अमेरिकी विदेशमन्त्री उत्तर कोरियामा
सोल : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बिहीबार उत्तर कोरियाको राजधानी प्योङयाङ आइपुगेका छन् । उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताका लागि उनी प्योङयाङ आएको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको छ ।
विदेशमन्त्री पोम्पेओले उत्तर कोरियाले यसअघि प्रतिबद्धता व्यक्त गरेको निःशस्त्रीकरण विषयमा अन्तिम चरणको वार्ता गर्नेछन् । अमेरिकी वरिष्ठ कूटनीतिज्ञ पोम्पेओसँग अमेरिकी विदेश मन्त्रालयका अन्य उच्च अधिकारी पनि साथमा रहेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमबीच गत महिना सिंगापुरमा ऐतिहासिक शिखर वार्ता भएको थियो । त्यस बेलादेखि नै राष्ट्रपति ट्रम्प उत्तर कोरियाका तर्फबाट बारम्बार आउने गरेको आणविक युद्धको चेतावनीको अन्त्य भएको बताएको छ । त्यस वार्तापछि उत्तर कोरियाली प्रायद्वीपमा शान्तिको आशा बढेको विश्वास गरिएको छ । यस वार्ताका क्रममा उत्तर कोरियाले प्रतिबद्धता व्यक्त गरेको पूर्ण निःशस्त्रीकरणका लागि उत्तर कोरियाले काम शुरु गरिसकेको पनि उसको दाबी छ । सिंगापुरमा दुई नेताबीच भएको शिखर वार्तापछि सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको थियो ।
सोही सम्झौतापत्रअनुरूप कोरियाली प्रायद्वीपमा पूर्ण निःशस्त्रीकरणको उद्देश्य प्राप्त गर्नका लागि अमेरिकी विदेशमन्त्रीको नेतृत्वमा उच्च अधिकारी यहाँ आइपुगेका हुन् । वासिङटनले कोरियाली प्रायद्वीपमा पूर्ण निःशस्त्रीकरणको काम बढीमा एक वर्षभित्र पूरा हुने आशा गरेको बताउँदै आएको छ । कैयौँ अमेरिकी विज्ञ, उत्तर कोरियालाई नजिकबाट हेरिरहेका केही अधिकारी र राष्ट्रपति ट्रम्पका आलोचकले भने किमले गरेको प्रतिबद्धतामा कुनै अर्थ नरहेको आरोप लगाउने गरेका छन् ।
कोरियाली प्रायद्वीपमा यो उद्देश्य पूरा हुन कैयौँ वर्ष लाग्ने उनीहरूको दाबी छ । राजधानी प्योङयाङमा शुक्रबार बिहान कोरियाली प्रायद्वीपमा पूर्ण निरस्त्रीकरणको विषयमा विदेशमन्त्री पोम्पेओ र उनका उत्तर कोरियाली समकक्षीबीच वार्ता हुने कार्यक्रम छ । त्यसपछि विदेशमन्त्री पोम्पेओ जापान र दक्षिण कोरिया पनि जाने कार्यक्रम छ । उनले जापान र दक्षिण कोरियाली समकक्षीसँग पनि यसै विषयमा भेटवार्ता गर्नेछन् ।
जंगली रोग नियन्त्रण गर्ने सम्झौता
दक्षिण कोरिया र उत्तर कोरियाले विभिन्न रोगको नियन्त्रण संयुक्त रूपमा गर्ने सम्झौता गरेका छन् । दुई कोरियाको सीमा क्षेत्रमा रहेका जंगलहरूबाट फैलिने महामारी तथा घातक रोग नियन्त्रणका लागि संयुक्त रुपबाट काम गर्ने सम्झौता गरेको उत्तर कोरियाले जनाएको छ । उत्तर कोरियाको एकीकरण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार दुई देशका प्रतिनिधि सम्मिलित उच्चस्तरीय कार्यदलको बैठकपछि यो सम्झौता भएको हो ।
दुवै पक्षका प्रतिनिधिहरूको संयुक्त बैठक सिमानामा पर्ने दक्षिण कोरियाको पानमुनजोममा रहेको शान्ति गृहमा बुधबार भएको थियो । संयुक्त वक्तव्यमा दुवै कोरियाले सीमा क्षेत्रमा हुने रोगको प्रकोप नियन्त्रण गर्न संयुक्त रूपमा काम गर्ने उल्लेख छ ।
उनीहरूले वन संरक्षणका लागि छलफल कार्यक्रम गर्ने, विरुवाका लागि नर्सरी र कृषि वन बनाउने तथा वनमा हुने आगलागी र भूक्षय नियन्त्रणका लागि काम गर्ने सम्झौतामा उल्लेख छ । वनसम्बन्धी विज्ञान र प्रविधिको क्षेत्रमा भएका विकासलाई मिलेर उपयोग गर्ने दुई कोरियाको तयारी छ ।