माझी उत्थान कार्यक्रमको बजेटले भतेर
गोरखा : स्थानीय तहले लक्षित वर्गको कार्यक्रम अन्तर्गत माझी उत्थान कार्यक्रमको बजेट भोजभतेर गरेर खर्च गरेको पाइएको छ । गण्डकी गाउँपालिका ८ माझीटारका लागि विनियोजित ५५ हजार रुपैयाँले सुँगुर काटेर भोजभतेर गरिएको गाउँपालिकाका अध्यक्ष होमबहादुर रानाले जानकारी दिए ।
रकम भुक्तानीका लागि माझी उत्थान समितिका अध्यक्ष रमेश माझीले ५५ हजार रुपैयाँको बिल पेस गरेपछि सो रहस्य खुलेको गाउँपालिका अध्यक्ष रानाले बताए । अध्यक्ष माझीको साथमा वडा नं ८ का अध्यक्ष रामप्रसाद रेग्मी पनि बिल पास गराउन आएका उनले बताए । ‘भुक्तानी दिनुहोला भनेर वडा कार्यालयको सिफारिस सहितको बिल आएको थियो तर मैले पास नगरी फर्काइदिएँ’, अध्यक्ष रानाले भने, ‘माझी उत्थान भनेपछि त जनचेतना कार्यक्रम, तालिम आदि हुनुपर्ने सुँगुर काटेको, भोजभतेरको बिल पो आयो । भोज खुवाएर उत्थान हुन्छ ? त्यसैले मैले फर्काइदिएँ ।’
गाउँपालिकाले वडाको सिफरिस फिर्ता गरेपछि वडा कार्यालयले खर्चको शीर्षक परिवर्तन गरेको छ । माझी प्रशिक्षण कार्यक्रमको नाममा अर्को बिल बनाउने तयारी गरेको बताइएको छ । ‘माझी उत्थानको बजेटले भोज भतेर खुवाइएको होइन’, वडाअध्यक्ष रेग्मी भन्छन्, ‘भतेरको बिलमा गाउँपालिकाबाट पैसा लिएको भए पो त्यसो भन्न मिल्छ । हामीले सो शीर्षकको बिलको भुक्तानी नै लिएको छैन ।’ तालिम, प्रशिक्षण गरेर ५५ हजार रुपैयाँ खर्च गरिएको उनले बताए । वडा अध्यक्ष रेग्मीले माझीहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको भन्ने बिल बनाएर पेस गर्ने जनाए ।