पानी भरिएको कोठामा बसेर पढ्छन् नानीबाबु
बर्दिबासः बर्दिवास नगरपालिका– ९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यायालय पशुपतिनाथ बनरझुल्लाका बालबालिकाहरु बर्षाको पानीले भरिएका कक्षा कोठामा पढ्न बाध्य छन् । गत बैशाख २५ गते रातिको हुरीले विद्यालयको ३ वटा कोठाको छानो उडाएपछि बालबालिकालाई पढ्न समस्या भएको हो ।
बर्दिवास नगरपलिका कार्यालयले तीनमध्ये २ वटा कक्षा कोठाको छानो २ लाख १४ हजार ४ सय रुपैंया खर्च गरेर मर्मतसम्भार गरेको थियो । तर, शिशु पढ्ने कक्षा कोठाको हावाहुरीले उडाएको भवनको छानो छाइएको छैन । शिशु कक्षाका ५० बालबालिकाहरु दुई महिनादेखि घाम–पानीमा खुला अकासमुनि पढ्न बाध्य छन् ।
बर्दिबास नगरपालिकाका मेयर विदुरकुमार कार्कीले छानोमा समान्य क्षति भएको विद्यालयलाई छानो छाउने निर्देशन दिएको बताए । तर प्रधानाध्यापक तेजिलाल महतोले शिशु कक्षाको उडाएको छानो मर्मत गर्न बजेट नभएको बताए । छानो छाउन पटक पटक नगरपालिकालाई जानकारी गराएको बताउँदै उनले भने, ‘मेयरले मर्मत गराइदिने आश्वासन दिएर पनि काम भएको छैन ।’
घाम र थोरै पानी परे पनि बच्चाहरुलाई पढाउन समस्या हुने गरेको शिक्षिक सुमिन्त्रा देवीले बताइन् । उनले भनिन्, ‘सुरक्षित कक्षा कोठा नै छैन । पढाउन निकै समस्या छ, पानी परेपछि किताब र कपी भिज्छ ।’