उरुग्वेको बैसाखी
रुसमा जारी विश्वकप फुटबलमा दक्षिण अमेरिकी राष्ट्र उरुग्वेले उत्कृष्ट प्रदर्शन गरेको छ। सन् १९३० मा आफ्नै राष्ट्रमा आयोजना भएको पहिलो र त्यसपछि सन् १९५० मा ब्राजिलमा आयोजना भएको विश्वकप फुटबलको उपाधि विजेता उरुग्वे त्यसपछिका विश्वमा भने सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन। यस पटक समूह चरणका खेलमा अपराजित रहँदै नकआउट चरणमा पुगेको उरुग्वेले विगतको आफ्नो इतिहासलाई फेरि एक पटक दोहोर्याएको छ। उरुग्वे सन् १९३०, १९५०, १९५४ र सन् २०१० को विश्वकपमा पनि समूहगत चरणका एउटै खेल नहारी अन्तिम १६ मा पुगेको थियो।
उरुग्वेसँग लुइस स्वारेज र एडिन्सन काभानीजस्ता विश्वस्तरका स्ट्राइकर, सशक्त डिफेन्स र सन्तुलित मिडफिल्ड छ। यति हुँदाहुँदै टोलीको जितमा एउटा यस्तो व्यक्तिले महत्वपूर्ण भूमिका निभाए, जो आफैं बैसाखीको सहारामा हिँड्डुल गर्छन्। बैसाखी टेकेर टचलाइनबाट लगातार निर्देशन दिने ती व्यक्ति हुन्, उरुग्वेका प्रशिक्षक ओस्कार वासिङ्टन तबरेज सिल्भा। तबरेज शारीरिक रूपमा अशक्त छन्। सहज रूपमा हिँडडुल गर्न सक्तैनन्। खतरनाक रोगबाट लड्दै आएका तबरेजको एक मात्र सहारा बैसाखी हो। तर उनले आफ्नो राष्ट्रका खेलाडीलाई हौसला बढाउन कुनै कसुर बाँकी राखेका छैनन्। उनले आफ्नो अशक्ततालाई भुलाएर टोलीको प्रदर्शनमा अहम् भूमिका निभाइरहेका छन्। अर्थात् उनी उरुग्वे टोलीका ‘ब्याक बोन’ नै हुन् भन्दा फरक पर्दैन। किनभने टोलीको जितमा मैदानभित्र खेलाडीले जति योगदान दिएका छन्, डचलाइनमा बसेर तबरेजले त्योभन्दा धेरै योगदान पुर्याएका छन्।
जारी विश्वकपमा सहभागी ३२ राष्ट्रका प्रशिक्षकमध्ये तबरेज सबैभन्दा पाका प्रशिक्षक पनि हुन्। ३ मार्च १९४७ मा जन्मिएका तबरेज अहिले ७१ वर्षका भए। उमेरका हिसाबले पाका उनी जीबीएस (गुइलाइन ब्यारे सिन्ड्रोम) नामक गम्भीर रोगबाट ग्रसित छन्। जीबीएस यस्तो रोग हो, जसले सबैभन्दा पहिले नर्भ सेल्समा आक्रमण गर्छ र प्रतिरक्षात्मक शक्तिलाई कमजोर बनाउँछ। शरीरको प्रतिरक्षात्मक शक्ति कमजोर भएपछि सुरुमा मांसपेशीमा निकै दुखाइ हुन्छ। दुखाइ बढेसँगै यो रोगले मांसपेशीलाई कमजोर पार्छ। यस रोगको लक्षण पत्ता लगाउन नै लामो समय लाग्ने भएकाले त्यत्तिञ्जेलसम्म त्यसले कुनै निश्चित भागलाई प्यारालाइसिस गराइसकेको हुन्छ।
