आमा (९२) द्वारा छोरा (७२) को गोली हानी हत्या
काठमाडौं : अमेरिकामा एउटा अचम्मको घटना घटेको छ। संयुक्त राज्य अमेरिकाको म्यारीकोपाको फाउन्टेन सहरमा एक ९२ वर्षीया आमाले ७२ वर्षीय छोरालाई गोली हानी हत्या गरेकी छन्।
प्रहरीका अनुसार छोराले आमालाई जबरजस्ती वृद्धाश्रम पठाउन खोजेपछि आक्रोशित बनेकी आमाले छोरालाई गोली हानी हत्या गरेकी हुन्। अमेरिकाको म्यारीकोपाको फाउन्टेन सहरमा जुलाई २ मा उक्त घटना घटेको हो।
छोराको हत्या गरेकी अन्ना मे ब्लिसिङले भनेकी छन्, 'छोराले मेरो जिन्दगी बर्बाद गर्न खोजेपछि मैले पनि उसको जीवन खतम गरेकी हुँ।'
घरमा अन्ना, उनका छोरा र छोराकी प्रेमीका बस्दै आएका थिए। उनले छोराको हत्या गरी आफूले पनि आत्महत्या गर्न खोजेको प्रहरीलाई उद्धत गर्दै बीबीसीले जनाएको छ।
समाचारमा जनाइएअनुसार अन्नाका छोरा आमासँग बस्न चाहँदैनथे। उनको चाहना थियो, आमाले घर छोडेर वृद्धाश्रम गइदिउन्। उनी आमासँग आजित भएको पनि समाचारमा जनाइएको छ।
प्रहरीका अनुसार घटनाको दिन अन्ना कम्मरमा दुईवटा पेस्तोल बोकेर छोराको कोठामा गएकी थिइन्। विवाद सुरु भएपछि अन्नाले पेस्तोल निकालिइन् र सिधै छोरामाथि प्रहर गरिन्। घाँटीमा गोली लागेका छोराको घटनास्थलमै मृत्यु भयो।
प्रहरी घटनास्थल पुग्दा छोराको मृत्यु भइसकेको थियो। छोराको हत्या पछि अन्नाले छोराकी ५७ वर्षीया प्रेमीकालाई पनि गोली हान्न खोजेकी थिइन्। तर पेस्तोल कोठाको कुनामा खसेपछि उनी भने बाँच्न सफल भइन्।
त्यसपछि अन्नाले दोस्रो पेस्तोल झिकिन्। उनले उक्त पेस्तोल १९७० मा आफ्ना श्रीमानले आफूलाई दिएको प्रहरीलाई बताएकी छन्।
मृत छोराकी प्रेमिकाले प्रहरीलाई खबर गरेपछि उक्त घटना बाहिर आएको हो। उनले आफ्ना प्रेमीको हत्या गर्ने वृद्धालाई कारबाही गर्न प्रहरीसमक्ष माग गरेका छन्।
प्रहरीले हत्याको आरोपमा मुद्दा दर्ता भइसकेको बताएको समाचारमा जनाइएको छ। त्यहाँको अदालतले ९२ वर्षीय वृद्धासँग पाँच लाख डलर धरौटी मागेको छ।