विश्वकप : आजका खेलमा प्रभाव पार्न सक्ने खेलाडी
विलियन (ब्राजिल)
मिडफिल्डर विलियन बोर्गेस डा सिल्भा ब्राजिलियन राष्ट्रिय टोलीका क्षमतावान् खेलाडी हुन् । उनी उत्कृष्ट फुटबलर उत्पादन गर्ने ब्राजिलको फ्याट्रीबाट खारिएका खेलाडी हुन्, जोसँग फुटबलको अद्भुत कला छ । इङ्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका विलियन टोलीका अनुभवी खेलाडी पनि हुन् । चार वर्षअघि सन् २०१४ मा आफ्नै देशले आयोजना गरेको २०औं संस्करणको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ गोलले पराजित हुँदा ध्वस्त बनेको ब्राजिलियन टोलीबाट फेरि सशक्त प्रदर्शन गर्दै गतिलो ‘कमब्याक’ गर्न सफल भएका खेलाडीमध्येका हुन्, विलियन ।
विलियन यस्ता खेलाडी हुन्, जसको खुट्टामा बल पुगेपछि ढुक्क भए हुन्छ, कि उनले सहकर्मीलाई सहज पास उपलब्ध गराउने छन् । उनको त्यही प्रदर्शनको मद्दतले ब्राजिल जारी रुस विश्वकपमा पनि अघि बढिरहेको छ । विशेषगरी मेक्सिकोविरुद्ध प्रिक्वार्टरफाइनल चरणको खेलमा ब्राजिललाई २–० को जित दिलाउने क्रममा उनले गरेको प्रदर्शन निक्कै नै प्रशंसनीय रह्यो ।
टोलीको दुईमध्ये पहिलो गोलका लागि उनै विलियनले नेमारलाई बल उपलब्ध गराएका थिए । डीबक्स लाइनको ठीक भित्रपट्टि नेमारले दिएको ब्याक पासमा मेक्सिकोका रक्षापंक्तिलाई छक्याएर अघि बढेका विलियनले विपक्षी गोलरक्षकलाई समेत बिट गराएर दिएको बलमा नेमारले नै गोल गरेका थिए । खेलको निर्धारित ९० मिनेट र त्योभन्दा बढी समय उही रफ्तारमा खेल्न सक्ने क्षमता भएका खेलाडी पनि हुन्, विलियन ।
यसैगरी विलियनको अर्काे क्षमता भनेको उनी धेरै क्षेत्र ‘कभर’ गर्न भ्याउँछन् । त्यही कारणले उनी सहकर्मीलाई गोल अवसर सिर्जना गर्न मात्रै हैन, आफैं गोल गर्न पनि सफल भइरहेका हुन्छन् । उनको यही क्षमता ब्राजिललाई रुस विश्वकपको उपाधि दिलाउन महŒवपूर्ण सावित हुने विश्वास गरिएको छ । सन् २०११ देखि ब्राजिलियन राष्ट्रिय टोलीबाट खेल्दै आएका विलियनले हालसम्म ६१ खेल खेल्दै आठ गोल पनि गरेका छन् ।
डिएगो गोडिन (उरुग्वे)
उरुग्वेको राष्ट्रिय फुटबल टोलीका मुख्य रक्षक हुन् डिएगो गोडिन । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका गोडिन पछिल्लो झन्डै आठ वर्षयता टोलीका नियमित र महŒवपूर्ण खेलाडी रहँदै आइरहेका छन् । राष्ट्रिय टोलीबाट पाएको अवसर र युरोपकै महँगो लिग फुटबल स्पेनिस ला लिगामा लामो समय बिताउँदा प्राप्त गरेको अनुभवले उनी निकै खारिएका छन् ।
त्यसैले त उनको उपस्थितिमा उरुग्वेको रक्षापंक्ति सधैं सुरक्षित रहन्छ । उनकै नेतृत्वमा उरुग्वे जारी विश्वकपमा पनि रक्षापंक्तिमा निकै बलियो देखिएको छ । प्रतियोगिताको प्रिक्वार्टरफाइनलसम्म उरुग्वे अपराजित रहँदा मात्र एक गोल व्यहोरेको छ । समूहगत चरणको तीनमध्ये तीनवटै खेलमा एक गोल पनि नबेहोरेको उरुग्वेले प्रिक्वार्टरफाइनल चरणको खेलमा पोर्चुगलसँग मात्रै एक गोल खाएको थियो ।
उनी आफ्नो क्षेत्रमा विपक्षी खेलाडीलाई असफल बनाउँदै ओभरल्यापमा आफ्ना मिडफिल्डर र स्ट्राइकरलाई सहयोग गर्न पनि अघि पुग्छन् । उनको यही क्षमता उरुग्वेलाई जारी विश्वकपमा अघि बढाउन महŒवपूर्ण हुनेछ । सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० को विश्वकप उपाधि जितेको उरुग्वेले फेरि अर्काे उपाधिको योजना बनाएको छ ।
टोलीको त्यही योजना सफल बनाउन गोडिनको महत्वपूर्ण भूमिका रहने अनुमान गरिएको छ । सन् २०११ पछि गोडिनले राष्ट्रिय टोलीबाट एक सय २१ खेल खेलेका छन् । ती खेलबाट ३२ वर्षीय गोडिनले १४ गोलसमेत गरेका छन् । रुस विश्वकपको समाप्तिसम्ममा उनले आफ्नो खेलसँगै गोलको संख्या पनि थप्ने प्रशस्त सम्भावना देखिएको छ ।