गाउँपालिकाको विकास बजेटले वडाध्यक्षका बुवाको नाममा गेट
जनकपुरधामः गाउँपालिकाको बजेटबाट अध्यक्षले आफ्ना बुवाको शालिक निर्माण योजना ल्याएपछि वडाअध्यक्षले पनि बाबुको नाममा गेट निर्माण थालेका छन् । गाउँपालिकाको विकासमा आएको बजेटबाट मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का वडाअध्यक्ष नरेश यादवले आफ्ना बुवा राजेन्द्र यादवको नाउँमा मुसहरनिया पुरबारी टोलस्थित चोकमा मिलनद्वार बनाउन लागेका हुन् ।
गाउँपालिकाको बजेटमा ८ लाखको योजना स्वीकृत गराई अध्यक्ष यादवले आफ्ना बुवा राजेन्द्र यादव र पूर्वगाविस अध्यक्ष स्वर्गीय सुशिल यादवको नाउँमा ‘सुशील–राजेन्द्र मिलनद्वार’ निर्माण गर्न थालेका हुन् । वडा अध्यक्षका बुवा गाउँमै कृषक छन् ।
विकासमा पछि परेको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सडक, कृषि, शिक्षा र स्वास्थ्यका क्षेत्रमा योजना बनाएर बजेट नछुट्याई जनप्रतिनिधिले निजी प्रयोजनमा बजेट खर्च गर्न थालेका हुन् । गाउँको बजेट आफ्ना बाबुको नाममा खर्चिन थाल्नु निन्दनीय भएको गाउँपालिका अध्यक्ष पदमा पराजित सुशील यादव बताउँछन् ।
‘गाउँपालिकाबाट स्वीकृत भएको यस्तो औचित्यहीन योजनाविरुद्ध गाउँलेले गाउँपालिकाको कार्यालयमा निवेदन दिएका छौं’, उनले भने, ‘यस्तो योजनाले विकास बजेट दुरुपयोग मात्र हुने भएकोले यसलाई तत्काल रोक्न माग गरेका छौँ । तर कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा धमाधम काम भइरहेको छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादवले यो योजनामाथि निवेदन परेको स्वीकारे । उनले भने, ‘गाउँलेबाट मिलनद्वार निर्माणको योजना व्यक्तिगतरुपमा ल्याइएको भन्दै विरोध भएको छ । तर, जनप्रतिनिधिहरुको स्वीकृतिमा ल्याइएकाले काम भइरहेको छ ।’
यता, वडा अध्यक्ष यादव समाजमा मेलमिलाप बढाउन मिलनद्वार बनाउन लागेको बताउँछन् । ‘केही भावनात्मक कुराहरु पनि हुन्छन् । सडक मात्रै बनाएर गाउँमा परिवर्तन आउन सक्दैन’, उनले भने, ‘त्यसैले जनतामा रहेको घृणा र विरोधलाई सकारात्मक परिवर्तन ल्याउन पूर्वगाविस अध्यक्ष र आप्ना बुवाको नाममा मिलनद्वार बनाउन लागेको छु ।’
त्यही गाउँपालिका ५ नम्बर वाडमा अध्यक्ष मनोज यादवले आफ्ना बुवा भोला यादवको नाममा शालिक निर्माण गराइराखेका छन् । शालिक निर्माणका लागि गाउँपालिकाको २७ लाख रुपैंया खर्च गरिएको छ ।