मोहना, पथरया र काँडा नदीमा डल्फिन देखिए
टीकापुर : कैलालीका मोहना, पथरैया र काँडा नदीमा विश्वमै दुर्लभ स्तनधारी ग्यांगेटिक प्रजातिका डल्फिन देखा पर्न थालेका छन् ।
असारदेखि असोजसम्म यी नदीमा देखिने डल्फिन यस वर्ष बुधबार देखिएका हुन् ।
मोहना र पथरैया नदीको दोभान, काँडा र पथरैया नदीको दोभान तथा पथरैया र गैरीनालाको दोभानमा डल्फिन बुधबार देखा परेको डल्फिन संरक्षण उपकेन्द्र ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले बताए ।
तीन वटै ठाउँमा बच्चा र ठूला गरी झन्डै १५ भन्दा बढी डल्फिन देखिएको ढुंगानाले बताए ।
वर्षा सुरु भएसँगै मोहना, पथरैया र काँडा नदीमा पानीको सतह बढेपछि डल्फिन देखा पर्ने गर्छन् । कर्णाली नदीमा वर्षभरि रहने डल्फिन यी तीन वटा नदीमा भने असारदेखि असोजसम्म देखा पर्छन् ।
भारतको घाँघरा नदी हुँदै मोहना, पथरैया र काँडा नदीमा बर्सेनि वर्षा याममा डल्फिन आइपुग्ने स्थानीय बताउँछन् ।
विश्वबाटै दुर्लभ मानिएको डल्फिन संरक्षणका लागि ०५७ सालदेखि स्थानीय जुट्दै आएका छन् । खाली आँखाले समेत नजिकै डल्फिन हेर्न सकिने हुनाले मोहना, पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न वर्षायाम विदेशी तथा नेपाली पर्यट आउने गरेको ढुंगानाले बताए ।
‘सजिलै यी नदीका दोभानमा डल्फिन नजिकैबाट हेर्न सकिन्छ’, ढुंगानाले भने, ‘यी नदीका डल्फिन हेर्न नेपाली पर्यटकलगायत अमेरिका, इंग्ल्यान्ड, थाइल्यान्ड, अस्टे«लिया, फ्रान्स, भारतबाट पर्यटक आउने गर्छन् ।’
स्थानीयले माछा भन्दै मारेर खाने गरेको डल्फिनबारे ०५७ सालमा संरक्षणकर्मी भोजराज श्रेष्ठको पहलमा डल्फिन संरक्षणका लागि अभियान थालिएको थियो ।
डल्फिन अवलोकनका लागि टीकापुर नगरपालिका–७ वैदी ढुंगाना टोलमा भ्यु टावरसमेत निर्माण गरिएको छ ।