तबरेजले पनि लामो समयपछि मात्रै आफूलाई जीबीएस रोगको संक्रमण भएको थाहा पाएका थिए। आफ्नो शरीरको रोगका बारेमा थाहा पाउञ्जेलसम्म उनको खुट्टा प्यारालाइसिस भइसकेको थियो। सन् २०१६ मा जीबीएसको संक्रमण पत्ता लागेपछि तबरेजले उरुग्वे फुटबल टोलीको प्रशिक्षक छाड्ने आकलन धेरैले गरेका थिए तर उनले त्यसो गरेनन्। उनले टोलीका लागि आफ्नो महत्व रहेको बुझे र लगातार प्रशिक्षणमा सरिक भइरहे। खुट्टा प्यारालाइसिस भएपछि धेरैले उनलाई ‘जिम्मर फ्रेम’ र इलेक्ट्रिक ह्विलचेयरमा हिँड्न सुझाए। तर, उनले बैसाखी रोजे र बस्नुभन्दा उभिनै उत्तम ठाने।
उरुग्वेसँग लुइस स्वारेज र एडिन्सन काभानीजस्ता विश्वस्तरका स्ट्राइकर, सशक्त डिफेन्स र सन्तुलित मिडफिल्ड छ।
तबरेजले सन् २०१० को विश्वकप फुटबलमा उरुग्वेलाई सेमिफाइनलसम्म पुर्याएका थिए। सेमिफाइनलमा नेदरल्यान्ड्ससँग ३–२ गोलले पराजित हुँदै चौथो स्थानमा समेटिएको थियो। उरुग्वे सेमिफाइनलमा पराजित भए पनि त्यसबेला टोलीका प्रमुख खेलाडी डिएगो फोर्लान उत्कृष्ट खेलाडी चुनिएका थिए। उनले गोल्डेन बल चुमेका थिए। तबरेजले सन् २००६ देखि उरुग्वेको राष्ट्रिय टोलीलाई हेर्दै आएका छन्। उनले सन् २०११ को कोपा अमेरिका फुटबलको उपाधि उरुग्वेलाई दिलाएका थिए। उनले उरुग्वेलाई चौथो पटक विश्वकप फुटबलमा छनोट गराउन सफल भएका थिए।
उनले सन् २००६ देखि गत शनिबार पोर्चुगलविरुद्धको अन्तिम १६ को खेलसम्म एक सय ५७ खेलमा ७८ खेलमा जित दिलाएका छन्। उनको प्रशिक्षणमा उरुग्वेले ३९ खेल बराबरी खेलेको छ भने ३९ खेल नै गुमाएको छ। तबरेजले आफ्नो टोलीलाई ४९.६८ प्रतिशत जित दिलाएका छन्। उनले सन् १९८८ देखि १९९० सम्म पनि उरुग्वेको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। त्यसबेला उनको प्रशिक्षणमा टोलीले ३४ खेलमध्ये १७ खेलमा जित हासिल गरेको थियो।
उरुग्वे टोलीको सशक्त डिफेन्डर रहेका उनले सन् १९८० मा सक्रिय खेलाडी जीवनबाट सन्न्यास लिएका थिए। उनले दक्षिण अमेरिकी धेरै चर्चित क्लबबाट व्यावसायिक फुटबल खेले। ३२ वर्षको उमेरमा सक्रिय फुटबलबाट अलग्गिएको एक वर्षपछि नै उनले आफ्नै देशको बेला बिस्टा क्लबको प्रशिक्षण सम्हालेका थिए। त्यसपछि उनले अर्जेन्टिनाको बोका जुनियर्स टोली पनि सम्हाले। तबरेजले आफ्नै देशको यू–२० टोलीको प्रशिक्षण पनि भएका थिए। उनले विभिन्न क्लबलाई थुप्रै उपाधि पनि दिलाए।
तबरेजले फुटबल प्रशिक्षणमा तीन दशक बिताइसकेका छन्। उनले दक्षिण अमेरिकी राष्ट्र उरुग्वेका साथै कोलम्बिया, अर्जेन्टिना, इटाली र स्पेनको कोचिङ टिममा रहेर काम गरिसकेका छन्। फुटबल प्रशिक्षणका साथै विद्यार्थीलाई पढाउँछन् पनि। त्यही कारण टोलीका सदस्यले तबरेजलाई ‘टिचर’ भनेर सम्बोधन गर्छन्।