सरकारविरुद्ध आक्रामक बन्दै कांग्रेस
काठमाडौं : प्रमुख प्रतिपक्षी दल कांग्रेस सरकारविरुद्ध सडकमा उत्रिएको छ । बुधबार संसदीय दलको बैठक बसेर सरकार लोकतान्त्रिक मूल्यमान्यता विपरीत हिँडेको आरोप लगाउँदै कांग्रेसले डा. गोविन्द केसी र गंगामाया अधिकारीको अनशनमा सर्मथन गर्ने निर्णय समेत गरेको छ ।
कांग्रेस संसदीय दलको बैठकले चिकित्सा शिक्षा सुधारका लागि जुम्लामा अनशनरत डा. केसीको अवस्था बुझ्न तीन सदस्यीय सांसदको टोली जुम्ला पठाउने निर्णय पनि गरेको छ । बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सांसद प्रकाश स्नेहीको नेतृत्वमा रंगमती शाही र दीनबन्धु श्रेष्ठलाई जुम्ला पठाएर डा. केसीको अवस्था बुझिने जानकारी दिए । त्यसैगरी वीर अस्पतालमा छोराको हत्यारालाई कारबाहीको माग राख्दै अनशन बसेकी गंगामाया अधिकारीको अवस्थाबारे पनि बुझ्न कांग्रेसले पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र देवप्रसाद तिमिल्सिनालाई खटाएको छ ।
बुधबार बसेको राष्ट्रिय सभाको बैठक पनि कांग्रेसले अवरोध गरेको थियो । त्यसपछि गृहमन्त्री रामबहादुर थापा संसद्मा उपस्थित भएर कांग्रेसले उठाएका प्रश्नको जवाफ दिएका थिए । राष्ट्रिय सभामा कांग्रेस सांसदले डा. केसी र अधिकारीको अनशन तथा सरकारले घोषणा गरेको निषेधित क्षेत्रबारे प्रश्न गरेका थिए ।
कांग्रेसका राष्ट्रिय सभा नेता सुरेन्द्र पाण्डेले सरकारले अनशन बस्न तथा प्रदर्शन रोक्नकै लागि निषेधित क्षेत्र घोषणा गर्दै जाने हो भने आफूहरूले संसद्भित्रै अनसन बस्ने चेतावनी समेत दिए ।
बुधबार दिउँसो कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा कांग्रेस कार्यकर्ताले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए । सो क्रममा पौडेल सहितका नेविसंघका नेताहरूले निषेधित क्षेत्र घोषणा तत्काल फिर्ता लिन सरकारसँग माग गरे ।
डा. केसी र अधिकारीको माग सम्बोधन तथा निषेधित क्षेत्र नहटाइएसम्म सडक आन्दोलन जारी राख्ने प्रदर्शनमा सहभागी नेताहरूले बताए । नेविसंघ पूर्वअध्यक्ष समेत रहेका नेता पौडेलले सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको शैलीमा अघि बढेको आरोप लगाए ।
मंगलबारै कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा बसेको शीर्ष नेताहरूको बैठकले सरकारविरुद्ध आक्रामक रूपमा उत्रने निर्णय गरेको थियो । नेताहरूले वर्तमान सरकारले गरेको मूल्यवृद्धिसहित डा. केसी र अधिकारीको अनशनलाई कांग्रेसले आफ्नो एजेन्डा बनाउनुपर्नेमा जोड दिएका थिए ।
डा. केसी र गंगामायाको अनशनमा समर्थन, निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रर्दशन
आइतबारयता कांग्रेसका उच्च नेताहरूले वीर अस्पताल पुगेर अधिकारीलाई भेटेका छन् । नेताहरू रामचन्द्र पौडेल, शेखर कोइराला, अर्जुननरसिंह केसी, एनपी साउद, चन्द्र भण्डारीलगायतकाले गंगामायालाई भेटेका हुन् ।
कांग्रेसले बिहीबार नै तीन सदस्यीय टोलीलाई जुम्ला पठाउने प्रमुख सचेतक खाँणले बताए । बुधबारको बैठकलगत्तै सो टोलीले पार्टी निर्णयको पत्र बुझिसकेका छन् ।
संसदमा कांग्रेस प्रतिपक्षीको भूमिकामा राम्ररी उभिन नसकेको भन्दै आलोचना हुन थालेको बेला बुधबारदेखि कांग्रेस सडक र सदन दुवैमा आक्रामक रूपमा प्रस्तुत भएको हो । मंगलबारको शीर्ष बैठकले रणनीति तयार गरेपछि कांग्रेस आक्रामक देखिएको हो ।
सरकार अधिनायकवाद र सर्वसत्तावादको बाटोमा अग्रसर रहेको आरोप लगाउँदै कांग्रेस नेताहरूले सत्ताधारी दल संसदीय व्यवस्थामा प्रतिपक्षीको भूमिकालाई समेत कामजोर बनाउन उद्धत रहेको आरोप लगाएका छन् । मंगलबारको शीर्ष नेताको बैठक तथा बुधबारको संसदीय दलको बैठकमा कांग्रेस नेताहरूले संसदीय अभ्यास अनुसार सत्तारुढ दलले आफ्नो पार्टीलाई संसदीय समिति, सभामुख वा उपसभामुखजस्ता पदमा भागबण्डा नदिएको निष्कर्ष निकालेको हुन् । बुुधबारको संसदीय दलको बैठकपछि प्रमुख सचेतक खाणले भने, ‘यी सबै विषयमा सत्तापक्षसँग गम्भीरतापूर्वक कुरा गर्ने सोच हामीले बनाएका छौँ ।’