फ्रान्स VS उरुग्वे : एमबाप्पेलाई रोक्न उरुग्वेको विशेष रणनीति
मस्को : रुसमा जारी २१औं संस्करणको विश्वकप फुटबलअन्तर्गत पहिलो क्वार्टरफाइनल खेलमा शुक्रबार उरुग्वेले फ्रान्सको सामना गर्दैछ। उरुग्वेको टोली पोर्चुगललाई र फ्रान्सेली टोली अर्जेन्टिनालाई पराजित गर्दै अन्तिम आठमा पुगेका हुन्। शुक्रबार साँझ हुने खेलमा फ्रान्सका युवा स्ट्राइकर केलियन एमबाप्पेलाई आफ्नो रक्षापंक्तिले रोक्ने दाबी उरुग्वेका स्टार लुइस स्वारेजले गरेका छन्।
रुसमा ट्रेनिङमा व्यस्त स्वारेजले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुराकानी गर्दै फ्रान्सका युवा खेलाडी एमबाप्पेलाई रोक्न उरुग्वेका रक्षापंक्तिले कुनै कसर बाँकी नराख्ने बताए। ‘हामी सबैलाई थाहा छ, एमबाप्पे राम्रा खेलाडी हुन्। तर, हामीसँग पनि उनलाई रोक्ने राम्रो रक्षापंक्ति भएको टिम छ’, स्वारेजले भने। उनले फ्रान्सका अन्य खेलाडीबाट भन्दा एमबाप्पेबाट उरुग्वेलाई सबैभन्दा धेरै खतरा रहेको स्वीकार गरे।
उनले टोलीका प्रमुख प्रशिक्षक ओस्कार तबरेजले पनि एमबाप्पे र एन्टोइन ग्रिजम्यानलाई रोक्न विशेष रणनीति बनाएको दाबी गरे। उनले ग्रिजम्यानलाई आधा उरुग्वेन भएको बताए। ‘ग्रिजम्यान आधा उरुग्वेन हुन्। किनभने उनले एट्लेटिको म्याड्रिडमा डियगो गोडिन र जोसे मारिया जिमेनेजसँगै खेलेका छन्। सँगै घुमेका छन् र सँगै खाएका पनि छन्’, स्वारेजले भने।
फ्रान्सले अर्जेन्टिनालाई प्रिक्वार्टरफाइनलमा ४–३ गोलले पराजित गर्दा १९ वर्षीय पेरिस सेन्ट जर्मनका युवा स्ट्राइकर एमबाम्पेले दुई गोल गरेका थिए। यसैगरी पहिलो पेनाल्टीको अवसर पनि एमबाप्पेकै कारण फ्रान्सले पाएको थियो। अर्जेन्टिनाका मार्कोस रोजाले एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो।
बार्सिलोनाका स्ट्राइकर स्वारेजले रुस विश्वकपमा अहिलेसम्म तीन गोल गरिसकेका छन्।