एसएलसी पछिको तीन वर्ष
भर्खरै एसईई परीक्षाको ‘रिजल्ट’ आएको छ। यसबारे म आफ्नै विगत सम्झन्छु। २०७१ असार २१ एउटा सुखद दिन थियो, मेरा लागि। किनकि म एसएलसी पास भएको थिएँ, पहिलो श्रेणीमा।
गाउँमा एउटा मात्र कलेज भएकाले उच्च शिक्षा हासिल गर्ने लक्ष्य बोकेर म काठमाडौं आइपुगेँ। काठमाडौं मेरा लागि एकदमै नौलो थियो। काठमाडौंकै छिमेकी जिल्ला नुवाकोटमा हुर्के/बढे पनि यहाँ आउनुपर्ने खासै काम पर्दैन थियो। एसएलसीपछि मेरो रोजाइअनुरूप परिवारले काठमाडौंमै पढाउने भए।
जब काठमाडौं आइपुगेँ, रनभुल्लमा परेँ। कुन कलेज पढ्ने ? कलेज कसरी छान्ने ? के पढ्ने ? कोठाबाट कुन कलेज नजिक छ र त्यहाँ कस्तो पढाइ हुन्छ ? लामो समय सोच्दा पनि मैले निर्णय लिन सकिनँ। गाउँकै दिदीको सल्लाहमा मैले कुलेश्वरस्थित एउटा कलेजमा शिक्षा संकायमा भर्ना भएँ। कालीमाटी बस्ने भएकाले कलेज आउजाउ गर्न पनि नजिकै पथ्र्याे। मलाई सल्लाह दिने दिदी पनि त्यहीँ पढ्नुहुन्थ्यो।
कलेजको पहिलो दिन अलि गाह्रो भयो। शिक्षकहरूलाई चिनेको थिइनँ। साथीहरू थिएनन्। अन्तिम सिटमा बसेँ। कोठा फर्किने बेला बाटो बिर्सिएँ। मलाई कुलेश्वरबाट कालीमाटी कोठामा आइपुग्न झन्डै दुई घन्टा लाग्यो। त्यसपछि थाहा भयो, यो सहरमा आफू हिँडेको बाटो खुबै ख्याल गर्नुपर्ने रहेछ। पाँचसात दिनसम्म मेरो रुटिन नै भयो, कलेज जाने अन्तिम सिटमा बस्ने र फर्कने।
बिस्तारै साथीहरू बन्दै गए। शिक्षकहरूसँग पनि चिनजान बढ्न थाल्यो। कलेजमा ‘फेमिलियर’ हुन थालेँ। कलेजका सुरुआती दिनमा संकाय छान्न अलि गाह्रो भयो। केही आफन्तले मलाई कमर्स पढ्न सल्लाह दिएका थिए। कमर्सको एक/दुई क्लास पनि लिएको थिएँ। तर, नेपालीबाहेक सबै विषय अंग्रेजीमा पढ्नुपर्ने भएपछि मलाई डर लाग्यो। यसरी त फेल भइन्छ। त्यसपछि शिक्षा संकायमा गणित विषय रोजेँ।
कक्षा ११ को बोर्ड परीक्षा नजिकियो। परीक्षा आउनु एक हप्ताअघि म बिरामी परेँ। कलेजले लिने आन्तरिक परीक्षामा मेरो रिजल्ट राम्रै थियो। तर, बोर्ड परीक्षामा म अंग्रेजीमा फेल भएछु। यो विषयमा म उसै पनि कमजोर मान्छे, त्यसमाथि बिरामी भएर तयारी नै गर्न पाइनँ। रिजल्ट आएको दिन एकदमै दुःख लाग्यो। एक वर्षअघि घर छाडेर काठमाडौं आउने दिन आमालाई भनेको थिएँ, ‘एकदमै राम्रो पढ्छु, चिन्ता नगर्नु।’
१२ कक्षा पढ्दै ‘काम’ गर्न थालेँ। अलिअलि कमाइ हुन थाल्यो। पढाइ चलिरहेको थियो। १२ कक्षामा राम्रो ‘रिजल्ट’ आयो। ११ कक्षा पनि ब्याक दिएर पास भएँ। अहिले महेन्द्ररत्न कलेज ताहाचलमा बीएड प्रथम वर्षमा अध्ययन गरिरहेको छु। काम पनि गरिरहेको छु। काम गर्न थालेपछि पढाइमा आवश्यक समय छुट्याउन गाह्रो पर्ने रहेछ। मेरो अनुभव, काम गर्ने हो भने पढाइ भने ठीकठीकै मात्र हुने रहेछ।