स्वारेजमा परिवर्तनको शृंखला

स्वारेजमा परिवर्तनको शृंखला

मस्को  : जारी विश्वकप फुटबलमा यतिबेला उरुग्वे चर्चाको शिखरमा छ । क्वार्टरफाइनल चरणमा पुगिसकेको उरुग्वेको सफलतामा अनुभवी खेलाडी लुइस स्वारेजको भूमिका महŒवपूर्ण रहेको छ । आफ्नो उटपट्याङ व्यवहारका कारण सधैं चर्चामा रहने स्वारेज यतिबेला भने शान्त र भद्र देखिएका छन् । राष्ट्रिय टोलीबाट उनको प्रदर्शनमात्र होइन, व्यवहारमा पनि व्यापक सुधार आएको छ ।

उमेरले पनि पाको बन्दै गएका ३१ वर्षीय स्वारेजको बानीमा अहिले नसोचेको परिवर्तन आएको छ । स्वारेजले आफ्नो पुरानो बानीलाई चटक्कै छाडेका छन् । उनी सन् २०१० मा विपक्षीले प्रहार गरेको बललाई जानाजान हातले छेकेर चर्चाका आएका थिए । त्यतिबेला उनको निकै आलोचना भएको थियो । सन् २०१४ को ब्राजिल विश्वकपमा पनि उनी विपक्षी खेलाडीको काँधमा टोकेर लज्जित बनेका थिए ।

खेल मैदानमै कुनै न कुनै बदमासी गर्न माहिर स्वारेज यो विश्वकपका भने भलादमी देखिएका छन् । जारी विश्वकपमा भने उनी हाई बललाई हत्तपत्त टाउकोले हान्दै गोलमा परिणत गराउने प्रयासमा व्यस्त देखिएका छन् । रुसमा उनी बढीभन्दा बढी समय बलमाथि खुट्टा र टाउको प्रहार गर्दै टोलीलाई उपाधितर्फ लम्काउने ध्याउन्नमा छन् । स्वारेजको उक्त कलालाई देखेर अन्तर्राष्ट्रिय समाचार संस्था एपीले ‘पहिला हात, त्यसपछि दाँत र अहिले टाउको’ शीर्षकमा समाचारसमेत प्रकाशन गरेको छ ।

रुस विश्वकपमा स्वारेजको भलादमीपन देखेर आफू चकित परेको उनका साथी लियोनल मेसीले समेत खुलासा गरेका छन् । ‘स्वारेज वास्तवमा त्यस्ता थिएनन् । यो विश्वकपका उनले धेरै अनुशासित र संयमित खेल खेलिरहेका छन् । उनैको उत्कृष्ट खेलमा उरुग्वेले अगाडिको बाटो तय गरिरहेको छ । उनी अनुभवी र सक्षम खेलाडी हुन् । स्वारेजको वास्तविक क्षमताले फ्रान्सलाई अप्ठ्यारो पार्न सक्छ,’ बार्सिलोनामा स्वारेजसँगै व्यावसायिक फुटबल खेल्ने अर्जेन्टिनी स्टार मेसी भन्छन् । मेसीको टोली अर्जेन्टिना भने प्रिक्वार्टरफाइनलमै पराजित भइसकेको छ ।

स्वारेजको बानीलाई लिएर सधंै सञ्चारकर्मीले समेत अनौठा प्रश्न तेस्र्याउने गर्छन् । हरेक ठूला खेलअघि उनले आफ्नो बानीका विषयमा सञ्चारकर्मीलाई स्पष्टीकरण दिइरहनु परेको छ । दक्षिण अफ्रिकामा भएको सन् २०१० को विश्वकपमा घानाको प्रहारलाई स्वारेजले टाउको चलाए जस्तो गरी चमत्कारी रूपमा हातले छेकेका थिए । स्वारेजले त्यतिबेला देखादेख ठगी गरेको भन्दै उनको आलोचना भएको थियो ।

यसैगरी सन् २०१४ को विश्वकपमा स्वारेज इटालीका रक्षक जर्जियो चिलिनीलाई काँधमा टोकेर आलोचित बनेका थिए । त्यतिबेला स्वारेजलाई विश्व फुटबल महासंघ (फिफा) ले नौ खेल र चार महिनाको प्रतिबन्धसमेत लगाएको थियो । उनले विपक्षी खेलाडीलाई टोकेको त्यो तेस्रो पटक थियो । पछिल्लो समय स्वारेजलाई सुधार्न प्रशिक्षक ओस्कर टाबरेजले पनि निकै मेहनत गरेका छन् । स्वारेज आफैं पनि प्रशिक्षकले आफूलाई निकै सहयोग गरेको बताउँछन् । स्वारेजले आफू टोलीका युवा खेलाडीका लागि प्रेरणाको स्रोत भएकाले आफूले कमजोरी गरे युवा खेलाडीको मनोबल गिर्ने धारणा पनि व्यक्त गरे । ‘सिनियरले गल्ती गर्दा जुनियरलाई गाह्रो हुन्छ । अप्ठ्यारो अवस्थामा समेत नेतृत्व लिनुपर्ने भएकाले अहिले गल्ती गर्न मनाही छ,’ स्वारेज भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.