लतासँग गाउने धोको अधुरो
सिन्धुपाल्चोकको चौतारा हो मेरो जन्मथलो। मेरा बुवा रत्नध्वज प्रधान र आमा प्राणदेवीको प्रेमविवाह हो। तर, पनि म ६ वर्ष नहुँदै उहाँहरूको सम्बन्ध टुटिसकेको थियो। बुबाले म ६ महिना हुँदै कान्छीआमा भित्र्याई सक्नुभएको थियो। आमाले २००१ सालमै जुद्धशमशेरसँग बिन्ती गरेर बाबुसँग पारपाचुके लिनुभएको थियो। आमासँग एक्लै बस्दा म बिग्रन सक्छु भनेर मलाई बाबुसँगै राख्ने निर्णय भयो। बाबुको पनि पसलमा काम गर्ने मान्छे नभएकाले छोरा राख्न पाउँदा उहाँहरू खुसी हुनुभयो। नगल बाङ्गेमुडामै बाजेकै पालामा किनेको घरमा म बुवासँग बस्थेँ भने आमा विश्वज्योति पछाडिको एउटा घरमा बहालमा बस्नुहुन्थ्यो।
२००७ सालमै आमाले पनि रेडियोमा गाउनुहुन्थ्यो। उहाँले रेडियोमा सात महिनासम्म उस्ताद भैरवबहादुर थापा र आफ्नै संगीतमा धेरै गीत गाउनुभएको थियो। त्यसैले, गीत संगीतमा मेरो रुचि आमाकै कारणले बसेको हो। २००९ सालमा रेडियोमा स्वर परीक्षा पास गरेँ।
त्यतिबेला मनोरञ्जनका लागि कुनै माध्यम थिएनन्। त्यसैले हामीले एउटा सांगीतिक समूह बनायौं। त्यसमा नारायणगोपाल, माणिक रत्न, रत्नमानलगायत थिए। पसले साथी लक्ष्मी श्रेष्ठको घरमा रेडियो थियो। त्यहीँ गएर हामी गीत सुन्ने र भाडामा माइक ल्याएर त्यसमा गाउने प्रयास पनि गथ्र्यौं। त्यतिबेला नेपाली गीत सुन्न पाइन्न थियो। हाम्रो समूहमा गीतकै विषयमा गफ हुन्थ्यो। हाल फ्रान्समा रहेका चर्चित सितारवादक नरेन्द्र बाटाजू पनि हाम्रै समूहका सदस्य थिए।
विद्यालयमा नाम फेरियो
आठ वर्षको उमेरमा कखरा सिकेपछि विश्व निकेतनमा कक्षा १ मा भर्ना भएँ। यही विद्यालयमा मेरो नाम पनि बदलियोे। त्यहाँका हेडमास्टर प्रेमबहादुर श्रेष्ठले मेरो नाम गणेशध्वजभन्दा प्रेमध्वज राम्रो हुन्छ भनेर यो नाम राखिदिए। त्यसपछि केही कक्षा शान्ति निकुञ्जमा पनि पढेँ। बुबाको पसलमा बस्नुपर्ने भएकाले दिउँसोको समय मैले पढ्न भ्याइनँ। त्यसैले दरबार हाइस्कुलको भवनमा रहेको रात्रिकालीन प्रौढ शिक्षा निकेतनमा कक्षा ७ देखि १० सम्म पढेँ।
सन् १९५५ मै मैले भारतको बम्बई र दिल्ली घुम्ने मौका पाएँ। विद्यालयमै छँदा न्युरोडका दुई जना साहुजीले मलाई उता लगेका थिए। त्यतिबेला बम्बईको एउटा हलमा हेरेको फिल्म ‘हातिम ताइकी बेटी’ मैले अझै बिर्सेको छैन। उता बस्ने नेपालीले हिन्दी र अंग्रेजी दुवै भाषा फरर बोलेका देखेर मलाई पनि अझै धेरै पढ्नुपर्छ भन्ने लाग्यो र यता फर्केर पद्मोदय स्कुलमा भर्ना भई २०१३ सालमा एसएलसी पास गरेँ। आईएस्सी पढ्दा हैजा लागेर झन्डै बितेको थिएँ। बिरामी भएर आमाकहाँ बस्दा दुई महिनासम्म पनि घरबाट कोही हेर्न आएन। त्यसपछि मलाई दुःख गरेर किन पढ्नु बरु जागिर खाएर आमालाई पाल्छु भन्ने लाग्यो।
अमेरिकी लाइब्रेरीमा ३३ वर्ष
