टाइब्रेकरमा चम्किएका गोलरक्षक

टाइब्रेकरमा चम्किएका गोलरक्षक

इगोर अकिन्फिभ

रुस

फोटोः Goal.com

आयोजक रुस जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ। समूह ‘ए’को उपविजेताको हैसियतमा प्रिक्वार्टरफाइनल चरणमा पुगेको रुस सन् २०१० को उपाधि विजेता स्पेनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै अन्तिम आठमा पुगेको हो। टोलीको यो सफलतामा गोलरक्षक इगोर अकिन्फिभको योगदान निकै महत्वपूर्ण रह्यो। ९० मिनेट र त्यसपछि थप गरिएको ३० मिनेटको खेलमा समेत दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटमा रुसलाई जित दिलाउन उनै अकिन्फिभको प्रदर्शन निर्णायक बन्यो।

पेनाल्टी सुटआउटमा गोलरक्षक अकिन्फिभले स्पेनको दुई प्रहारलाई असफल बनाएका थिए। आफ्ना टोलीका चार खेलाडीले टाइब्रेकरमा गोल गर्दा अकिन्फिभले स्पेनको दुई प्रहार रोकिदिएपछि रुसले महत्वपूर्ण जित हात पारेको हो। अकिन्फिभले स्पेनका कोके र इयागो असपासको प्रहारलाई रोकेका थिए। सीधा प्रहार गरेका कोकेको प्रहारलाई सहजै नियन्त्रणमा लिएका अकिन्फिभले पाँचौं नम्बरमा आएका असपासको प्रहारलाई भने विपरीत दिशातर्फ लडिसकेको अवस्थामा पनि खुट्टाले असफल बनाइदिएका थिए।

त्यससँगै विश्वकपको फेरि अर्को उपाधि जित्ने स्पेनको योजनामा मात्रै असफल बनेन, रुस पनि प्रतियोगिताको अन्तिम आठमा पुग्यो। टोलीका अनुभवी र महत्वपूर्ण खेलाडीका रूपमा रहेका अकिन्फिभ सन् २००४ यता रुसी राष्ट्रिय टोलीबाट खेल्दै आइरहेका छन्। घरेलु टोली सीएसकेए मस्कोबाट व्यावसायिक फुटबल खेल्दै आएका ३२ वर्षीय अकिन्फिभले अहिलेसम्म रुसी राष्ट्रिय टोलीबाट एक सय १० खेल खेलेका छन्। उनले समूहगत चरणको खेलमा पनि विपक्षीका केही गतिला प्रहारलाई विफल बनाएका थिए।


ड्यानिजेल सुबासिच

क्रोएसिया

क्याप्टेन लुका मोर्डिक र गोलकिपर ड्यानियल जितको खुसीमा। फोटोः uprimetimefootball.com

जारी विश्वकपमा क्रोएसियाको कीर्तिमानी प्रदर्शनमा गोलरक्षक ड्यानियल सुबासिचको योगदान प्रशंसनीय छ। आफ्नो टोली क्रोएसियालाई क्वार्टरफाइनल चरणमा पुर्‍याउने क्रममा गरेको प्रदर्शनले गोलरक्षक सुबासिचलाई पनि ऐतिहासिक उपलब्धि दिलाएको छ। समूहगत चरणको खेलमा अर्जेन्टिना लगायतका बलिया टोलीलाई पराजित गरेको क्रोएसियाले प्रिक्वार्टरफाइनल चरणमा भने डेनमार्कसँग कडा प्रतिस्पर्धा गर्नु परेको थियो।

खेलको निर्धारित र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि हारजितको निर्णय पेनाल्टी सुटआउटबाट निकालिएको थियो। टाइब्रेकरमा सुबासिचले विश्वकप इतिहासमै उत्कृष्ट प्रदर्शन गरेपछि क्रोएसिया प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भयो। सुबासिचले टाइब्रेकरमा डेनमार्कका तीन प्रहारलाई असफल बनाएका थिए।

उनले डेनमार्कका अनुभवी खेलाडी क्रिस्टियन इरिक्सनसहित लस्से स्कोन र निकोलाई जोर्गेन्सनको प्रहारलाई असफल बनाएका थिए। त्यही प्रदर्शनपछि सुबासिच विश्वकप फुटबलको इतिहासमा प्रहार गरिएको टाइब्रेकरमा तीनवटा प्रहार रोक्ने दोस्रा खेलाडी बनेका छन्। यसअघि यस्तो कीर्तिमान पोर्चुगलका पूर्वगोलरक्षक रिकार्डोको नाममा थियो। रिकार्डोले सन् २००६ मा भएको विश्वकपको क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध तीनवटा प्रहार असफल बनाएका थिए।

त्यसको १२ वर्षपछि विश्वकपमा सुबासिचले रिकार्डाेको कीर्तिमानसँग बराबरी गरेका हुन्। उनले जारी विश्वकपको समूहगत चरणका खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका थिए। सन् २००९ देखि क्रोएसियाको राष्ट्रिय टोलीबाट खेल्न थालेका ३३ वर्षीय सुबासिचले ४१ खेल खेलेका छन्। उनी हाल फ्रान्सेली क्लब मोनाकोबाट व्यावसायिक फुटबल खेल्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.