दुई पूर्वविजेताको प्रतिष्ठाको भिडन्त
मस्को : डिडियर डेसच्याम्पसको कप्तानीमा रहेको फ्रान्सले सन् १९९८ मा विश्वकपको पहिलो उपाधि जित्यो । संयोगवश सोही वर्ष क्यामरुनी पिता र अल्जेरियाली आमाको सन्तानका रूपमा केलियन एमबाप्पे फ्रान्समा जन्मिए । त्यसको २० वर्षपछि अर्काे संयोग जुरेको छ, डेसच्याम्पस अहिले टोलीका मुख्य प्रशिक्षक छन् भने एमबाप्पे टोलीका मुख्य स्ट्राइकर ।
उनै डेसच्याम्पस र एमबाप्पेको टोली फ्रान्स यति बेला अर्काे उपाधिको योजनासहित रुसमा जारी २१औं विश्वकपमा अगाडिको योजना बुन्न व्यस्त छ । त्यही योजनास्वरूप फ्रान्सले शुक्रबार हुने क्वार्टरफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी उरुग्वेको सामना गर्दैछ । पक्कै पनि यो खेल जित र हारमा मात्र सीमित हुने छैन, यसले दुई पूर्वविजेता टोलीको प्रतिष्ठाको बोझ पनि बोकेको छ ।
फ्रान्सले भन्दा अघि उरुग्वेले सन् १९३० र सन् १९५० मा गरी दुईपटक विश्वकप जितिसकेको छ । युरोपेली क्लब फुटबलमा स्थापित स्टार खेलाडीहरूको साथ पाएको फ्रान्स र उरुग्वे बीचको यो खेलले विश्वभरका फुटबल समर्थकलाई भने छुट्टै मरोञ्जन प्रदान गर्ने पक्का छ । एमबाप्पेसहित एट्लेटिको म्याड्रिडका एन्टोइन ग्रिजम्यान, म्यानचेस्टर युनाइटेडका पल पोग्बा, चेल्सीका ओलिभर गिरोड, बार्सिलोनाका सामुएल उम्टिटी लगायतका खेलाडीले भरिएको फ्रान्स प्रिक्वार्टरफाइनल चरणमा दुई पटकको विजेता लियोनल मेसीको अर्जेन्टिनालाई पराजित गर्दै अन्तिम आठमा पुगेको हो ।
बार्सिलोनाका लुइस स्वारेज, पेरिस सेन्ट जर्मन (पीएसजी)का एडिन्सन काभानी, एट्लेटिको म्याड्रिडका डिएगो गोडिन लगायतका खेलाडी रहेको उरुग्वेले पनि प्रिक्वार्टरफाइनलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई पराजित गर्दै अन्तिम आठमा फ्रान्स सँगको भेट पक्का गरेको हो । अर्जेन्टिनाविरुद्ध फ्रान्सका लागि एमबाप्पे र पोर्चुगलविरुद्ध उरुग्वेका लागि काभानीले दुई÷दुई गोल गरेका थिए ।
सोही खेलका क्रममा चोटग्रस्त बनेका काभानीले शुक्रबारको खेल खेल्ने वा नखेल्ने अझै निश्चित भइसकेको छैन । यद्यपि, यी दुई टोली बीचको प्रतिस्पर्धा भने निकै रोचक हुने निश्चित छ । समूहगत चरणमा समेत अपराजित रहँदै अन्तिम आठमा पुगेका फ्रान्स र उरुग्वे दुवै आक्रामक फुटबल खेल्ने टोली हुन् । अग्रपंक्तिमा एमबाप्पे र ग्रिजम्यानको फ्रान्सेली जोडी तथा स्वारेज र काभानीको उरुग्वेको जोडी निकै जमेको छ ।
यसैगरी तुलनात्मक रूपमा फ्रान्सको मिडफिल्ड र उरुग्वेको रक्षापंक्तिमा केही बलियो देखिएको छ । उरुग्वेले क्वार्टरफाइनल अघिको चार खेलमा केवल एक गोल खाएको छ । यसले फ्रान्सलाई जितका लागि उरुग्वेको रक्षापंक्ति तोड्न निकै मेहनत गर्नुपर्ने देखाउँछ । विश्वकपको अन्तिम चरणको खेलमा यी दुई टोली चौथो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् । यस अघिका तीन भिडन्तको नतिजाले भने उरुग्वेलाई बलियो देखाउँछ । तीनमध्ये एक खेलमा उरुग्वेले जित हात पार्दा बाँकी दुई खेल बराबरीमा सकिएका छन् । सबै खाले प्रतियोगितामा भने उरुग्वेले दुईमा जित हात पार्दा फ्रान्सले एक खेलमा जित हासिल गरेको छ ।
विगतमा दुई टोली
कुल खेल : ७
उरुग्वे विजयी : २
फ्रान्स विजयी : १
बराबरी : ४