हिमालय कार्गोमा सिल
काठमाडौं : राजस्व अपचलनको अभियोगमा हिमालयन कार्गोको कार्यालय र गोदाममा सिल गरिएको छ। राजस्व अनुसन्धान विभागले कार्गोको कुलेश्वरस्थित कार्यालय र सीतापाइलामा रहेको गोदाममा बुधबार सिल गरेको हो।
विभागका महानिर्देशक दीर्घराज मैनालीले कार्गो सञ्चालक विनोद गुप्तालाई समेत नियन्त्रणमा लिइएको बताए। उनले भने,‘उनलाई अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ।’
नेपालगन्जबाट जेठ २७ गते नोभा ब्रान्डको घिउ र पाउडर दूध बोकेको ट्रक काठमाडौं आएको थियो। सरकारलाई बुझाउनुपर्ने कुनै पनि कर नतिरी नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाएर सामान ल्याउने ट्रकका सवारीचालक पनि हिरासतमा राखिएको मैनालीले बताए।
नक्कली भ्याट बिल बनाउने, नक्कली फर्म खडा गर्ने, भन्सार महसुल नतिरी भन्सारबाट सामान बोकेको गाडी पास गराउने देखिएको छ’, उनले भने ‘राजस्व चुवावट भएको तथा राजस्व छल्ने काम गरेको आधारमा कार्यालय र गोदाममा छापा मारेका हौं।’
अनुसन्धानका लागि म्याद थप भएको छ। अनुसन्धान जारी छ। ४५ दिनसम्म अदालतको आदेशमा हिरासतमा राख्न सक्ने व्यवस्था भए पनि छिटो अनुसन्धान गर्ने प्रक्रिया हामीले अघि बढाएका छौं।
भ्याटमा कारोबार शून्य देखाएर सामान आयात गर्ने, नक्कली प्रज्ञापनपत्र बनाएर भन्सारबाट सामान निकाल्ने, भ्याटको नक्कली बिल बनाएर काठमाडौंसम्म सामान लिएर आउने प्रमाण फेला परेका छन्। राजस्व छल्नलाई विभिन्न किसिमका कीर्ते प्रपन्च रचिएको मैनालीले बताए। गम्भीर अनुसन्धान भइरहेको छ। विगो करोडौंमा छ। यसका हागाँविगा धेरै फैलिएका हुनसक्ने भएकाले अनुसन्धान गर्न यतिनै दिन लाग्छ भन्न सक्ने अवस्था छैन’, उनले भने।
यो गम्भीर ढंगबाट गरिएको भन्सार तस्करीको अर्को नमुना हो। अहिलेसम्मको अनुसन्धानले नक्कली फर्म खडा गरेर काम आफैले गरेको बुझिएको छ। राजस्व चुहावटमा क–कसको संलग्नता छ भन्ने अनुसन्धान हुन अझै बाँकी छ। विभागका निर्देशकको संयोजनकत्वमा टोली बनाएर अनुसन्धान सुरु गरिएको छ।