डाक्टर केसीलाई सुर्खेतका चिकित्सकको ऐक्यबद्धता
सुर्खेतः गत शनिबारदेखि जुम्लामा अनशनरत प्राध्यापक डा. गोविन्द केसीका मागप्रति नेपाल चिकित्सक संघ सुर्खेत शाखाले ऐक्यबद्धता जनाएको छ । डा. केसीको पक्षमा दुई दिनदेखि कालो पट्टी बाँधेर काम गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँका चिकित्सकहरुले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका हुन् ।
विज्ञप्तिमाफर्त चिकित्सहरुले डा. केसीको जिवनरक्षाका गर्न सरकारसँग माग गरेका छन् । ‘विगत ६ दिनदेखि गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवाको मागसहित जुम्लामा अनसनरत प्रा.डा. केसीको स्वास्थ्यमा प्रतिकूल असर देखा पर्दै गएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘कुनै पनि समय अप्रिय घटना हुनेतर्फ सचेत रहँदै सरकारलाई अविलम्ब समस्याको समाधान गरी केसीको जीवन रक्षा गर्न संघ जोडदार माग गर्दछौँ ।’
डा. केसीका जायज मागप्रति ऐक्यवद्धता जाहेर गर्दै जीवन रक्षार्थ नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको समन्वयमा अझै कडा आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमार्फत दिइएको छ ।