सलबलाउँदै चिनियाँ सुन तस्कर
काठमाडौं : ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति तथा उनीहरूलाई सघाउने प्रहरी अधिकारी धमाधम पक्राउ परेपछि केही हच्किएका सुन तस्कर फेरि सलबलाउन थालेका छन्। सुन तस्करी प्रकरण छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उस्चस्तरीय समितिले केही समययता तस्करीमा सम्लग्नलाई धमाधम पक्राउ गरी मुद्दा चलाए पछि तस्करीको जालो तोडिने आश गरिए पनि यो रोकिएको छैन।
काठमाडौं प्रहरीले अघिल्लो शनिबार र आइतबार दुई दिनमा नौ किलो काँचो सुन नागढुंगाबाट बरामद गर्यो। महानगरीय प्रहरी प्रभाग नागढुंगाको दुई दिनको प्रयास पछि यो सुन बरामद गरिएको हो।
विमानस्थलमा सुरक्षा कडाईपछि सुन तस्करले रसुवाको केरुङ नाकालाई प्रयोग गर्न थालेका छन्। केरुङ नाकाबाट मात्रै १० महिनाको अन्तरालतमा एक सय ३५ किलो सुन प्रहरीले बरामद गरिसकेको छ। सिन्धुपाल्चोक मार्मिङका तेन्जिङ तामाङ केरुङबाट सुन ल्याउँदै गर्दा आइतबार पक्राउ परे। उनले सुन घुसाउन मिल्ने पेटी बनाई ६ वटा सुनका विस्कुट (प्रति विस्कुट एक किलो) ल्याएका थिए।
नागढुंगामा मोटरसाइकलमा सवार व्यक्तिमाथि प्रहरीले सुरक्षाजाँच गर्दैन। विशेष सूचनाका आधारमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको हो।महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार काठमाडौंमा चिनियाँ सुन तस्कर सलबलाउन थालेको सूचना पाएपछि सुरक्षा जाँचमा कडाइ गरिएको छ।
सुरक्षा जाँचमा कडाइ गरिएकै कारण दुई दिनमा नौ किलो सुन बरामद भएको उनले जानकारी दिए। तातोपानी नाका बन्द भएपछि तामाङ सुन ल्याउनकै लागि रसुवागढीको बाटो प्रयोग गर्न थालेका हुन्। प्रहरीले पक्राउ गरेका तामाङले रोमिङ सुविधाको चाइनिज फोन बोक्दै आएका थिए।
एक पटक काठमाडौंमा सुन ल्याइदिएबापत् उनले ५० हजार रुपैयाँ लिने गरेका थिए।
तामाङले आफूलाई सुन दिने व्यक्तिको नाम प्रहरीलाई खुलाएका छन्। तर चिनियाँ तस्करले केरुङमै सेटिङ मिलाएर सुन पठाएपछि स्वदेश फर्कने हुँदा उनीहरू हतपत पक्राउबाट जोगिँदै आएका छन्। यसअघि महानगरीय प्रहरी अपराध महाशाखाले केरुङ नाका हुँदै काठमाडौं भित्रिएको ८८ किलो सुन राजधानीका क्षेत्रपाटीबाट बरामद गरेको थियो। मुख्य चिनियाँ तस्कर पान विइ मिङ अझै फरार छन्।
केही दिन अघि गृहमन्त्री रामबहादुर थापाले चिनियाँ राजदुत यु होङसँगको भेटमा नेपालमा चिनियाँ तस्करहरू सक्रिय रहेको जनाउ दिएका थिए। होङले गृहमन्त्रीबाटै यस्तो आरोप खेपेपछि आफ्नो सरकारलाई ध्यानाकर्षण गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन्। काठमाडौं भित्र्याइएको तस्करीको सुनको मुख्य गन्तब्य भारतको विशालबजार नै हो।