। यसलाई जनसमक्ष प्रस्ट्ट्याउन सक्नुपर्छ।
अगुवाहरू सबल र सक्षम भइदिए राम्रो कामले गति पाउँछ। तर बोलेर मात्र नहुने रहेछ। कर्म गर्नुपर्ने रहेछ। यो तत्वबोध अब त हुनैपर्ने हो, तर भइरहेको छैन। भनिन्छ– सेवा र परोपकार नै असल राजनीति हो। नेतामा जनताप्रति सेवाभाव हुनुपर्छ। आफू र आफ्नाको मात्र भलो सोच्दा प्रगति गर्न सकिँदैन। अज्ञानतालाई जरैदेखि उखेल्न सक्नुपर्छ अनि सद्भावना जागृत हुन्छ। वैयक्तिक इच्छा र द्वेषको द्वन्द्वबाट अभिमान वीजारोपण भइदिन्छ। अभिमानले संहारको बाटो रोज्छ। सुविचार एवं सत्कर्मले निर्माण साकार तुल्याउँछ। यो यथार्थलाई घटना–परिघटनाले प्रमाणित गरिसकेको छ। यसकारण श्रीमद्भागवत् गीताको मार्गदर्शनलाई मनन गरौं।