त्यतिबेला रेडियो नेपालमा नातिकाजी दाइ, तारादेवी सबैको तलब सय रुपैयाँ थियो। तर मैले पचास रुपैयाँ भए पनि बस्छु भन्दा पनि काम पाइनँ। मलाई अंग्रेजी नेपाली दुवै टाइप गर्न आउने भएकाले अमेरिकी लाइब्रेरीमा प्रयास गरेँ। त्यहाँ काम छैन भन्ने बुझे पनि मैले काम सिक्नलाई बिना तलब महिना दिन जति काम गरेँ। तीन महिना पर्खें। बोलाएनन्। रेडियोमा गाउँदा एउटा गीतको १० रुपैयाँ दिन्थे। अलिअलि गर्जो त टरेको थियो।
जागिरको लागि दिल्ली, बम्बे जाने कि भन्ने मुडमा थिएँ। त्यसको लागि बसको टिकट बुझेर घर फर्केकै दिन आमाले लाइब्रेरीबाट बोलाएको बताउनुभयो। सन् १९५९ डिसेम्बरदेखि अमेरिकी लाइब्रेरीमा जागिरे भए। काम सेक्रेटेरियल भए पनि दिनको पाँच मोहर आईसी पाइन्थ्यो। यसको चार महिनापछि त मलाई रेडियो नेपालबाट पनि डाक्न पठाइयो। तर मलाई उता जान मन लागेन। अमेरिकी लाइब्रेरीमा ३३ वर्ष काम गरेँ। जीवनको स्वर्णिम समय त्यतै बित्यो र कल्चरल एसिस्टेन्ट पदबाट रिटायर भएँ। टाइपमा गल्ती नगर्ने भएकाले जुन विभागमा गए पनि महŒवपूर्ण र गोप्य फाइलहरू मलाई नै टाइप गर्न दिन्थे। जागिरे छँदा पनि शनिबार आइतबार छुट्टीको समयमा रेडियो गएर गाउन थालेँ।
त्यतिबेला रेडियो नेपालमा नातिकाजी दाइ, तारादेवी सबैको तलब सय रुपैयाँ थियो। तर मैले पचास रुपैयाँ भए पनि बस्छु भन्दा पनि काम पाइनँ।
आमाको सम्झना
मेरो आमा चुरोट असाध्यै खाने। २८ वर्षको उमेरमा बुवासँग पारपाचुके लिइसकेकोले चुरोट उहाँको सहारा थियो। चुरोटले नै गर्दा २०४७ साल मंसिर १९ मा आमाको निधन भएको थियो। नारायणसँग मेरो आमाको कुरा असाध्यै मिल्थ्यो। उहाँको पनि धेरै नै पिउने र चुरोट खाने बानी थियो। त्यसैले मेरो घरमा आएको बेलामा नारायण र आमा धेरै नै गफिन्थे।
वर्षको सय रुपैयाँ भाडा थियो, हामी बस्ने विश्वज्योति पछाडिको सानो घरको। करिब १८ वर्षसम्म हामी आमाछोरा त्यहीँ बस्यौं। खाना आमाकहाँ खाए पनि सुत्न बाबुकहाँ जान्थेँ। मेरो विवाहपछि मात्रै बाबुकहाँ नजिक हुँदै गएँ म।
त्यतिबेलासम्म काम गरेको बैंकमा सात हजारभन्दा बढी रुपैयाँ जम्मा भइसकेको थियो, मेरो। स्नातक सकिएपछि जग्गा किन्नुप¥यो भनेर खोज्न थालेँ। ज्याठामा सात आना जग्गा पाएँ। बीस हजार भन्यो। तर बेच्नेले मलाई गायक भनेर चिनेको रहेछ र त्यही सात हजारमा सात आना दियो।
२०२३ सालतिरको कुरा होे। बीएको अन्तिम परीक्षा सकाएपछि पाल्पाबाट गायनको प्रस्ताव आयो। यहाँबाट भैरहवा प्लेनमा र भैरहवाबाट पाल्पासँग हिँडेरै गयौं। त्यहाँ सात दिन कार्यक्रममा सरिक भएँ। फर्कने बेलामा पारि श्रमिक चार हजार रुपैया दिए। सधैं सित्तै गाउनेले, गाएर यति धेरै कमाएको सायद पहिलो पटक थियो।
मैले नाचघरमा तीनदिने पहिलो सो गरेँ त्यतिबेला। पैसा भएपछि फेरि एक आना थपेर ज्याठाको जग्गा पास गरेँ। त्यसैमा डेढतल्ले घर बनाएँ। अर्को साल पाल्पा र त्यसपछि बुटवलमा गरेको कार्यक्रमले फेरि तला थपेँ।
