फुटबल खेलाडीका महँगा घर
डेभिड बेकहम
घरको मूल्य : २० मिलियन डलर
म्यानचेस्टर युनाइटेड, रियल म्याड्रिड, मिलान जस्ता क्लबबाट खेलेका डेभिड बेकहमले लामो समयसम्म व्यावसायिक फुटबल खेले। सन् २००४ मा उनलाई इतिहासकै सय उत्कृष्ट खेलाडीको सूचीमा पनि राखिएको थियो। सन् २०१३ मा उनी वार्षिक ५० मिलियन कमाइसहित विश्वकै सबैभन्दा महँगा खेलाडीको रूपमा चिनिएका थिए। बेकहमको घरमा रेकर्डिङ स्टुडियो, फुटबल पिच समेतको सुविधा छ। धेरैले त यसलाई बकिंघम दरबार भनेरसमेत चिन्छन्।
वाइन रुनी
घरको मूल्य : १७.८३ मिलियन डलर
सन् १९८५ मा लिभरपुलमा जन्मिएका थिए रुनी। इङ्ल्यान्डको राष्ट्रिय टिम र म्यानचेस्टर युनाइटेडको समेत कप्तान भएर खेलेका थिए उनी। सन् २०१२ मा उनी संसारकै सबैभन्दा महँगो फुटबलरका रूपमा गनिएका थिए। उनको वार्षिक आम्दानी ३२.६ मिलियन डलर थियो। उनको घरमा स्विमिङ पुलका साथै थिएटरको समेत व्यवस्था छ।
डिडियर ड्रोग्बा
घरको मूल्य : १४.४ मिलियन डलर
आइभेरिन फुटबल खेलाडी ड्रोग्बा अहिले ‘चेल्सी’बाट खेल्छन्। उनलाई लामो समयसम्म चेल्सीको उत्कृष्ट खेलाडीका रूपमा पनि चिनियो। अफ्रिकामा उनी दुईपटक ‘फुटबल अफ द इयर’ पनि भइसकेका छन्। उनको घरमा सातवटा बेडरुम, आठवटा बाथरुमलगायत बच्चाबच्चीका लागि सानातिना कोठाहरू छन्।
जोन टेरी
घरको मूल्य : ७.५ मिलियन डलर
चेल्सी क्लबका कप्तान रहिसकेका जोन टेरी सन् २००६, २०१०, २०११ र २०१२ मा इङ्ल्यान्डको राष्ट्रिय टोलीका कप्तानसमेत भए। उनलाई चेल्सीको उत्कृष्ट डिफेन्डरका रूपमा पनि चिनिन्थ्यो। आफ्नो समयको उत्कृष्ट ‘सेन्ट्रल डिफेन्डर’का रूपमा पनि उनको नाम आउँछ। थिएटरको समेत व्यवस्था भएको उनको घरमा १० वटा बेडरुम छन्।
फ्रान्क लाम्पार्ड
घरको मूल्य : ७ मिलियन
‘म्यानचेस्टर सिटी’का पूर्वखेलाडी लाम्पार्डले क्लबबाट सेन्ट्रल मिडफिल्डरका रूपमा खेले। १३ वर्ष ‘चेल्सी’मा खेलेका उनलाई लेजेन्ड फुटबलरका रूपमा चिनिन्छ। एक हजार आठ सय ११ स्क्वायर मिटरमा फैलिएको उनको घरको मूल्य सात मिलियन हो। नौवटा बेडरुम, १२ वटा बाथरुम, स्विमिङ पुल, टेनिस कोर्ट सहितको व्यवस्था छ उनको घरमा।