कक्षाकोठामा विद्यार्थीको रुवाबासी
प्युठान : घरबाट विद्यालय आउँदा विद्यार्थी ठिकै हुन्छन् । उनीहरूलाई पुरानो रोगले पनि सताएको छैन । टाउको दुख्ने, ज्वरो आउने, पखाला लाग्ने समस्या केही छैन । सबै साथीसँगै प्रार्थना गर्छन् । जसोतसो पहिलो घण्टी पढ्छन् । दोस्रो र तेस्रो घण्टी उनीहरूले पढ्नै सक्दैनन् । विद्यार्थीहरूमा त्यसपछि एकोहोरो रुने, कराउने, काँप्ने, हल्लिने, पेट दुख्ने, छट्पटिने, मुटु दुख्नेजस्ता समस्या देखिन थालेको छ । जिल्लाको दुर्गम गाउँ गौमुखी गाउँपालिका–७ नारीकोट पिपलरुखास्थित अमृत जीवन माध्यमिक विद्यालयका ४७ जना विद्यार्थीमा यस्तै समस्या देखापरेको छ ।
दैनिक दुई/तीन घण्टा विद्यार्थीहरू कक्षाकोठामै बस्नै सक्दैनन् । शिक्षकहरूलाई सम्झाउनै मुश्किल परिरहेको छ । असार ५ गतेबाट कक्षा २ देखि सात सम्मका धेरैजसो छात्राहरूलाई उक्त समस्या देखा परेको प्रधानाध्यापक रामचन्द्र गिरीले जानकारी गराए । ‘दुइहप्ता बढी भयो विद्यार्थीहरू कक्षाकोठामा रुन थालेको’,गिरीले भने,‘स्थानीय स्वास्थ्यकर्मीहरूले चेकजाँच गर्नुभयो । तर, समस्या समाधान हुन सकेन ।’ ३७ जना छात्रा र दश जना छात्रहरूमा समस्या देखिएको उनले जानकारी गराए । ‘तीन कक्षामा पढाउदै थिए’,शिक्षिका पार्वता जिसीले अनुभव सुनाउदै भनिन्,‘पढाइरहेको बेला एक्कासी छात्रा विमला विक रुन थालिन् । उनी रोएको देखेपछि सवै कक्षाका विद्यार्थीहरू रोइकराइ गरे ।’
विद्यार्थीलाई निको हुने आशामा दुइहप्ता बढी समय वितिसक्यो । समस्या झनै बल्झिदै जानथाल्यो । ‘भुतप्रेतको आशंकमा अभिभावकको सल्लाह अनुसार पूँजाआजा समेत ग¥यौँ’,प्रधानाध्यापक गिरीले भने,‘केही गरेपनि समस्या सल्झिएन । झनै बल्झिदै गयो ।’ विद्यार्थीलाई सम्हाल्न नसकेपछि अभिभावकहरूलाई दिनहुँ विद्यालयमा बोलाउने गरिएको उनले जानकारी गराए । अभिभावकहरूले दैनिक दुइ/तीन घण्टा छोराछोरीहरूलाई विद्यालयमा गएर सम्झाउने गर्छन् । हप्तौदिनदेखि पठनपाठन प्रभावित भएको छ । विहान साढे दश बजेदेखि झण्डै २ बजेसम्म विद्यार्थीहरूमा उक्त समस्या हुने गरेको छ । धेरैजसो बालवालिकाहरू ६ देखि १६ वर्ष उमेर समूहका छन् ।
‘मुटु दुख्ने, आङ काप्ने, भुत आयो, नाँइ जादिन, मलाई किन लतारेको’ जस्ता भनाई बालवालिकाहरूले रुँदै भन्ने गरेका छन् । दिनप्रतिदिन विद्यार्थीमा समस्या बढ्दै जान थालेपछि विद्यालय प्रशासनलाई हम्मेहम्मे परेको छ । गतवर्ष समेत यस्तै समस्या देखिएको शिक्षिका विष्णा रोकाले जानकारी गराइन । १६ दिनदेखि ६ कक्षामा पढ्दै गरेका छोरा सञ्जु सुनार विद्यालयमा रुन थालेपछि पीडा थपिदै गएको आमा हुमा सुनारले गुनासो गरिन् । ‘घरमा केही हुँदैन्’, उनले भनिन्,‘विद्यालय पुग्यो की रुनथाल्छ ।’
घटनाको विषयमा बुझ्न विहिवार प्रमुख जिल्ला अधिकारी डा.कृष्ण बहादुर घिमिरे सहितको स्वास्थ्य टोली विद्यालयमा पुगेको छ । ‘विद्यार्थीहरूमा मनोवैज्ञानिक समस्या देखियो’,प्रजिअ घिमिरेले भने,‘केही विद्यार्थीलाई विशेषज्ञ सेवा दिनुपर्ने देखिएको छ ।’ मनोचिकित्सक सहितको विशेषज्ञ टोली ल्याउने विषयमा गृह मन्त्रालयमा जानकारी गराइसकेको उनले बताए । विद्यालयमा पुगेकी प्यूठान अस्पतालमा कार्यरत डा. सोफिया थापाले ‘मास हिस्टरिया’ले गर्दा विद्यार्थीहरूमा यस्तो समस्या देखिएको जानकारी गराइन ।
विद्यालयले शुक्रवादेखि एक हप्तासम्म विद्यालय वन्द गर्ने निर्णय गरेको छ । यसअघि पाँच दिनसम्म विद्यालय वन्द गरेपनि समाधान नभएपछि पूनः वन्द गर्नुपरेको प्रधानाध्यापक गिरीले जानकारी दिए । शुरुमा सात जनामा देखिएको मास हिस्टेरिया क्रमश सवैमा सरेको हो ।