ग्रिजम्यानको फ्रिकिकमा भरानेको हेड गोल: पहिलो हाफमा फ्रान्स १ उरुग्वे शून्य
मस्को : रुस विश्वकप अन्तर्गतको पहिलो क्वाटरफाइनलको पहिलो हाफमा फ्रान्सले अग्रता लिएको छ । पहिलो हाफको ४० औं मिनेटमा डिबक्स नजिकै पाएको फ्रिकिकबाट गोल भएको हो । एन्टोइन ग्रिजम्यान प्रहार गरेको फ्रिकिकलाई डिफेन्डर राफायल भरानेले हेडमार्फत सुन्दर गोलमा परिणत गरेका हुन् ।
पौने आठबाट निझ्नी नोभगोरोद रंगशालामा सुरु भएको खेलको पहिलो हाफमा उरुग्ले १–०ले पछाडि परेको छ । दुई पूर्वविजेता फ्रान्स र उरुग्वेको खेल प्रतिस्पर्धात्मक बनेको छ । उरुग्वे दुईपटकको र फ्रान्स एक पटकको विश्वविजेता टोली हो । अन्तिम १६ को खेलमा अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको फ्रान्स उच्च मनोबलका साथ मैदानमा छ भने अन्तिम १६ मा पोर्चुगललाई पराजित गरेको उरुग्वेसमेत फेरि विश्वकप उपाधि उचाल्ने ध्यानका साथ मैदानमा छ ।
उरुग्वे सन् १९३० मा भएको पहिलो संस्करण र सन् १९५० मा विश्वविजेता टोली हो । जारी विश्वकपमा पनि उरुग्वेका स्ट्राइकरद्वय लुइस स्वारेज र एडिन्सन काभानीको जोडी निकै जमेको छ । प्रिक्वार्टरफाइनलमा पोर्चुगलविरुद्ध दुई गोल गरेका काभानी चोटग्रस्त भएकाले शुक्रबार मैदानमा छैनन् ।
सन् १९९८ मा विश्वकप जितेको फ्रान्ससँग पनि युवा र उत्कृष्ट फुटबलर छन् । । अग्रपंक्तिमा ग्रिजम्यान, केलियन एमबाप्पे र ओलिभर गिरोडको बलियो ‘ट्रायो’ जम्दा मिडफिल्डमा पल पोग्बा र रक्षापंक्तिमा बार्सिलोनाका सामुएल उम्टिटीको सुदृढ ‘ब्याकअप’ रहेको छ।