ज्याठाको घर ८५ हजारमा बेचेर आयौं र यता बागबजारमा २५ हजारमा आधा रोपनी किन्यौं। २०२७ सालमा घर बनाएर सकिएपछि अर्को वर्ष आमाले रोजेकी केटी, डिल्लीबजारकी किरण कुमारीसँग मागीविवाह भयो। आमाबुवाको सम्बन्धले गर्दा कहिले पनि केटीप्रति आकर्षित हुने वा प्रेम गर्ने भन्नेमा मन नै लागेन। मेरा प्रसन्नध्वज प्रधान र करिवध्वज प्रधान छोरा दुवै अमेरिकामा छन्। मैले आफ्नो ग्रिन कार्ड भने उही बुझाएर आएँ। आमा बितेपछि माछामासु पनि छाडेँ। बिहान ब्यायाम, योगा र ध्यान गर्छु। ८२ वर्षमा टेकेँ। अमेरिकी पुस्तकालयको जागिरले मलाई अनुशासित जीवन जिउन सिकायो। मैले आजसम्म कुनै पनि रोगको औषधि खानु परेको छैन।
दस घण्टामा दस वटा गीत रेकर्ड
जागिरमा बेतलवी बिदामा बम्बई गएर करिब आठ महिना जति उतै बसेँ। यस अगाडि पनि म सन् १९६५ मा एक महिना छुट्टी लिएर माइतीघरको गीत ‘नमान लाज यस्तरी’, जयदेव सिंहको संगीतमा रेकर्ड गर्न बम्बई गइसकेको थिएँ। दोस्रो पटक जाँदा पनि जयदेवजीसँग भेटेँ। उहाँकै घरमा आएका एक नेपाली केटोको घरमा पेइङ गेस्ट भएर बसेँ। बम्बईमा हुँदा जयदेवजीले नै विभिन्न संगीतकर्मीसँग चिनाइदिएर १२÷१३ वटा कार्यक्रममा सहभागी हुने अवसर मिल्यो।
त्यतिबेला बम्बईकै सबैभन्दा ठूलो हल, सन्मुखानन्द हलमा भएको फिल्म फेयर अवार्ड कार्यक्रममा मैले गीत गाउने अवसर पाएको थिएँ। पाँच हजार दर्शक अट्ने उक्त हलमा गाउँदा ‘वान्स मोर’ भन्दै आएको दर्शकको हुटिङले गाउन झनै प्रेरित गरेको थियो। भोलिपल्ट विभिन्न भारतीय पत्रिकामासमेत आफ्नो नाम छापिएको देखेर म दंग परेको थिएँ। नेपालबाट विदेशी गायिकासँग गीत गाउने पहिलो गायक म नै हुँ। आशा र उषा मंगेशकरसँग भेट हुँदा घर परिवारको हालखबरसमेत सोध्ने गर्थे।
त्यतिबेला मौका छोपेर ‘तारामात्रै होइन, जुनै दाइजो दिइदिउला’, ‘घुम्तीमा नआउ है’ लगायतका १० वटा गीत समेटेर पोलिडोर कम्पनीबाट मैले पनि गीत निकालेँ। आरडी बर्मनका एरेन्जर मनोहरि सिंहले मेरा यी सबै गीत एरेन्ज गर्नुभएको थियो। त्यतिबेला एक बृहत् सर्कलसँग मेरो संगत भयो। मलाई उतै बस पनि भनेका थिए। त्यतिबेला नेपालको एउटा केटोले दस घण्टामा १० वटा गीत रेकर्ड गरायो भनेर उता हल्ला पनि चलेछ। बेलुकी ६ देखि ११ बजेसम्म गरी दुई दिन लगातार रेकर्ड गराएको थिएँ।
मलाई असाध्यै मनपर्ने गायिका लता मंगेशकरसँग गाउने धोको थियो, तर गाउन पाइनँ। त्यतिबेला म गाउँछु भन्ने आँट पनि आएन त्यति ठूलो गायिकासँग।
मैले एक वर्षअगाडि ‘प्रेम गीत’ नामक एल्बम निकालेँ। ८० पछि निकालेको त्यो नै मेरो पहिलो एल्बम हो। हरेक कुरा सकारात्मक रूपमा सोच्नुपर्छ भन्ने मलाई लाग्छ। सबैको भलो चिताए, चिन्ता कहिले हुँदैन र चिन्ता नभए रोग लाग्दैन। अहिलेका नेपाली संगीत क्षणिक लोकप्रिय हुन्छन्, गीत चाँडै नै हराएर जान थालेका छन्। तर राम्रा गीतकार २५ जना पनि छैनन्।
(रामकला खड्कासँगको कुराकानीमा आधारित)